भ्रष्टाचारीलाई ६ फिटे चिहान र ८ सय १५ को दाउरा - Pahilo Online

भ्रष्टाचारीलाई ६ फिटे चिहान र ८ सय १५ को दाउरा

७ लाख तलव खाएर ७ करोड कमाउने कर्मचारीको संपत्तिको श्रोत किन खोजीदैन ?

writer

प्रेम संजेल

प्रेम संजेल

केही समय अगाडि एउटा प्रतिष्ठित टेलिभिनमा देश विकासको विषयमा अन्तरवार्ता प्रसारण भयो । अन्तरवार्ता लिने पत्रकार पनि नामुद थिए । अन्तरवार्ता दिने नेपाल सरकारका अतिउच्च पदस्थ कर्मचारी थिए । सारांशमा ती दुई जनाले नेपालमा भ्रष्टाचार छैटौं नम्वरमा पर्ने समस्या हो भन्ने ठहर गरे । नेपालको हालको स्थिति र उक्त अन्तरवार्ताको ठहरलाई अंग्रेजीमा कमेडी र नेपालीमा आधारहिन पाङ्गदूरे गफ भन्नु उचित हुन्छ । उनीहरुका अनुसार देशका जल्दावल्दा ५ वटा समस्या के हुन त ? राजनैतिक स्थायित्व नहुनुलाई एउटा समस्या मान्न सकिएला । असहिष्णुता, असमझदारी, सत्ता लिप्सा, आदि दोषपनि राजनीतिमा थोपर्न मिल्छ । राजनीति समग्रमा एउटा समस्या हुन सक्छ । राजनीति एक नंवरमा पर्ने कारणहरु के के हुन ? के यसले भ्रष्टाचारलाई दुई नंवरमा झार्न सक्छ ? भ्रष्टाचार त छैटौं नम्वरमा कुनै हालतमा पनि पुग्दै पुग्दैन ? यो ठोकुवा गर्नसक्ने लाखौं प्रमाण छन् ।

भ्रष्टाचार नै देश अधोगतिमा लाने प्रथम र अन्तिम कारण हो । हामीसँग जनशक्ति नभएको भनौं भने आँफै विजुली उत्पादन गर्ने क्षमता छ । वैज्ञानिक छैनन् भनौं भने १२ कक्षामा पढ्नेहरु चोर पक्रने र लेसरको सहायताले जता चोर आयो उतै फर्केर अटोमेटिक रुपमा गोली हान्ने मानवबिहीन मेशिन बनाउँछन् । इञ्जिनियरिङ्ग पढीरहेका कलिला केटाहरु डाँफे भन्ने हवाईजहाज वनाएर देशमै उडाउँछन् । १ घण्टा १५ मिनेट व्यवस्थापनको कक्षा लिएको रु।१०,०००।– शुल्क लिने उच्च व्यवस्थापन विज्ञ छन् । निजामती, सेना, प्रहरी र संघ संस्थानको एउटा कर्मचारीको पदमा विज्ञापन हुँदा वाह्र हजार जनाबाट छानिएर आएका बेस्ट एमोड।दि बेस्ट कर्मचारी छन् । भारतमा भूकम्प प्रुफ घर बनाउनुपर्दा नेपालबाट अति उच्च विज्ञका रुपमा इञ्जिनियर झिकाईन्छ । वेलायत जस्ता देशमा ठूला सुरुङ्ग वा ठूलो निर्माणमा नेपाली प्राविधिक खटिएका छन् । डडेल्धुरेलीका सन्तान अमेरिकाको नासामा बैज्ञानिकको काम गर्छन । बेलायतको उच्च बैज्ञानिक अनुसन्धान गर्ने सस्थामा त्रिरत्न श्रेष्ठ भन्ने कलिला उमेरका नेपाली ठूला बैज्ञानिक छन । भारतीय सेनामा कार्यरत नेपाली सैनिक नयनसिंह विश्वकर्मा भारतको एन्टार्कटिका मिसनका सदस्य थिए ।

अदालतका खरिदार र नायव सुब्बा एल.एल.एम. प्रथम श्रेणीमा उत्तीर्ण गरेका छन् । जुन योग्यता न्यायाधीश हुनकै लागि काफी छ । देशैभरी ६००० वटा नदी र खोलानाला छन् । देशमा ८३,००० मेगावाट बिजुली को संभाव्यता छ । विजुलीका विज्ञ घरमै छन् । देशैभरी वर्षैभरी सिजन वेसिजनका खेती हुन्छन् । देशमा गन्नै नसकिने संख्यामा कृषी वैज्ञानिक छन् । देशमा उर्वरा भूमि पनि छ । पशुपालनको त्यतिकै संभावना छ । चिया, कफी, नेपाली कागज, सुकुटी मासु, धूलो दूध, ताजा तरकारी र अनाज उत्पादन एवं निकासीको प्रचूर संभावना छ । उमेरमा ८४ वर्ष र राजनीतिमा ६४ वर्ष, जीवनको अमूल्य समय दिएका पचासौं बरिष्ठ राजनीतिज्ञहरु छन् । पर्यटकलाई हिमाल देखाए पनि पैसा फल्छ । मन्दिर देखाए पनि पैसा फल्छ । होमस्टे गराएर राखे पनि पैसा फल्छ । होटेल चल्छ । लज चल्छ । टे«किङ्ग चल्छ । हिमाल आरोहणको उतिकै संभावना छ । पदयात्रा मात्र गराएर लाखौं डलर कमाईन्छ । ¥याफ्टीङ्ग, बन्जीजम्प, रक क्लाईम्विङ्गको प्रचूर संभावना छ । मजदूरी वा ज्याला सस्तोमा पाईन्छ । थुप्रै कम्प्यूटर वा यस्तै इलेक्ट्रोनिक्समा प्रयोग हुने सफ्टवेयर वनाएर वेच्ने प्रचूर संभावना छ । अमेरिकी दरमा डलरमा शुल्क लिएर यही प्राथमिक देखि उच्चशिक्षा दिने स्कूल र कलेजहरु छन् । सिङ्गापुरको जस्तो शिक्षामा विश्वलाई तानेर पढ्ने पढाउने ब्यबसाय चलाउने ठूलो संभावना छ । कृषिमा पढेलेखेका ब्यक्ति लागेका छन् । कृषीलाई उद्योगको रुपमा विकस गर्ने ठूलो संभावना छ । जडिवूटीमा नेपाल विश्वमा धनी देश मध्येमा पर्छ । जडिवूटीमा आधारित ठूला औषधी उद्योगको स्थापना र संचालन गर्ने संभावना छ । रासायनिक मल नहालेका साग देखी अन्य अनाज उत्पादन गरेर दशौं गुणा महंगो मूल्य लिएर बिदेशमा बेच्न सकिन्छ । वी ए पास गरेर विदेशमा सडकको लेन बिभाजन गर्ने ५० केजीको रोडडिभाईजर वोक्न जाने कामदारलाई शीपयुक्त बनाएर पठाउन सकिन्छ ।

विजुलीको वेल्डीङ्ग गर्ने वेल्डर,खानेपानीको पाईप फिटिङ्ग गर्ने प्लम्वर, कम्प्यूटर सफ्टवेयर निर्माण गर्ने वा कम्प्यूटर चलाउने अपरेटरको उत्पादन गरेर मध्यमस्तरको जनशक्ति निकासी गर्ने प्रचूर संभावना छ । यसका अतिरिक्त जानकारीमा नआएका कैयौं संभावनाहरु हाम्रो देशमा विगत र बर्तमानमा थिए र छन् । तथापि किन भएन देशको विकास ? कसैसँग जवाफ छ ? अब जनताका गुनासातिर जाँउ । यी उदाहरण मात्र हुन । हाम्रो देशको खानी विभाग स्थापना भए देखि आज सम्मको कर्मचारीको तलब भत्ताको रकम र तिनलाई वैदेशिक तालिम दिंदा खर्च भएको रकमले सुन किनेर गाडेको भए आज ठूलो सुनखानी हामीसँग हुन्थ्यो तर तिनले ढुङ्गा खानीको पनि आविष्कार गरेनन भन्ने आरोप छ । कृषिमा खर्च भएको रकम किसानलाई वाँडेको भए देशभरीका सबै किसान धनी हुने थिए तर सरकारी वर्षैंको लगानीले पनि कुनै ठोस प्रतिफल ल्याएन भन्ने आरोप छ । निजामती प्रशासन गणतन्त्रमा आईपुग्दा पनि राणाकालिन चाकडी प्रथामा र जी हजूरीमा नै जकडिएको छ भन्ने आरोप छ । वन कार्यालयका कर्मचारीले तस्करसंग मिलेर वन नफाँडेको र बेचेर नखाएको भए किसानले हलो बनाउन र घर बनाउन खुला रुपमा काठकाटे पनि यति जङ्गल मासिने थिएन ।

सुरक्षा गर्ने निकाय वा पदाधिकारीले असुरक्षा गर्ने तत्वलाई संरक्षण नदिएको भए समाजमा आज राम्रो नीति कायम हुन्थ्यो । अराजकता, गुण्डागर्दी नियन्त्रण गर्ने पद्धति राजनीतिले लिएको भए राजनीतिमा स्थायित्व आउँथ्यो । कर्मचारीले घुस, कमिशन, खाएर भ्रष्टाचार नगरेको भए जनताले राजनीतिक उथलपुथलमा कर्मचारीद्वारा देश चलीरहन्छ भन्ने विश्वास आर्जन गर्ने थिए । बिकासले अपेक्षित गति लिने थियो । देश विकासका आयोजनामा लाग्ने खर्चबाट कमिशन खाने कर्मचारी र राजनीतिज्ञको होडवाजीले कुनचाँही कर्मचारी हो र कुनचाँही राजनीतिज्ञ हो भनी छुट्याउन कठिन वनायो । भारतीय नेता राजीव गान्धी खुदै भ्रष्टाचारको बोफोर्स काण्डमा मुछिए । तथापि उनले भ्रष्टाचारको विषयमा वोलेको बूँदा यहाँ सान्दर्भिक भै उल्लेख गरिएको छ । यदि ठेकेदारहरुले कुल लागतको १५ प्रतिशत पनि विकास निर्माणमा खर्च गरेको भए भारतको विकास आजको भन्दा उच्च तहमा पुग्थ्यो । यसै विषयमा नेपालको सन्दर्भ जोडौं नेपालमा कुनै काम गर्न रु.१००।– टोटल बजेट लाग्ने भए रु.३००।– को अर्थात तेब्बर लागत इष्टिमेट शुरुमा बनाईन्छ । आधा घटेर टेण्डर पाएपनि बास्तबमा लागतको २ गुणा अझै वढी नै बजेट हुन्छ । त्यसबाट आधा कमिशन खाएर पनि वाँकि आधा प्रतिशत अर्थात बास्तबिक लागत रु. १००।– बाँकि हुन्छ सो १००।– ले ठोस विकास निर्माणको गुणस्तरयुक्त काम हुनुपर्ने हो । तर त्यो पनि भएको छैन भन्ने गुनासो छँदैछ ।

सरकारी घर बनेको २ बर्षमा थोत्रो भएपनि कसैलाई कारबाही भएको छैन । पुल बनेको २ बर्ष नबित्तै दुलो परे पनि कसैलाई कारबाही भएको छैन । हाम्रो विकास निर्माणका कामको गुणस्तर जाँच गर्ने परम्परा नै छैन । फागुनमा बनेको सडक आषाढमा विना भवितव्य भत्कन्छ । तर कसैले जिम्मा लिनु पर्दैन। ३५ वर्षे उमेरमा हालेको मुद्दा ७० वर्ष तक फैसला हुँदैन तथापि कोही जिम्मेवार छैन । समाजमा चोरी डकैती गर्नेहरु, जूवाडेहरु, अपराधीहरु प्रतिष्ठित बनेर हिंड्छन् । राजनीतिमा पापको र अपराधको कमाईको लगानी छ । तिनीहरुलाई कानूनले छुदैन र देख्दैन । राजनीतिमा अपराधको कमाई लगानी भईरहेको भए तापनि त्यो रोक्ने पहल खुदै राजनीतिले गर्दैन । सरकारी सिमेण्ट उद्योगमा नै कार्यरत ब्यक्तिद्धारा देशको सिमेण्ट उद्योगका मेशिन जानाजान विगारेर वा बन्द गराएर बिदेशी सिमेण्टको कमिशन खाईन्छ कसैलाई चासो छैन । नीतिवेत्ताका रुपमा नियुक्त हुने ब्यक्ति मोलमोलाई गरेर ठेक्कामा रकम तिरेर वा पाार्टीको कोटामा परेर आउने हुँदा विज्ञ हुनुपर्दैन । नेपाली नागरिकता बोकेको अति उच्च पदासिन मानिसले नेपाली भाषाको न सम्म उच्चारण गर्न नसके पनि बिज्ञ कहलिएर नियुक्ति भएकै छ । उसले कति नेपाल बुझ्छ होला ? राजनीतिक पार्टीको परिवर्तन त परै जावोस एउटै पार्टीको लवी मात्र फेरिदा पनि जी एम, अध्यक्ष र राजदूत फेरिन्छ । कसैलाई मतलव छैन ।

राजनीतिमा नीतिका लागि र जनताका लागि वाँचुञ्जेल सम्म मरिमेट्नेहरु रसातलमा पुग्छन् । चाकडीवाजहरु चाँहि साँसद र मन्त्री वन्छन् । आफैं खराव प्रकृयाबाट आउने हो भने अरुलाई उसले कति न्याय र सदाचार सिकाउला रु फलानोले भ्रष्टाचार गरी अकूत संपत्ति कमाएको हो भनी शतप्रतिशत थाहा भएपनि कारवाही नहुनु र कसैले उजूरी हालेर उभिई दिए हुन्थ्यो भन्ने हाम्रो भावना, संस्कार र भ्रष्टाचार बिरुद्ध काम गर्ने निकायहरुको फितलो अनुसन्धान पद्धतिका कारण देशमा भ्रष्टाचार व्याप्त छ । यो नै राष्ट्र निर्माणको मूल वाधक तत्व हो । नेपालमा राजनीतिमा भ्रष्टाचार छ । विकासमा भ्रष्टाचार छ । प्रशासनमा भ्रष्टाचार छ ।

न्यायमा भ्रष्टाचार छ । निजी क्षेत्रका वैँक वा वित्तीय संस्था एवं सहकारीमा समेत भ्रष्टाचार छ । भ्रष्टाचार नभएको क्षेत्र नै छैन । देश भ्रष्टाचारका कारण नरम अवस्थामा पुगेको छ । यो ठूलो दूर्भाग्य हो । यसलाई रोक्नु सबै नेपालीको परम कर्तब्य हो । भ्रष्टाचारकै कारण उद्योग धन्दा पलायन हुँदैछन । यसैका कारणले रोजगारी घटीरहेको छ । नरम अवस्थाबाट राष्ट्रलाई छुटाउन सर्वप्रथम भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । भ्रष्टाचार नेपालको एक नम्वरको समस्या हो । यसमा विवाद गर्नु भ्रष्टाचारीकै पक्षमा वकालत गर्नु सरह हो । अतः कसैले भ्रष्टाचारीलाई नेपालमा ६ नम्वरको समस्या मान्छ भने उसले १ देखि ५ नम्वरका अरु समस्याको फिहरिस्त पेश गर्ने हिम्मत किन गर्दैन ? कोही यस बिषयमा शास्त्रार्थ गर्न चाहान्छ भने हरेक नेपाली तयारी हालतमा छन् । अब नेपालको अबस्था किसानलाई पनि थाहा छ ।

अरुले फोस्रा कुरा गर्ने वा धाक दिने अबस्था छैन । हाम्रो देशमा भ्रष्टाचार ६ नम्वरमा पर्छ भन्नेलाई यी काम किन भएनन भनी प्रश्न गर्नु सान्दर्भिक हुन्छ । राजा वीरेन्द्रको सम्पत्ति खोजिदैछ तर राजाभन्दा धनी उनका दरबारका कर्मचारीको संपत्ति किन खोजिदैन ? ७ लाख तलव खाएर ७ करोड कमाउने कर्मचारीको संपत्तिको श्रोत किन खोजीदैन ? के यस बिषयमा नयाँ पुराण नै लेख्नुपर्ने हो ? राजनीतिज्ञ र कर्मचारी मिलेर गर्ने भ्रष्टाचारको जरोमा नै राजनीतिद्वारा किन प्रहार गरिदैन ? कर्मचारी सरुवा पदस्थापना जस्ता मामूली कुरामा मन्त्री समेत मुछिएको आरोप लाग्दा र भ्रष्टाचार हुँदा त्यसको निदान किन खोजिदैन ? यतिका वर्ष सम्म विकासको नाममा गएको रकमको खर्चवाट शून्य प्रायः उपलब्धी हुनुको कारण किन खोजीदैन ? २००७ सालमा प्रशासनमा र न्यायमा जस्तो प्रकृया थियो । आज ६२ बर्ष पूरा हुदाँ सम्म त्यो किन फेरिएन ? फेर्ने प्रयाशहरु कैयौं भएका थिए तर किन सफल हुन सकेनन ? यी सवै प्रश्नको जवाफ दिने कसैसँग हिम्मत छ ? हामी सवै यथास्थितिवादी छौं । भ्रष्टाचारबाट वाहिर निस्कनुको सट्टा कमिशनलाई अघोषित वैधता दिँदैछौं ।

कसरी सुधार गर्ने त ? भ्रष्टाचारको मुद्दा पुनरनवेदन तहको भए ३ महिना भित्रमा फैसला भई सक्नुपर्छ । सो मुद्दा शुरुको भए ६ महिना भित्रमा फैसला भईसक्नु पर्छ । ६ महिनामा फैसला नगर्ने कुनै अप्रत्यासित ठोस कारण भएमा सर्बोच्च अदालतमा भए फुल कोर्टले निर्णय गरेर म्याद थप्नु पर्छ । तलका अदालतको भए एक तह माथिको अदालतबाट मात्र ६ महिनाको लागि म्यादथप्ने कानुनी प्रावधान हुनुपर्छ । सो अवधिमा मुद्दा नछिन्ने न्यायाधीशको जागिर तुरुन्त जाने कानुनी ब्यबस्था हुनुपर्छ । भ्रष्टाचार राष्ट्रिय रोग भएकोले यो मुद्दाले अटोमेटिक रुपमा अग्राधिकार पाँउनु पर्छ । मरे पछि गाड्नलाई ६ फिट जमिन चिहानका लागि र रु.८१५।– को दाउरा जलाउनका लागि भए पुग्छ,बाँकि सबै निरर्थक हो भन्ने नेपालका कर्मचारी र राजनीतिज्ञले नवुभ्mनु र भ्रष्टाचारमा सवै क्षेत्र लाग्नु नै हाम्रो देशको यस्तो हालत हुनुको मूल कारण हो । जागौं नेपाली हो अब निकै ढिला भई सक्यो ।

संजेलको फेबुकबाट साभार
संजेल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख हुन्

मा प्रकाशित

1 thought on “भ्रष्टाचारीलाई ६ फिटे चिहान र ८ सय १५ को दाउरा

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes