विराटनगरमा विवाहको फरक अभ्यास - Pahilo Online

विराटनगरमा विवाहको फरक अभ्यास

छोरी–ज्वाईंलाई पुस्तक उपहार

writer

पहिलो अनलाइन

विराटनगर । कुनै सार्वजनिक कार्यक्रम जस्तै गरी जब धिरेन्द्र प्रेमर्षीले स्टेजबाट स्वयंबरको आव्हान गरे । बर–बधुले एकआपसमा औंठी साटासाट गरे । माला एक अर्कालाई लगाइदिए । स्वयंबर सकियो ।

पालो आयो बेहुलीका बुबाको । उनले बर र बधु अर्थात् छोरी–ज्वाईलाई आफैंले लेखेको ‘विवाह सम्बन्धको आधुनिक रुप’ हस्तान्तरण गरे । समारोहमा उपस्थिति पाहुनाले बर–बधुलाई शुभकामना दिए । अतिथिहरुले शुभकामना मन्तव्यका साथ आफ्ना विषय राखे । विवाह सम्पन्न भयो ।

विवाहमा जन्ती पर्सने, गोडा धुने, कन्यादान दिने, ब्राम्हण पढाउने खालका कुनै पनि काम गरिएन । त्यति मात्रै होइन बरबधुलाई शुभकामना दिइरहँदा नगद वा जिन्सी उपहारलाई नल्याउन आग्रह गरिएको थियो । समारोहमा नगद दिन खोज्नेलाई बेहुलीका बाबुद्वारा लेखिएको सोही पुस्तक खरिद गर्न आग्रह गरियो र नगदलाई अस्वीकार गरियो ।

नयाँ शक्ति पार्टीका नेता रामरिझन यादवकी छोरी शिखाकिरण यादव र सुनसरी इनरुवाका धिरज भट्टराईबीचको विवाह समारोह दाइजो विरोधी मात्रै रहेन नयाँ सामाजिक मूल्य स्थापित गर्ने प्रयास पनि भयो । विराटनगरको वीरेन्द्रसभा गृहमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको दिन पारेर आयोजित विवाह समारोह फरक र सन्देशमुलक रहेको संस्कृतिकर्मीले बताए ।

‘यो न त परम्परागत भयो, न त पुरै आधुनिक भयो, यो विवाह समारोह एउटा सन्देशमूलक रह्यो,’ कार्यक्रममा उपस्थित मिथिला संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षीले भन्नुभयो, ‘अहिलेको आधुनिकताको नाममा विकृतियुक्त दाइजोको कुरा र डाङडाङ डुङडुङलाई यो विवाहले निरुत्साहित गरेको छ ।’ संस्कृतिको आडमा विकृति ल्याउन खोज्नेलाई नियन्त्रणमा लिने खालको विवाह भएको उहाँको भनाइ छ ।

विवाह समारोहमा उपस्थित विश्लेषक सिके लालले आधुनिकताको क्रममा समाजलाई सक्ने खालका विवाह भइरहेको सन्दर्भमा भएको शिखाकिरण र धिरेन्द्रको जस्तो विवाहले त्यसलाई रोक्नसक्ने बताउनु भयो । ‘सन्तानोत्पादनका लागि भाडाका कोख खोज्ने, टेष्टयुब बेबि र विभिन्न विकृत चलन आएको छ,’ उहाँले भन्नुभयो, ‘समाजले निरन्तरता पाउने र सभ्यता जोगाउने हो भने यसखालका विवाह आवश्यक छ ।’

बामपन्थी परिवारबाट हुर्केको कारण आफूलाई प्रगतिशिल विवाह गर्ने सोच रहेको बताउँदै बेहुली शिखाकिरण यादवले यसखालको विवाहले दाइजो विरुद्ध सचेतना जगाउने बताउनुभयो । ‘प्रेम विवाहले दाइजोलाई निरुत्साहित गर्छ भने यसखालको प्रगतिशिल विवाहले झनै त्यसलाई इन्कार गर्दछ,’ उहाँको भनाइ थियो । विवाहमा राजनीतिक पार्टीका केन्द्रीयस्तरका नेता, सांसद, बुद्धजीविलगायतको उपस्थिति थियो ।

विवाह समारोहकै अवसरमा रामरिझन यादवले सम्पादन गरेको ‘विवाह सम्बन्धको आधुनिक रुप’ नामक पुस्तक लोकार्पण गरिएको छ । यादवकी ९० वर्षीय आमा जरियादेवी यादवले पुस्तकको लोकार्पण गर्नुभयो ।

पुस्तकमा आधुनिक र प्रगतिशिल विवाहको बारेमा उल्लेख गरिएको छ । ५ सय पृष्ठ लामो पुस्तकमा मिथिला संस्कृति तथा अन्य उत्कृष्ट विवाह संस्कृतिको विषयलाई समेटिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes