छिटो पैसा कमाउने प्रयासले शाक्यको ज्यान गयो - Pahilo Online

छिटो पैसा कमाउने प्रयासले शाक्यको ज्यान गयो

घटनाका मुख्य योजनाकार अझै पक्राउ परेनन्

writer

सरोज बस्नेत

सनम शाक्य

विराटनगर । छोटो समयमा धेरै पैसा कमाउने चाहनाले उर्लाबारी–७ का ३६ बर्षीय सनम शाक्यले जीवन नै गुमाउनु प¥यो । उनको हत्या आफ्नै सहकर्मीबाटै भएको खुलेको छ । तर, हत्याका मुख्य योजनाकार भने अझै प्रहरी नियन्त्रणमा आएका छैनन् ।

अबैध सुन कारोबारको विषयमा हत्या भएको प्रहरीले बताएपनि सुन तस्करीका मुख्य नाइकेसम्म प्रहरी पुगेको छैन । प्रहरीले मोरङ उर्लाबारी–७ बस्ने कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–४ का मने भनिने मोहन काफ्ले र काभ्रे मन्डन देउपुर गाउँपालिका १२ बस्ने टेकराज मल्ल ठकुरीलाई सनमको शवसँगै पक्राउ गरेको छ ।

पीडित परिवारले भने घटनाका मुख्य दोषी गोरे वा रुपेश भनेर चिनिने चूडामणि उप्रेती भएको बताउँदै आएको छ । उनी पक्राउ परेका छैनन् ।

घटनामा जोडिएर झापाका एक सुन ब्यवसायीलाई प्रहरीले पक्राउ गरेको स्रोतको भनाइ छ । तर, उनका बिषयमा प्रहरीले केही खुलाउन चाहेको छैन । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले अनुसन्धानको क्रममा कतिपय व्यक्ति पक्राउ परेको भएपनि थप अनुसन्धान जारी रहेकोले सार्वजनिक नगरिएको बताउनुभयो । उर्लाबारी क्षेत्रका एक युवाले पनि आफू असुरक्षित भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा पुगेर आत्मसमर्पण गरेको बताइएको छ । उनको विषयमा पनि छानविन भइरहेको प्रहरीले जनाएको छ ।

को हुन्, उप्रेती ?

उर्लाबारी–७ का गोरे वा रुपेश भनेर चिनिने ब्यक्ति हुन्, चूडामणि उप्रेती । सुन तस्करी काण्डमा उनलाई प्रहरीले मोस्टवान्टेड सूचीमा राखेर खोजी कार्य गरेपनि उनी प्रहरीकै संरक्षणमा हिँडिरहेका थिए । उनी ७ वर्षदेखि सुन तस्करीमा संलग्न रहेको प्रहरी स्रोतको भनाइ छ ।

हत्या गरिएका शाक्य र पक्राउ परेका काफ्ले तीन वर्षदेखि उप्रेतीको सहयोगीका रुपमा काम गर्दै आएका थिए । कार्की भने एक वर्षदेखि उनको गाडी चालकका रुपमा काम गर्दै आएका थिए । उप्रेती पूर्व फुटबलर पनि हुन् । मोरङ ११ लगायत विभिन्न क्लबमा आवद्ध भएर उनले फुटबल खेलिसकेका छन् ।

गोरे वा रुपेश भनेर चिनिने चूडामणि उप्रेती

भारतीय सेनामा तीन वर्ष काम गरेपछि दुबईको अवुदावी पुगेर त्यहाँको प्रहरीको काम गरेका उप्रेती ५ वर्ष दुबई बसेर त्यहीँबाट सुन पठाउने र हुन्डी कारोबार गर्ने धन्दामा संलग्न हुन थालेका थिए । त्यसपछि नेपाल फर्किएर दुबई, सिंगापुरलगायत मुलुकबाट पठाएका सुन नेपालका विभिन्न ठाउँमा सप्लाई गर्ने धन्दामा उनको संलग्नता रहेको स्रोतको भनाइ छ ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार उप्रेती नेपाल फर्किएपछि आफै कारोबारी भएर सुन तस्करीमा लागेका थिए । उनको नाम प्रहरीको खोजी सुचीमा पहिल्यैदेखि भएपनि पक्राउ परेका छैनन् ।

यसैबीच अनुसन्धानको क्रममा उर्लाबारी क्षेत्रका केही सुन ब्यापारीले पनि अबैध सुनको कारोबार रहेको देखिएको प्रहरी स्रोतले जनाएको छ । सुन तस्करीको सञ्जाल झापादेखि विराटनगरसम्म जोडिएको भन्दै प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

संघर्ष समिति गठन

शाक्यको हत्याको निष्पक्ष छानविन र दोषीलाई कानूनी कार्वाहीको माग गर्दै संघर्ष समिति गठन गरिएको छ । शाक्य बौद्ध समाज सेवा उर्लाबारीको पहलमा सोमबार सर्वपक्षीय भेला गर्दै स्थानीय समाजसेबी कृष्ण प्रधानको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।

संघर्ष समितिको सचिवालयमा सचिन शाक्य, बाझाङ राई, अशोक जगेबु, कोमल शाक्य, इश्वरलाल उदाश र धर्मराज शाक्य रहेका छन् । घटनाका मुख्य अभियुक्तको खोजी गरी कार्वाही गर्न सर्वपक्षीय समितिले माग गरेको छ ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले पनि घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो । भेलामा सहभागी उर्लाबारी नगरपालिका ७ का वडाध्यक्ष बीरबल थापा, ५ का वडाध्यक्ष भानुभक्त शर्मा पराजुली, ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले घटनाका मुख्य अभियुक्तको पहिचान गरी कानूनी कार्वाही गर्नुपर्ने बताए ।

फागुन १८ गते विराटनगरबाट गाडीमा राखेर गायब पार्ने प्रयास गरिएको अवस्थामा शाक्यको शव प्रहरीले बरामद गरी तीन जनालाई पक्राउ गरिएको थियो । प्रहरीले मोरङ उर्लाबारी– ७ बस्ने कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–४ का मने भनिने मोहन काफ्ले र काभ्रे मन्डन देउपुर गाउँपालिका १२ बस्ने टेकराज मल्ल ठकुरी पक्राउ गरी संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा अदालतमा म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले झापाको चारआलीका लाक्पा शेर्पालाई पनि पक्राउ गरेको छ ।

अबैध सुन कारोबारमा संलग्न रहेका सनमलाई उनका साथीहरुले हराएको ३२ केजी सुनको विषयमा कुरा गर्नुछ भन्दै लहान बोलाएर सोधपुछका क्रममा विभिन्न ठाउँ घुमाउँदै मोरङको उर्लाबारी १ स्थित सोल्टी खोलाको किनारमा हत्या गरेको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes