भन्सार घोटलामा संलग्नलाई मुद्दा - Pahilo Online

भन्सार घोटलामा संलग्नलाई मुद्दा

writer

विराटनगर, १६ फागुन । राष्ट्रिय बाणिज्य बैंक सुख्खा बन्दरगाहा रानी विराटनगरमा भएको १० करोडको बैंक घोटला प्रकरणमा पक्राउ परेका २ जना बैंक कर्मचारीलाई प्रहरीले मुद्दा चलाएको छ ।

मोरङ प्रहरीले घटना अनुसन्धानका क्रममा पक्राउ परेका राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय प्रमुख विष्णुप्रसाद निरौला र बैंक काउन्टरका इन्चार्ज बरिष्ठ सहायक तोर्णराज राउत विरुद्ध बिहीबार मुद्दा दर्ता गरेको छ । बैंकिङ कसुर र सजाय ऐन २०६४ बमोजिम उनीहरु विरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । बैंकका प्रमुखलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो भने काउण्टर इञ्चार्ज राउतलाई फागुन २ गते पक्राउ गरेको मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पक्राउ परेका कर्मचारीलाई म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए । भन्सारको ९ करोड ६१ लख ५५ हजार रुपैयाँ अपचलनमा भन्सार एजेन्ट सुरेश बोहरा र ललित बोहरासँग मिलेमतोको पुष्टि भएपछि बैंक कर्मचारीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । एजेन्ट बोहरा दाजुभाई भने फरार छन् । उनीहरुको तब्रि खोजी कार्य भइरहेको एसपी बिसीले बताए ।

भारत र तेस्रो मुलुकबाट आयात भएका सामान जाँचपासका क्रममा वाणिज्य बैंकका कर्मचारीले भन्सार क्लियरेन्स रिसिप्ट भन्सार एजेन्टलाई दिएको र एजेन्टले बैंकका कर्मचारीलाई उपलब्ध गराएको चेकमा पर्याप्त रकम रहेको नभएको पाइएको छ । एजेन्टले विभिन्न बैंकको चेक दिएपनि खातामा पर्याप्त रकम छ कि छैन्न भन्ने विषयमा नबुझिकन वाणिज्य बैंकका कर्मचारीले एजेन्टलाई क्लियरेन्स दिएका कारण घटनामा बैंकका कर्मचारीको संलग्नता पुष्टि भएको प्रहरीको भनाइ छ ।

एजेन्टले नबिल, सिटिजन, एबिआई, सिद्धार्थ, नेपाल बंगलादेश बैंकको गरेर ८ वटा एकाउन्ट पे चेक वाणिज्य बैंकमा बुझाएका थिए । तर, एजेन्टको खातामा पर्याप्त रकम नभएको पाइएको थियो । भन्सारमा गुड फर पेइमेन्ट चेक वा मेनेजर चेकका आधारमा मात्रै कारोवार हुने नियम छ ।

एकाउन्ट पे चेककै भरमा कारोवार हुनु पनि गल्ती भएको प्रहरीको भनाइ छ । पुस ९ गतेदेखि माघ १९ गते सम्म ४९ वटा कम्पनी एवं व्यवसायीहरुको नाममा कारोबार भएको थियो । ती मध्ये ४६ वटाको कारोवार एजेन्ट बोहरा दाजुभाईले गरेका थिए । प्रहरीले उक्त समयमा कारोवार गरेका कम्पनी एवं व्यवसायीहरुलाई कारोवारको भुक्तानी सम्बन्धमा जानकारी दिन आग्रह पनि गरेको छ । व्यवसायीलाई हतोत्साही बनाउन नभइ मुद्दालाई दरिलो बनाउन सहयोग गर्न आग्रह गरिएको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes