पर्यटनको सम्भावना र समृद्धिका आधारहरू - Pahilo Online

पर्यटनको सम्भावना र समृद्धिका आधारहरू

writer

संगीता रेग्मी

संगीता रेग्मी

विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नै प्रकारका हुन्छन् । एक देशको विभिन्न अवस्थासँग अर्को देशको समानता पाइँदैन । यस्तै प्रकारका आफ्नो विशिष्ट खालको पहिचान र अवस्था भएको रमाइलो देश नेपाल हो ।

नेपाल यस्तो मुलुक हो, जहाँ विश्वका जुनसुकै मुलुकबाट आएका पर्यटक एक पटक पाइला टेकेपछि उनीहरू यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरूबाट प्रशंसनीय प्रतिक्रिया व्यक्त भएको पाइन्छ ।  पर्यटकहरू केवल घुम्न मात्र आएका हुँदैनन् त्यस ठाउँवाट उत्पादित वस्तुहरू चिनोको रूपमा पनि लैजान्छन् जसबाट ती पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा थप टेवा पुग्छ ।

यहाँ प्रदेश नम्बर २ को पर्यटनको चर्चा गरिएको छ । ८ वटा जिल्ला मिलेर बनेको प्रदेश २ पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य स्थल हो । प्रदेश २ सामाजिक विविधता र जनसंख्याको घनत्व अधिक रहे पनि मानव विकास सूचकांकको आधारमा अन्य प्रदेशभन्दा निकै पछाडि रहेको छ ।  ९,६६१ वर्ग किलोमिटरमा फैलिएको प्रदेश २ मा करिब ५४ लाख जनसंख्या रहेको छ । यस प्रदेशमा रहेका जनताको प्रतिव्यक्ति आम्दानी ९६७ डलर छ । यो अन्य प्रदेशको तुलनामा न्यून हो । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, आम्दानी लगायतका क्षेत्रमा यो प्रदेश कमजोर छ ।
दुई नम्बर प्रदेश सामाजिक र आर्थिक पूर्वाधार विकासमा निकै कमजोर रहेको छ । राष्ट्रिय योजना आयोगको प्रतिवेदन अनुसार प्रदेश नम्बर २ मा गरिबी दर उच्च रहेको छ । प्रतिवेदनका अनुसार यो प्रदेशमा ४७.९ प्रतिशत गरिबी रहेको छ । गरिबी, बेरोजगारी र अशिक्षा यस प्रदेशका मुख्य समस्या हुन् । विभिन्न समस्याहरूको माझामा पनि प्रदेश २ मा मानवस्रोत, प्राकृतिक स्रोत, पर्यटकीय सम्भावना, कृषि, धार्मिक पर्यटनजस्ता थुप्रै सम्भावना छन् । त्यसैले यो प्रदेश साधन र स्रोतका हिसाबले धनी छ । प्रदेश २ को पर्सा पर्यटकीय सम्भावना बढी भएको जिल्ला हो । पर्सामा वन्यजन्तु आरक्ष छ । पर्सा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुलाई वन पर्यटनका रूपमा अघि बढाएर स्वदेशी तथा विदेशी पर्यटकलाई जंगल सफारी गराउने प्रचुर सम्भावना छ । वीरगन्जको घडिअर्वा पोखरी पर्यटकको मन लोभ्याउने अर्को आकर्षक पर्यटकीय स्थल हो । बाराको गढीमाई मन्दिर धार्मिक पर्यटनका लागि महत्वपूर्ण देवस्थल हो । यहाँको रतनपुर जंगल प्रमुख पर्यटकीय स्थल हो । रौतहटका शिवनगर मन्दिर, बडेवाताल, राजदेवी मन्दिर सुन्दर पर्यटकीय स्थलहरू हुन् । सर्लाहीका सागरनाथ, बाबाधाम, हरिहर महादेव पनि प्रमुख पर्यटकीय स्थल हुन् ।
उता महोत्तरीको जलेश्वरनाथ महादेव यस क्षेत्रकै प्रमुख धार्मिक स्थल हो । जलेश्वरनाथ महादेवस्थललाई मिथिलाको प्रवेशद्वार मानिन्छ । बानेश्वरनाथ महादेव बाबा, पडौलको कारिक बाबा, कञ्चनवन, ध्रुवकुण्ड, गिरिजास्थान, मालिवारा, माईस्थान, सिद्धिनाथ मन्दिर, सोनामाई स्थान, टुटेश्वरनाथ महादेव, रौजा मजार, मंगलनाथ महादेव, मटिहानी आदि पर्यटकीय तथा धार्मिक स्थल हुन् । जनकपुरको रामजानकी मन्दिर विश्व प्रसिद्ध छ । यो विश्वकै हिन्दु धर्मावलम्बीका पवित्र तीर्थस्थल हो । यहाँको दुलहा–दुलही मन्दिर, जनक मन्दिर पनि आकर्षक पर्यटकीय स्थलहरू हुन् । जनकपुर कुण्डै कुण्डले भरिएको शहर पनि होे । धनुषसागर, गंगासागर, विहारकुण्ड, अग्निकुण्ड, ज्ञानकुप, अंगराज सरोवर, दशरथ सागर, गोरधोई, पापमोचन सर, छत्रधारिणी पोखरी, देवान पोखरी, डबरा पोखरी, पापमोचनीसर, पुण्यधन सर, वाल्मीकि सर, भुतही पोखरी, मुरलीसर, रामसागर, लक्ष्मणसर, सीताकुण्ड, सूर्यकुण्ड, विषहरा पोखरी, महाराज सागर, रूकमिणी सर, पार्वती सर, विडाल सरजस्ता धार्मिक स्थल जनकपुरमै ै छन् । यो सहरको रामायणकालीन सभ्यताले पनि पर्यटनलाई लोभ्याउँछ । सिरहाको सलहेश फूलबारी, बालासुन्दरी भगवती, राजदेवी मन्दिर धार्मिक पर्यटनका केन्द्र हुन् । सप्तरीका छिन्नमस्ता, सखडेश्वरी भगवती चर्चित धार्मिक गन्तव्य हुन् । पर्सादेखि सप्तरीसम्म रहेका धार्मिक स्थलहरूलाई धार्मिक ‘पर्यटन जोन’का रूपमा विकास गरे पर्यटक भित्र्याउन सकिने जानकारहरू बताउँछन् ।

यो प्रदेश चारवटा विमानस्थलले जोडिएको छ । राजधानी जोड्ने मुलुककै छोटो काठमाडौं–निजगढ दु्रतमार्ग र निजगढमा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल यो प्रदेशको सबैभन्दा ठूलो सम्भावना हो । मुलुककै आर्थिक केन्द्र पथलैया–वीरगन्ज करिडोर जहाँ हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् । मुलुककै आर्थिक केन्द्र वीरगन्ज भन्सार यही छ भने देशकै सबैभन्दा ठूलो चारकोशे झाडी पनि यही प्रदेशमा रहेको छ । यहाँ रहेको सम्भाव्यता बुझेर उपयोग गर्न सके र यस प्रदेशमा राज्यले थोरैमात्र मेहनत गर्ने हो भने अन्य प्रदेशको तुलनामा प्रदेश २ बाट पर्यटन व्यवसायले बढी आम्दानी लिन सक्ने अवस्था छ । भौगोलिक सहजताले उद्योग, कलकारखानाका लागि यो प्रदेश उपयुक्त छ भने खेतीयोग्य जमिनको भरपुर उपयोग गर्न सके धनी प्रदेशको रूपमा उदाउन सक्ने प्रशस्त सम्भावना रहेको छ ।  संघीय व्यवस्थामा गएको नेपालमा अहिले यो व्यवस्था धान्ने गरी स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने बहस चुलिएको छ । खासगरी आर्थिक रूपमा आत्मनिर्भर नभइसकेका प्रदेश र स्थानीय तहलाई लामो समय केन्द्रले नै अनुदान दिर्नुेपर्ने भए संघीयता नै नटिक्ने हो कि भन्ने आशंका पनि सुरू भएको छ । तर प्रदेश २ ले आफूसँग भएको पर्यटकीय प्रचूरतालाई पनि ध्यान दिने हो भने यसबाट मनग्यै लाभ र फाइदा लिन सक्छ ।

अब ‘अतिथि देवो भव’को मन्त्र जपेर मात्र नेपालमा पर्यटक भित्रिने छैनन् । हामी सबैले आफ्नो दैनिक व्यवहारमा पर्यटकलाई पृथक रूपमा नेपालीपनको सेवा दिने शैलीमा परिवर्तन गर्न जरूरी छ । अब हामीले पर्यटनको पनि संघीय संरचना तयार गर्न सक्नुपर्छ । यसमा जति ढिलाइ हुन्छ, क्षेत्रीय तथा विश्व प्रतिस्पर्धाबाट हामी त्यति नै पछि पर्न सक्छौं ।                                                  (मधेस दर्पण फिचर सेवा)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes