लेटाङको समृद्धि यात्रालाई अगाडि बढाउँदै यथार्थपरक बजेट सार्वजनिक - Pahilo Online

लेटाङको समृद्धि यात्रालाई अगाडि बढाउँदै यथार्थपरक बजेट सार्वजनिक

writer

मोहन भट्टराई

लेटाङ, मोरङ — लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थमा आधारित, सहभागितामूलक र जनउत्तरदायी बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख भुपेन्द्र कुमार लावतीले समग्र नगर विकासलाई ध्यानमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण तथा सशर्त अनुदानमा आएको कटौती र आन्तरिक स्रोतको सीमितताबीच पनि मितव्ययी ढंगले बजेट निर्माण गरिएको नगरप्रमुख लावतीले जानकारी दिए। “विकासमा प्राथमिकता, खर्चमा अनुशासन” भन्ने मूलमन्त्र अनुरूप नीति निर्माण गरिएको उनले स्पष्ट पारे।

उनका अनुसार चालु वर्षको नीति तथा कार्यक्रम ‘सुसंस्कृत र समृद्ध नगर निर्माण’ मा केन्द्रित छ। पूर्वाधार विकास, आर्थिक प्रगति, सुशासन र नागरिक सन्तुष्टिलाई प्राथमिकता दिइएको छ।

नगरपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा बढी आठ करोड ५६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकासमा पनि सबैभन्दा बढी बजेट नगर गौरवको योजनाको रुपमा संघीय सरकारसँगको साझेदारीमा लेटाङ १ मा निर्माणाधित अन्तरधार्मिक शान्ति पार्कलाई १ करोड विनियोजन गरिएको छ ।

यस्तै अन्य ठूला योजना अन्तरगत प्रदेश सरकारसँगको साझेदारीमा लेटाङ ५ स्थित बुद्ध मार्ग कालोपत्रे गर्नका लागि ६० लाख र लेटाङ १ स्थित लोखरा र लाखमा कालोपत्रेका लागि ६० लाख नै विनियोजन गरिएको छ ।

यसैगरि वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख, लेटाङ १ स्थित मुर्चुङ्गि खोलामा निर्माणाधिन पुलका लागि ३६ लाख, लागत सहभागिताको कार्यक्रमका लागि  ३५ लाख, लेटाङ १ कोल्बोटे खोलामा कजवे निर्माणका लागि २० लाख, एक वडा एक नगर गौरवको आयोजनाका लागि प्रत्येक वडालाई २५ लाख का दरले जम्मा २ करोड २५ लाख रुपियाँ बजेट छुट्याइएको छ ।

नगरपालिकाले सामाजिक विकास तर्फ कूल ३ करोड ४१ लाख ४२ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद विकास लगायत क्षेत्र पर्दछन् ।

जसमा शिक्षातर्फ एक करोड ८३ लाख, स्वास्थ्यमा ७६ लाख ५२ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ३६ लाख १० हजार, युवा तथा खेलकुद विकासतर्फ  ३० लाख ८० हजार, भाषा संस्कृति प्रवर्धन तथा संरक्षणतर्फ १० लाख र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण तर्फका कार्यक्रमका लागि ५ लाख बजेट छुट्याएको छ ।

यसैगरि आर्थिक विकासतर्फ तीन करोड सात लाख एक हजार दुई सय रुपियाँ विनियोजन गरिएको छ । आर्थिक विकास अन्तरगत सबै भन्दा बढी जलश्रोत तथा सिंचाईतर्फ ९३ लाख, पशु सेवातर्फ ६१ लाख ४५ हजार, पर्यटन विकासतर्फ ५४ लाख, कृषितर्फ ५० लाख, उद्योग विकासतर्फ ३० लाख ८४ हजार, भूमि व्यवस्था तथा घर नक्सातर्फ ११ लाख २२ हजार दुई सय र सहकारी विकासतर्फ छ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाले कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २० लाख रुपियाँ छुट्याएको छ । जसमध्ये सबैभन्दा बढी कर्मचारीको पारिश्रमिकका लागि २ करोड ६५ लाख र करारका कर्मचारीको पारिश्रमिकका लागि २ करोड ५५ लाख विनियोजन गरिएको छ ।

नगरसभाले ९ वटा वडालाई ५ करोड ८५ लाख रुपियाँ विनियोजन गरेको छ । ९ वटा वडामध्ये सबै भन्दा बढी वडा नम्बर १ का लागि र सबै भन्दा कम वडा नम्बर ४ का लागि बजेट विनियोजन गरेको छ । सबै भन्दा कम र सबैभन्दा बढी बजेटको अन्तर भने करिव तीन लाख मात्र रहेको छ ।

नगरसभाले नम्बर १ का लागि ६६ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै वडा नम्बर २ का लागि ६४ लाख ६७ हजार, वडा नम्बर ३ का लागि ६४ लाख १० हजार, वडा नम्बर ४ का लागि ६३ लाख ८५ हजार, वडा नम्बर ५ का लागि ६५ लाख ७७ हजार, वडा नम्बर ६ का लागि ६४ लाख ५२ हजार, वडा नम्बर ७ का लागि ६५ लाख ५५ हजार, वडा नम्बर ८ का लागि ६४ लाख १६ हजार र वडा नम्बर ९ का लागि ६५ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ ।

नगरसभाले भौतिक पूर्वाधार विकासतर्फ, सामाजिक विकासतर्फ, आर्थिक विकासतर्फ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ र ९ वटा वडाको वडा सिलिङ गरि कूल जम्मा ३५ करोड पाँच लाख ९३ हजार दुई सय रुपियाँ बजेट विनियोजन गरेको छ ।

यसैगरि प्रदेश सरकारबाट सशर्त अनुदानको कार्यक्रमका लागि ९० लाख ३५ हजार र समपुरक अनुदानको कार्यक्रमका लागि ८० लाख गरि जम्मा एक करोड ७० लाख ३५ हजार रुपैयाँको कार्यक्रम बजेटमा समावेश गरिएको छ । जसमा समपुरक अनुदान अन्तरगत नगरसँगको साझेदारीमा वुद्ध मार्ग कालोपत्रेका लागि ४० लाख र लोखरा÷लाख मार्ग कालोपत्रेका लागि ४० लाख गरि ८० लाखको कार्यक्रम बजेटमा समावेश छ ।

यस्तै संघीय सरकारबाट सशर्त अनुदानतर्फ २२ करोड ६१ लाख, समपुरक अनुदानतर्फ एक करोड र विशेष अनुदान ६९ लाख गरी कूल २४ करोड ३० लाखको कार्यक्रम समावेश गरिएको छ । समपुरकमा अन्तरधार्मिक शान्तिपार्कका लागि नगरसँग साझेदारी गर्न एक करोड र विशेष अनुदान अन्तरगत शान्ति भगवती माविमा छात्रावासको तला थप गर्नका लागि ६९ लाख बजेट समावेश गरिएको छ ।

यसरी नगरपालिकाको ३५ करोड पाँच लाख ९३ हजार दुई सय, प्रदेश सरकारको एक करोड ७० लाख, ३५ हजार र संघीय सरकारको २४ करोड ३० लाख गरि कूल ६१ करोड छ लाख २८ हजार दुई सयको बजेट तथा कार्यक्रम निर्माण गरिएको हो ।

वडा नम्बर १ मा सबै भन्दा बढी बजेट   

लेटाङ नगरपालिकाको १७ औँ नगरसभाले पारित गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रममा सबै भन्दा बढी बजेट वडा नम्बर १ लाई परेको पाइएको छ । संघीय सरकार र नगरपालिकाको सहकार्यमा वडा नम्बर १ स्थित राजारानीमा निर्माणाधिन अन्तरधार्मिक शान्ति पार्कका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।

जुन योजना नगरपालिकाकै सबै भन्दा बढी बजेट विनियोजन भएको एक मात्र योजना हो । यसैगरि वडा नम्बर १ कै लोखरा र लाखमा सडक कालोपत्रे गर्नका लागि नगरबाट ६० लाख र प्रदेशबाट ४० लाख गरि एक करोड बजेट छुट्टिएको छ ।

यस्तै वडा नम्बर १ को मुर्चुङ्गी खोलामा पुल निर्माणका लागि ३६ लाख र कोलबोटे खोलामा कजवेका लागि २० लाख बजेट विनियोजन भएको छ । यसैगरि वडा सिलिङ अन्तरगत पनि वडा नम्बर १ ले सबै भन्दा बढी बजेट पाएको छ ।

   यस्तो छ आम्दानीको अनुमान 

नगरको आम्दानी तर्फ आन्तरिक आयबाट दुई करोड ७२ लाख ३५ हजार, दहत्तर बहत्तर दुई करोड १० लाख, गतवर्ष खर्च नभएको अल्या दुई करोड ५० लाख, संघीय सरकार राजश्व वाँडफाँड ११ करोड ८३ लाख २२ हजार दुई सय, प्रदेश राजश्व वाँडफाँड ८५ लाख ५० रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै मालपोतबाट एक करोड २५ लाख र  मनोञ्जन करबाट १२ लाख ५० हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरि संघ र प्रदेश सरकारले दिने समपुरक र समानीकरण अनुदान समेत गरी कुल ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको आम्दानी अनुमान गरिएको हो ।

मुख्य नीतिगत प्रावधानहरूमा कृषि र पर्यटनको आधुनिकीकरण, नगदे बाली, पशुपालन, रैथाने बालीको प्रवर्द्धन, सिचाइ विस्तार, नश्ल सुधार र कृषि यान्त्रिकीकरणमा जोड दिइनेछ। प्रमुख पर्यटन स्थलहरूको विकासका लागि गुरुयोजनाअनुसार पूर्वाधार निर्माण र प्रचारप्रसार गरिने योजना छ।

शिक्षाको गुणस्तर सुधार्न सूचना प्रविधिको पूर्वाधार, विज्ञान प्रयोगशाला, छात्रवृत्ति, र कक्षा सुधार कार्यक्रम लागू गरिनेछ। साथै, युवाहरू र स्वयंसेवी संस्थाहरूलाई नगरस्तरीय गतिविधिमा सक्रिय संलग्न गरिनेछ।

स्वास्थ्य क्षेत्र सुदृढीकरण अन्तर्गत उपकरण व्यवस्थापन, स्वास्थ्यकर्मी प्रशिक्षण, रोग रोकथाम, र आयुर्वेद तथा योगको प्रवर्द्धनमा कार्यक्रम समावेश गरिएको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका र विपन्न वर्गको संरक्षणलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। महिला सशक्तिकरण, जातीय–भाषिक विविधताको सम्मान र सहिष्णु समाज निर्माणलाई नीति कार्यक्रमले समेटेको छ।

सडक स्तरोन्नति, मर्मत, विद्युत पहुँच विस्तार, र गुणस्तरीय आवास विकासमा गुरुयोजनाअनुसार लगानी गरिनेछ। जलवायु परिवर्तन न्यूनीकरण, सिमसार र चुरे संरक्षण, नदी नियन्त्रण, फोहोरमैला व्यवस्थापन, विपद् पूर्वतयारी र पुनःस्थापनासम्बन्धी कार्यक्रमहरू पनि समावेश गरिएको छ।

बजेट यथार्थपरक अनुमानमा आधारित छ र घाटा नरहने गरी निर्माण गरिएको हो। नगर सेवाहरू छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

पत्रकार सम्मेलनको अन्त्यमा नगरप्रमुख लावतीले नीति तथा कार्यक्रम कानुनी प्रक्रिया पूरा गरेर ल्याइएको उल्लेख गर्दै कार्यान्वयनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। “हामी नीति कार्यान्वयनमा पूर्ण इमानदारीका साथ लाग्नेछौं, समृद्ध र सुसंस्कृत नगर निर्माण नै हाम्रो लक्ष्य हो,” उनले भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles