प्रहरी ‘इन्काउन्टर’मा मारिए मनोज पुन - Pahilo Online

प्रहरी ‘इन्काउन्टर’मा मारिए मनोज पुन

writer

पहिलो अनलाइन

काठमाडौं, ९ फागुन । हत्या र चन्दा आतंक मच्चाउँदै आएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका भवानीपुरमा उनी प्रहरीको गोलीबाट मारिएका हुन् । पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीको गोली लागेर उनी मारिएको प्रहरीले जनाएको छ । 

रुपन्देहीका एसपी श्याम ज्ञवालीका अनुसार रुपन्देहीको देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग आमनेसामने भएपछि उनले गोली प्रहार गरेका थिए । पुनसँगै उनका सुटर सोमबहादुर आलेको पनि मृत्यु भएको छ । दुवैको शव रुपन्देहीको अञ्चल अस्पतालमा राखिएको छ ।
सीआईबीको टोलीले मनोज पुनको समूह नेपालमै लुकिछिपी बसेको सूचना दिएपछि रूपन्देही प्रहरीले सम्भावित स्थानहरुमा खोजी गर्दै जाँदा प्रहरीसँग आमनेसामने भएको र प्रहरीलाई आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।
अपराधका लागि मिटिङ गरिरहेको स्थानमा फेला परेको प्रहरीको दाबी छ । एसपी ज्ञवालीका अनुसार मनोज पुन कुनै गम्भीर घटनाको लागि नेपाल आएका थिए । सोही सूचना नेपाल प्रहरीले पाएको थियो । उनीहरुको साथबाट प्रहरीले पेस्तोल हतियार समेत बरामद गरेको छ ।
घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । पुन विगत ३ वर्षदेखि प्रहरीको मोष्ट वान्टेड सूचीमा थिए ।
गत वर्ष देवदहमा भएको युवा संघका नेता दुर्गा तिवारीको हत्याको मुख्य आरोपी पुनको असोजमा काठमाडौंमा भएको शरदकुमार गौचनको हत्यामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेल ‘बलु’ को हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए ।
३० वर्षीय मनोज पुन रुपन्देही जिल्लाको देवदह नगरपालिका–६ निवासी हुन् । उनको वास्तविक नाम मनोज बुढामगर हो । उनी कुनै बेला एमालेको ‘युथ फोर्स’ गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes