सस्तोमा आलु किन्न भुटानको प्रस्ताव - Pahilo Online

सस्तोमा आलु किन्न भुटानको प्रस्ताव

आलुको बजार खोज्दै भुटानी टोली विराटनगरमा

writer

पहिलो अनलाइन

विराटनगर । भारतबट वार्षिक करोडौं मूल्यको आलु आयात गर्दै आएको नेपाललाई भुटानले भारतभन्दा सस्तो मूल्यमा आलु बिक्री गर्ने प्रस्ताव गरेको छ ।
आफ्नो मुलुकमा उत्पादित आलुको बजार खोज्दै विराटनगर आइपुगेको भुटानको कृषि, बजारिकरण तथा सहकारी विभागको टोलीले भुटानको आलु खरिद गर्न प्रस्ताव गरेको हो ।
विभागका चिफ मार्केटिङ्ग अफिसर योङ्तेन ग्यामत्सु नेतृत्वको टोलीले विराटनगरका तरकारी व्यवसायीसँग छलफल गरेर भूटानमा उत्पादित आलु खरिद गर्न आग्रह गरेका हुन् । भुटानमा सन् २०१८ मा ६८ हजार मेट्रिक टन अर्थात ६ करोड ८० लाख किलो आलु उत्पादन भएकोमा अधिकांश आलु भारत निर्यात भएको र त्यही आलु भारतबाट नेपाल आउने गरेको टोलीले जनाएको छ ।
भुटानमा उत्पादित आलु भारतको असाम, सिक्किम, दार्जेलिङ, पश्चिम बंगाल, बंगलादेश र नेपालमा खपत हुने गरेको बताइएको छ । नेपालका व्यापारीहरुले भारतका व्यवसायिहरुसँग भुटानमा उत्पादित आलु खरिद गर्ने गरेकोमा भुटानबाट सिधै खरिद गरेमा सस्तो पर्ने ग्यामत्सुले बताउनुभयो ।
नेपाललाई आवश्यक पर्ने आलु आपुर्ती गर्न तयार रहेको भन्दै विभागले भुटानका तीन मुख्य शहरबाट दैनिक अक्सनमा नेपाली व्यवासायीहरुलाई खरिदका लागि निमन्त्रणा गरेको हो । भारतको जनसंख्या ८ लाख १४ हजार मात्र रहेको र अधिकांश किसान उत्पादनमा क्रियाशिल रहेको अवस्थामा भुटानले अहिले कृषि उपज निर्यात बढाउँदै लगेको छ ।
भुटान सरकारले गुणस्तरीय र स्वस्थ हरियो तरकारि पनि निर्यात गर्न तयार रहेकोले भुटानबाट ल्याउन आग्रह गरेको छ । छलफलमा सहभागी मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले आलु तथा हरियो तरकारी ढुवानी जोखिमपूर्ण हुने बताउनुभएको थियो । भुटानी प्रतिनिधि मण्डलले भने नेपालले खरिद गर्ने प्रतिवद्धता जनाए एयर कण्डिसनयुक्त ट्रकको प्रवन्ध भुटान सरकारले नै मिलाइदिने बताएको छ ।
भुटान सरकारले पछिल्लो समय आलु तथा तरकारी उत्पादनमा जोड दिएको टोलीको भनाइ छ । पकेट खेतिमार्फत किसानहरुलाई उत्पादनमा प्रोत्साहन गर्दा उत्पादन वृद्धि भएको छ । सरकारले किसानलाई आवश्यक पर्ने मल, बिऊ, तथा औषधिहरु खेतमै पु¥याउने गरेको छ भने उत्पादित वस्तु खेतमै पुगेर संकलन गरी लिलाम बिक्री गर्ने गरेको छ ।
विराटनगरमा मात्र २२ करोडको आयात
नेपालमा बिराटनगर भन्सार भएर यो वर्षको ६ महिनामा मात्र २२ करोड मूल्य बराबरको १ करोड २ लाख किलो आलु आयात भएको छ । जसबाट सरकारलाई १ करोड १४ लाख रुपैंयाँ राजश्व प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षमा भारतबाट बिराटनगर भन्सार नाकाबाट ९३ करोड ५९ लाख रुपैयाँ मूल्य बराबरको ४ करोड ४१ लाख ८९ हजार किलो आलु आयात भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes