३३.५ किलो सुन खोज्न यातना दिँदा सनमको मृत्यु - Pahilo Online

३३.५ किलो सुन खोज्न यातना दिँदा सनमको मृत्यु

मोरङ उर्लाबारीबाट झण्डै १० किलोमिटर उत्तर सोल्टी खोला किनारमा होलीकै दिन सनमको मृत्यु भएकोमा २४ घण्टापछि विराटनगरबाट शव बरामद

writer

पक्राउ परेका अभियुक्त र उनीहरुले प्रयोग गरेका सामान

विराटनगर, २० फागुन । मोरङको उर्लाबारी ७ का ३६ वर्षीय सनम शाक्यको हत्या थप रहस्यमय बन्दै गएको छ । विराटनगर–३ दुर्गाचोकमा शनिबार दिउँसो शाक्यको शव स्कर्पियो गाडीको सिटमा भेटिएको थियो ।

शाक्यको शव भेटेसँगै प्रहरीले घटना हुनुमा सुन तस्करी मुख्य कारण भएको भन्दै अनुसन्धानलाई अझै व्यापक बनाएको छ । ‘फागुन महिना लागेसँगै चिनबाट ३३.५ किलो सुन नेपाल हुँदै भारत लैजान ल्याइएको थियो,’ उच्च प्रहरी अधिकारीले भने, ‘मृतक सनम, पक्राउ परेका काभ्रे मण्डन देउपुर १२ बस्ने २९ वर्षीय टेकराज मल्ल, मोरङको उर्लाबारी ७ बस्ने ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङको उर्लाबारी ५ बस्ने ३७ वर्षीय मोहन काफ्ले भरिया भएको बेला सुन गायब भएपछि हत्याको घटना भएको देखिन्छ ।’

यसरी भयो हत्या

मृतक सनम शाक्य

प्रहरी स्रोतका अनुसार फागुन १५ गते सनम घरबाट हिँडेका थिए । ‘सुन गायव भएपछि, सनमसहित टेकराज, नरेन्द्र, मोहनलाई सुन तस्करका नाइकेले सिरहाको लहान झिकाए,’ स्रोतले भन्यो, ‘लाहानमा पटक–पटक सनम, नरेन्द्र र मोहनलाई यातना दिइएको थियो ।’ प्रहरीले दिएको जानकारी अनुसार यातना दिने क्रममा गाडीका ड्राइभरसमेत रहेका मल्लले पालैपाले ३ जनालाई कहिले करेण्ट लगाउने, कहिले कुटपिट गर्ने जस्ता यातना दिएका थिए ।

लाहानबाट सुन गायव भएको विषयमा कुनै सूचना प्राप्त गर्न नसकेपछि तस्करीका नाइके काठमाडौं फर्किएका थिए भने अन्य व्यक्तिह? २ दिनसम्म इटहरी र धरानमा बसेका थिए । त्यसबीचमा पनि तस्करहरूले उक्त समूहलाई निरन्तर ‘टर्चर’ दिइरहेको थियो । १७ गते बेलुका तस्करीका नाइकेका केही व्यक्तिसहित सनमसहितको टोलीलाई लिएर हत्या भएको स्थान उर्लाबारी–१ स्थित कान्छीचोक उत्तर सोल्टी खोला किनारको जंगलममा पुगेका थिए ।

सोही स्थानमा सनमको हत्या भएको हो । ‘हत्या भएको स्थानमै खाना तथा खाजा खाएको र बियरको बोतल भेटिएको छ,’ मोरङका प्रहरी प्रमुख एसपी अ?णकुमार बिसीले भन्नुभयो, ‘त्यहाँ रातभर र भोलिपल्ट अबेरसम्म यातना दिने क्रममा समनको मृत्यु भएको अनुमान छ ।’

२४ घण्टा शव कहाँ राखियो ?

सनमको मृत्यु भएपछि मोहन र नरेन्द्रलाई पनि यातना दिन बन्द भयो । नरेन्द्र र मोहनलाई करेण्ट लगाएको र कुटपिट गरेको निलडाम अझै रहेको प्रहरी स्रोतको भनाइ छ । सनमको मृत्यु भइसकेपछि उनको शव, नरेन्द्र र मोहन लिएर ड्राइभर टेकराजमल्ल जंगलबाट निस्किएका थिए । त्यसपछि उनीहरु सनमको शव सीमा कटाउने उद्देश्यले दक्षिणतर्फ लागेका थिए ।

टेकराजले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म धरान र विराटनगरकै आसपासमा गाडीभित्रै शव राखेर डुलाएको २४ घण्टापछि प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान व्युरो (सिआइबी) र मोरङ प्रहरीको संयुक्त टोलीले विराटनगर–३ बाट गाडीमा राखिएको शव बरामद गरेको थियो ।

प्रहरीले ड्राइभर टेकराज मल्ललाई शव राखेर ल्याउँदै गरेको बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीसहित पक्राउ गरेको थियो । सोही गाडीको पछाडि रहेको मे १ च ५३९५ नम्बरको टाटा जेनन गाडीबाट नरेन्द्र र मोहन पक्राउ परे । दुबै गाडी कसको हो भन्ने प्रहरीले खुलाएको छैन ।

पछिल्लो गाडिबाट प्रहरीले अभियुक्तहरुले सनमलाई करेन्ट लगाउन प्रयोग गरेका विभिन्न सामान र अन्य बन्दोबस्तीका सामानसमेत बरामद गरेको थियो ।

कहाँ गयो ३३.५ किलो सुन ?

प्रहरी उच्च स्रोतले नै ३३.५ सुनको कारण सनमको हत्या भएको जानकारी दिएको भएपनि सुन कहाँ गयो भन्ने विषयमा केही बताउन सकेको छैन । ३३.५ किलो सुन तस्करीका मुख्य नाइके चिनियाँ नागरिक भएको आशंका छ । स्रोतका अनुसार उच्च पदस्थ प्रहरी अधिकारी, राजनीतिक दलका नेता तथा अन्तराष्ट्रिय दबाबका कारण उनलाई पक्राउ गर्न सकिएको छैन ।

३३.५ किलो सुनको विषयमा हत्या भएको घटना सार्वजनिक गर्ने प्रहरीका लागि सुनको बारेमा अनुसन्धान गर्नुपर्ने दबाब पनि बढेको छ ।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको बताउँदै पक्राउ परेकाहरु विरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट आइतबार म्याद थप गरेको जनाएको छ ।

सनमको शव बरामद भएको गाडि र बरामद स्थल

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes