विराटनगर, १७ फागुन । १८ वर्षे युवा । पहिलो पटक अभियन गर्न स्टेज चढ्दा थरर्र खुट्टा काम्यो । पत्रकारसँग अन्तरवार्ता दिने मन्त्रीको रोलमा कलाकारले अभिनय गर्नुपर्ने थियो । डर र त्रासलाई अभिनयकर्ताले मन्त्री नै पत्रकारसामू खुट्टा कमाएको रोल देखाए, दर्शकले ताली बजाए अभिनय उत्कृष्ट भयो ।
उल्लेखित कथा विराटनगरका कलाकार रामभजन कामतको अभिनय क्षेत्रमा पहिलो पटक प्रवेश गर्दाको हो । ०५७ सालमा आफू पढ्ने कलेजमा नाटक प्रदर्शन गर्नुपर्ने भयो । त्यसमा उनले मन्त्रीको भूमिकामा पत्रकारलाई अन्तरवार्ता दिएका थिए । नाटक सक्दा कलेजका शिक्षक तीर्थ घिमिरेले उनी डराएको थाहा पाए र सुझाव दिए, ‘तिमिले डरलाई इनर्जी दियौं, तिमिले यो क्षेत्रका उत्कृष्टता हासिल गर्न सक्छौं भन्ने लाग्यो, तिमी कलाकारिता मार्फत देशलाई सेवा गर ।’
उनै तीर्थ सरको प्रेरणा पाएर नाटक क्षेत्रमा लागेका कामत त्यसपछि नाटकको क्षेत्रलाई छोड्नै सकेनन् । एक दिनको कुरा हो । नाटकको दौरानमा उनी विराटनगरबाट ‘आब कोन चलाउ’ नामक नाटक प्रस्तुत गर्न जनकपुर गए । अघिल्लो दिन राती पुगेका उनलाई खबर आयो ‘तिम्रा जेठानको विदेशको भूमिमा मृत्यु भयो ।’ उनलाई असैह्य पिडा थियो तर नाटकमा मानिस हसाउनुपर्ने उनकै रोल थियो । उनले असैह्य पीडालाई लुकाएर पुनः उत्कृष्ट नाटक प्रस्तुत गरे । ‘मेरो जीवनमा कहिल्यै नबिर्सने घटना हो त्यो,’ उनले त्यस बेलाको सम्झना गर्दै भने, ‘कलाकारले जहिले पनि नाटकमा जीवन्तता दिनुपर्छ, त्यसमा म अहिलेसम्म फिट छु ।’
नाटकका अनगिन्ती श्रृंखला छन् कामतसँग । उनले विराटनगरमा २०६२ सालमा १८ दिनसम्म चलेको महोत्सवमा प्रत्येक दिन फरक–फरक विषयमा १८ वटा नै नाटक गरेका थिए । अहिलेसम्म उनले ३२ वटा स्टेज ड्रामा, १२ वटा फिल्म र डकुमेन्ट्री निर्माण, ३ वटा रेडियो ड्रामा, १ सय १५ वटा विषयमा ८ सयभन्दा बढी सडक नाटक गरिसकेका छन् भने दर्जन बढी सम्मान पनि थापिसकेका छन् ।
उनलाई नाटकमा जुन पात्र बनाइएको छ त्यसमा वास्तविक देखिनु पर्छ भन्ने मात्रै ध्यान हुन्छ । ‘पात्रलाई इमान्दार भएर निभाउन सकिएन भने, उ प्रति अन्याय हुन्छ,’ उनले भने । उनको अभियनयात्रामा प्रसंशकहरु थुप्रै छन् । ‘मलाई देखेपछि मलाई पछ्याउने पनि बढेका छन्,’ उनले भने । कामतले विभिन्न स्टेजमा ‘बहादुरपुरको दन्त्यकथा’, ‘कर्नाली दख्खिन बग्दो छ’, ‘कर्फ्यु’, ‘अन्धाको हात्ती’, ‘महाकन्जुस’ जस्ता नाटकमा अभियन गरेका छन् ।
नेपाली, मैथिली, भोजपुरी भाषामा पनि कामत उत्तिकै निपूर्ण छन् । हरेक भूमिकामा हरेक भाषामा कला भर्न सक्ने गुण उनमा छ । एउटै भाषाले मान्छेलाई निपुर्ण बनाउला तर अलग भाषामा काम गर्ने मान्छे परिपूर्ण हुन्छ भन्छन् उनी । आफूसँग भएको मैथिली संस्कारको मिठासलाई कलासँग मिसाएको कारण पनि नाटक अझै रमाइलो हुने गरेको उनी सुुनाउँछन् । ‘नाटक भनेको बारी हो, तोरी छरिएपछि मात्र बारी पहेंलपुर हुन्छन्,’ उनी भन्छन् ।
नाटक गरेर पैसा नहुने कुरा उनलाई राम्रै थाहा थियो । तर, अहिलेसम्म उनले आफ्नो काम छाडेका छैनन् । ‘हाम्रो देशमा नाटक क्षेत्र अहिले पनि रमाईलोले नै टिकेको छ,’ उनले भने, ‘यो एक नशा हो, रक्सी वा चुरोटको नशा बरु छुट्ला, नाटकको हत्पति छुट्दैन ।’ उनले १२ वटा फिल्म तथा डकुमेन्ट्रीमा अभिनय पनि गरिसकेका छन् । कुनै प्रदर्शनीमा आएका छन् भने कुनै आएका छैनन् ।
उसपटक उनी अभिनित चलचित्र ‘नाका’ प्रदर्शनमा आउँदैछ । उनले पूर्वाञ्चलको पहिलो मैथिली फिल्म ‘प्रेमसफल’ गरेका हुन् । अरुले जस्तो उनले धेरै विज्ञापन पनि गरेका छैनन् । ‘म यो फिल्मको प्रदर्शनपछि केन्द्रमा जम्न सक्छु भन्ने लागेको छ,’ उनले भने, ‘आफूले अभिनय गरेको मध्ये नाका फिल्ममा उच्चतम मेहनत गरेको छु ।’ कामतको नाट्य यात्रा अझै कसिलो बन्दै गएको छ । त्यति मात्रै होइन उनी अब चलचित्रको पर्दामा पनि देखिने छन् । चलचित्र ‘नाका’ फागुन १८ गतेदेखि प्रदर्शन हुँदैछ । ‘आफैंले आफ्नो चलचित्र सिनेमा हलमा हेर्न पाँउँदैछु, एकदमै खुसी छु,’ उनले भने । अहिलेका चर्चित कलाकार विपीन कार्कीसँग उनले नाटक खेलेका रहेछन् । जसको कारण पनि उनी धेरै खुसी छन् । गुरुकुलको पाटोबाट हेर्दा काठमाडौंको गुरुकुल बन्द भएपछि विराटनगरको जरा हल्लिएको रुख जस्तो मात्र भएको उनी बताउँछन् । जरा हल्लीएको रुखमा हामीले पाउला पलाउने हिम्मत नगरेका कारण त्यसको असर अहिले पनि विराटगरको गुरुकुलमा देख्न सकिने उनको भनाइ छ । मोफसलमा रहेर पनि केन्द्रमा चिनिएका कामत अहिले राजधानी भाषिने तयारी गरिहेका छन् । ‘सांस्कृतिक संस्थानको नाच घरमा जागिर हुने भयो,’ उनले भने, ‘अब काठमाडौंमा मेरो नाटक यात्रा सुरु हुनेछ ।’