आइसा चौधरीको ‘आत्महत्या’ शंकास्पद - Pahilo Online

आइसा चौधरीको ‘आत्महत्या’ शंकास्पद

दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्शन

writer

पहिलो अनलाइन

विराटनगर । घरेलु कामदारको रुपमा ललितपुर स्थित एक घरमा कार्यरत मोरङको कटहरी गाउँपालिका – १ घर भएकी किशोरीको नियोजित रुपमा हत्या भएको भन्दै परिवारले दोषीलाई कार्वाहीको माग राख्दै विराटनगरमा प्रदर्शन गरेका छन् ।

कटहरी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित बिनय दाहालको घरमा काम गर्ने १७ वर्षीय आइसाकुमारी चौधरीको शुक्रबार दाहालकै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

झुण्डिएको अवस्थमा फेला परेको शवबारे परिवारलाई जानकारी नदिएको, उनकी आमालाई झुक्याएर काठमाडौं बोलाई पोष्टमार्टम गरिसकेको शव जिम्मा लगाएको भन्दै पीडित परिवार र स्थानीयले घटना नियोजित भएको बताएका हुन् । उनीहरुले आइतबार मृतकको शवसहित प्रदर्शन गरे ।

दाहालको घरमा एक वर्षदेखि घरेलु कामदारको रुपमा रहेकी आइसाको शव झुण्डिएको अवस्थाम भेटिएको भन्दै सातदोबाटो प्रहरीले परिवारलाई जानकारी पनि नदिई लगेर पोष्र्टमार्टम गराएको थियो । उनको निधन भइसकेपनि परिवारलाई दाहालले जानकारी दिएनन् । कटहरीमा रहेका आफन्त र मृतककी आमा गुल्जार चौधरीलाई दाहालले ‘आइसाले सुन र पैसा चोरेले प्रहरीमा राखेको छ, भेट्न आउनु’ भन्दै काठमाडौं लगेका थिए ।

छोरी पक्राउ परेको सूचनापछि काठमाडौं गएकी गुल्जारलाई दाहाल परिवारले आइसाको शव जिम्मा लगाएर शनिबार एम्बुलेन्सको भाडा २५ हजार रुपैयाँसहित बाटोखर्च भन्दै थप २ हजार रुपैयाँ थमाएर विदा गरेको थियो । प्रहरी हिरासतमा रहेकी भनिएकी छोरी भेट्न पुगेको अनपढ बृद्ध गुल्जार चौधरी छोरीको शव बोकेको एम्बुलेन्सहित आइतबार विराटनगर आइपुगेकी हुन् ।

प्रहरीले आफन्त नपुग्दै घटनास्थलबाट शव लैजानु र आफन्तलाई झुक्याएर काठमाडौं लैजानुलाई रहश्यमय रुपमा हेरिएको छ । प्रहरीसँगको पहुँचको कारण दाहाल परिवारले घटनालाई ढाकछोप गर्न खोजेको आशंका गरिएको छ । घटनामा दाहाल परिवारको संलग्नता रहेको आरोप पीडित पक्षको छ ।

छोरी हेर्न गएकी आमा शव लिएर फर्किएपछि आफन्त र छिमेकीहरु चकित परेका थिए । अशिक्षित र अतिविपन्न चौधरी परिवारमा मुली अर्थात मृतकका बाबुको निधन भइसकेको छ भने १५ वर्षीया भाई र बहिनीसहित आमा गुल्जारले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँछन् ।

गाउँघरमा अति सोझी र इमान्दार आइसाले आत्माहत्या गरेको हुन नसक्ने स्थानीयको भनाइ छ । कटहरी गाउँपालिका–१ का वडाअध्यक्ष कपुरलाल माझीले झुक्याएर आमालाई मात्र काठमाडौं लानु, एम्बुलेन्समा शव राखेर पठाउनु तर दाहाल परिवारका कोही नआउनुले उनको हत्या भएको आशंका जन्माएको बताउनुभयो । स्थानीयले घटनाको छानविन गर्नुपर्ने र मृतकको पुनः पोष्टमार्टम गर्नुपर्ने माग गरेका छन् ।

आइतबार विहान छोरीको शव लिएर आमा आएपछि स्थानीयले कोशी अञ्चल अस्पतालमा पुनःपोष्टमार्टमका लागि शव लिएर गएका थिए । तर, एक पटक पोष्टमार्टम भएको मृत शरिरको पुनः पोष्टमार्टम गर्न नमिल्ने भन्दै मोरङ प्रहरी उपरीक्षक अरुणकुमार बिसीले आफन्तलाई सम्झाउँदै दाहसंस्कार गर्न आग्रह गरेका थिए । आफन्तले भने शरिरभरी निलडाम रहेको भन्दै अस्वीकार गरेका छन् ।

आइसाले काम गर्दै आएकोे घर ललितपुर महालक्ष्मी–३ निवासी लिना दाहालले घटनाबारे बुझ्नखोज्दा त्यसबारे आपूmहरुलाई जानकारी नभएको भन्दै प्रहरीलाई सोध्न भनेकी छन् । परिवारलाई झुक्याएको नभई मृत्युको खबर गर्न नचाहेको उनको भनाइ छ ।

सातदोबाटो प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक बिनोद सिलवालले भने आफन्त आउन ढिला गरेका कारण शव झिकेर पोष्टमार्टमका लागि पठाएको बताएका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नै पुष्टि हुने भन्दै उनले मृतक परिवारलाई क्षतिपूर्ति दिएपछि घटना सकिने बताएका छन् ।

आइसा नेपाली काँग्रेसकी स्थानीय नेतृ गिता सिलवालको सम्पर्कबाट उनकै छोरी ज्वाईको घरमा घरेलु कामदारको रुपमा काम गर्न ललितपुर पुगेकी थिइन् । स्थानीयले घटनाको जिम्मा लिनुपर्ने भन्दै विराटनगरस्थित सिलवालकै घरमा मृतकको शव लैजाने प्रयास गरेका थिए । तर, प्रहरीले उनीहरुलाई रोकेको थियो ।

परिवारका अनुसार एक वर्षदेखि दाहालको घरमा कार्यरत आइसा गत दशैमा घर आएकी थिइन् । त्यसपछि उनले फर्कन मानिनन् । तर, पारिवारिक अवस्था र दाहालको दबाबको कारण उनी फर्किएकी थिइन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes