ओली राष्ट्रवादमा दौराको सुर्काउनी - Pahilo Online

ओली राष्ट्रवादमा दौराको सुर्काउनी

writer

रोहेज खतिवडा

नेकपा एमालेका अध्यक्ष केपी ओलीको दौरासुरुवाल मोह फेरि एक पटक अभिव्यक्त भएको छ । दोस्रो पटक प्रधानमन्त्री बनेलगत्तै उनले एमाले सांसदहरूलाई दौरासुरुवाल र साडीचोलो लगाउन उर्दी जारी गरे । उनले आफ्नो पार्टीका सांसदलाई भने, ‘यसो हेर्दा पनि माननीयजस्तो हुनुप¥यो ।’ अर्थात् सांसदहरू आम जनताभन्दा भिन्नै र विशेष मान्छेजस्तो देखिनुपर्छ भन्ने उनको चाहना छ । यसअघि २०७० सालको संविधानसभा निर्वाचनपछि पनि उनले यस्तो उर्दी जारी गरेका थिए । यसबेला उनको राष्ट्रवाद अहिलेजस्तो मुखर भइसकेको थिएन, अलि सुषुप्त नै थियो । उनी नेपालको झण्डा उपहार बाँडिरहेका थिए । उनको राष्ट्रवाद संविधानसभाबाट नयाँ संविधान जारी गर्ने बेला मुखर भएको थियो ।
संयोग नै हुनुपर्छ, यही वर्ष केही युवाहरूले दौरासुरुवाललाई राष्ट्रिय पोशाकका रूपमा पुनः मान्यता दिन माग गरे । राष्ट्रिय पोशाक दिवसका नाममा उनीहरू एक दिन अर्धनग्न सडकमा निस्किए । यसले समाजिक सञ्जालमार्फत धेरैको ध्यान आकृष्ट ग¥यो । दिवसका आयोजकहरूले दौरासुरुवाललाई राष्ट्रियता र स्वाभिनसँग जोडेका थिए । दौरासुरुवाललाई राष्ट्रिय पोशाक बनाए नेपाली राष्ट्रियता बलियो हुने, नेपाली स्वाभिमान उच्च हुने अनि नबनाउँदा राष्ट्रियता कमजोर भइहाल्ने र स्वाभिमान झुकिहाल्ने हुन्छ र ? तर, यही भाष्यले थुप्रै नेपाली युवाहरूलाई आकर्षित ग¥यो । केही वर्षभित्रै तथाकथित राष्ट्रिय पोशाक दिवस टोपी दिवसमा रूपान्तरित भयो । अँग्रेजी नयाँ वर्षका दिन शिरमा ढाकाटोपी ढल्काउने र फेसबुकमा पोस्ट गर्ने फेसन नै बनेको छ । यही फेसनमा केही नेपाली युवाहरू स्वाभिमानको आत्मरति गरिरहेका छन् ।
दौरासुरुवाललाई पुनः नेपाली राष्ट्रिय पोसाक घोषणा गर्ने माग र एमाले अध्यक्ष ओलीभित्रका राष्ट्रवाद एकैसाथ सुरु भए । दौरासुरुवालको माग टोपी दिवसमा परिणत भयो । ढाका टोपीलाई राष्ट्रियताको प्रतिक भन्दै यसले हिमाली शेर्पाहरूले बख्खुसँग लगाउने ठूलो टोपीदेखि मधेसीहरूको गाम्छासम्मलाई यसले राष्ट्रिय प्रतिक बन्नबाट बहिष्करण ग¥यो । यता ओली राष्ट्रवादले मधेसी समुदायको आन्दोलनलाई दमन गर्दै मधेसी जनताको भावनालाई कुल्चँदै नयाँ संविधान जारी ग¥यो । यतिबेला प्रमुख तीन दल एमाले, माओवादी र काँग्रेस एकैठाउँमा उभिएका थिए । संविधान जारी भएलगत्तै नेपाली काँग्रेस अलग कित्तामा उभिन पुग्यो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको गठबन्धनमा एमाले अध्यक्ष ओली पहिलो पटक प्रधानमन्त्री बने । यतिबेला नेपालमा भारतले नाकाबन्दी लगाइरहेको हुनाले भारतविरोधी भावना चुलिएको थियो । प्रधानमन्त्रीका रूपमा ओलीले यो भारतविरोधी भावनालाई आत्मसात गरे तर आन्दोलनरत मधेसी र थारु समुदायको मन जित्न सकेनन् । यी घटनाक्रमसँगै उनको राष्ट्रवादी र मधेसविरोधी दुवै छवि एकएक उचाइमा पुग्यो । उनले प्रधानमन्त्रीको ९ महिने कार्याकालमा आन्दोलनरत मधेससँगको सम्बन्ध सहज बनाउन सकेनन् । जुन असहजता बहुमत प्राप्त वाम गठबन्धनका नेताका रूपमा दोस्रो पटक प्रधानमन्त्री हुँदासम्म कायमै छ ।
भारतले लगाएको नाकबन्दीलाई नै आफ्नो आन्दोलनका रूपमा स्वीकार गरे । आन्दोलनबाट आर्जित शक्तिका भरमा भारतीय प्रधानमन्त्री मोदीले नेपालसँग आफ्नै किसिमको बार्गेनिङ गरे । आन्दोलनबाट आर्जित शक्ति मधेसी नेताहरूको हातमा रहेन । उनीहरू शक्तिहीन भए । बाध्य भएर संविधान स्वीकार गरे र यही संविधानअन्तर्गत हुने चुनावमा भाग लिन आइपुगे । यसबीचमा ओलीको राष्ट्रवादी र मधेसविरोधी दुवै छविमा तील जतिको पनि अन्तर आएको छैन । जनसंख्याको ठूलो हिस्साको असन्तुष्टि समाधान गर्न नसक्ने ओली कसरी राष्ट्रवादका ट्रेडमार्क बन्न पुगे ? यो विचरणीय पक्ष नै छ । उनै अध्यक्ष ओली आज प्रधानमन्त्रीका रूपमा दौरासुरुवाललाई अनिवार्य गर्न कस्सिएका छन् ।
दौरासुरुवालको इतिहासबारे अहिलेसम्म कुनै गहन अध्ययन भएको पाउन सकिँदैन । यो केही सय वर्ष पुरानो लुगा हुनसक्छ भन्ने अनुमान छ । एक साप्ताहिक म्यगजिनमा प्रकाशित लेखमा पत्रकार केदार शर्माले दौरासुरुवाल कम्तीमा एक शताब्दी पुरानो भएको अनुमान गरेका छन् । उनले लेखेका छन्– ‘पुराना फोटाहरू केलाउँदा पृथ्वी वीरविक्रम शाहका पालासम्म पनि राजाले दौरा–सुरुवाल लगाएका तस्बिर भेटिँदैनन्, बरू जामा लगाएका वा अलिपछि पश्चिमा ढाँचाका राजसी पोशाक लगाएका भेटिन्छन् । केही घरेलु तस्बिरमा दरबारियाहरूले कुर्ता वा कमिज लगाएको देखिन्छ । आम नागरिकले चाहिँ कम्तीमा सय वर्षअघिदेखि दौरा–सुरुवाल लगाउँथे भन्ने कुराको प्रमाण साथको तस्बिर पनि हो ।’ यससँगै सन् १९०८ मा चन्द्रशमशेरको बेलायत यात्राका क्रममा खिचिएको उनको नोकरचाकरको तस्बिर भन्दै एक तस्बिर पनि प्रकाशित छ ।
शर्माका अनुसार दौरासुरुवाल लगाउने पहिलो राजा त्रिभुवन हुन् । भारतमा गान्धीले जनताका लुगा लगाएर क्रान्तिको नेतृत्व गरेकोबाट प्रभावित हुँदै त्रिभुवनले पनि जनताको लुगा दौरासुरुवाल लगाएका थिए । यसबाट त्यतिबेलासम्ममा काठमाडौँ उपत्यका र वरपर पहाडका धेरै जनता दौरासुरुवाल लगाउँथे भन्ने देखिन्छ । राजाले प्रयोग गर्न थालेपछि स्वतः नेपालको औपचारिक पोशाक दौरासुरुवाल बन्यो । पञ्चायतकालमा यसले राष्ट्रिय पोशााकको मान्यता पायो, जुन पहिलो संविधानसभाको निर्वाचनको समयसम्म रहिरह्यो । माओवादी आन्दोलन तथा २०६२ ।६३ को जनाआन्दोलनपछि दौरासुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाइयो । पहिलो संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक दौरासुरुवाल नलगाई प्रधानमन्त्रीको रूपमा शपथ लिए । यसलाई बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा पनि निरन्तरता दिएका थिए । यसबीच एकपटक सरकारले दौरासुरुवाललाई राष्ट्रिय पोशाक घोषणा ग¥यो र अन्तरिम संविधानका आधारमा सर्वोच्च अदालतले यसलाई खारेज ग¥यो । प्रतिकहरूमा राष्ट्रियता देख्न बानी परेका हामीलाई यसले अलि असजिलो बनाएको थियो ।
विक्रम संवतको पहिलो दशकसम्म नेपाललाई चिनाउन कुनै प्रतीकको जरुरी थिएन । त्यसैले यतिबेला सरकारबाट घोषणा गरिएका कुनै पनि प्रतिकहरू थिएनन् । पछिल्लो समय राष्ट्रको पश्चिमा अवधारणाबाट दक्षिण एसियाली समाज प्रभावित हुँदैगयो । खासगरी भारत यो अवधारणाबाट सबैभन्दा बढि प्रभावित थियो । विशाल भू–खण्ड, विशाल जनसंख्या र एकदमै अलगअलग संस्कृति भएको भारतमा ‘राष्ट्र’को युरोपेली अवधारणा हुबहु लागू गर्न सम्भव थिएन । तैपनि नयाँ भारत निर्माण गर्ने क्रममा धेरै युरोपेली अवधारणाहरूबाट उनीहरू प्रभावित थिए । युरोपेली उपनिवेशवाद प्रत्यक्ष भोग्नु नपरे पनि नेपाल पूर्णरूपमा अछुतो थिएन । हरेक युरोपेली (खासगरी अँग्रेजी) अवधारणा तथा ज्ञानहरू भारतको बाटो नेपाल छिरिरहेकै थिए । राष्ट्रको युरोपेली अवधारणा यसैगरी नेपाल आइपुग्यो । पञ्चायती नीतिमा अभिव्यक्त भयो, ‘एक भाषा एक भेष एक संस्कृति’को नाममा । यसरी युरोपेली ढर्राको राष्ट्र बनाउन हामीलाई चाहिएको ‘एक भेष’को ठाउँ दौरासुरुवालले पायो । स्वभाविक छ, यही त्यतिबेला राजाको नजरमा परेको नेपाली पाराको पोशाक थियो ।
हामी अलगअलग भाषा, धर्म, जाति, संस्कृति एकसाथ बस्नुपर्नेछ । एकसाथ अघि बढ्नु पर्नेछ । विविधतायुक्त ‘देश’लाई ‘राष्ट्र’मा रूपान्तरण गर्नु सम्भव छैन । युरोपेली राष्ट्रवादको नक्कल गर्दा हामीलाई राष्ट्रिय भाषा चाहियो, सरकारी कामकाजको भाषाले मात्रै पुगेन । राष्ट्रिय धर्म चाहियो । राष्ट्रिय संस्कृति चाहियो । राष्ट्रिय फूल, राष्ट्रिय पोशाक, राष्ट्रिय रङ, राष्ट्रिय जनावार माग भयो । तर यी सबै प्रतीकहरू कहिल्यै सबै जनताका आफ्ना हुन सकेनन् । भारतीय उपमहाद्वीपका सबै मुलुकहरू विविधताले भरिएका छन् । यी प्रतीकहरूले यो विविधता अभिव्यक्त गर्नै सक्दैनन् । हरेक एउटा प्रतीकले एक किसिमको समुदाय र संस्कृतिको प्रतिनिधित्व गर्छ, बाँकी सबैलाई बहिष्करण गर्छ ।
पञ्चायतकालमा राष्ट्रको यही अवधारणा अनुसारको नेपाल बनाउने प्रयास भयो । हिन्दू धर्म, खस नेपाली भाषा, शाहवंशीय राजतन्त्र आदि नेपाली राष्ट्रियताका प्रतीकका रूपमा व्याख्या गरियो । यसले समाजमा बहिष्करण (एक्सक्लुजन)को समस्यालाई अझ गहिरो बनायो । थुप्रै जनजातिहरू भाषिक र धार्मिक बहिष्करणमा परे, मधेसीहरू भाषिक र क्षेत्रीय बहिष्करणमा परे । पुरानो जातप्रथाविरुद्ध कानुन बने पनि कार्यान्वयन हुन सकेन । समाजमा जाति व्यवस्थाले अझ बलियोसँग जरा हाल्यो । यसले दलितहरूमाथिको दलन नयाँ स्वरूपमा अगाडि बढ्यो भयो । बहिष्करणको यो सवालमाथि जनआन्दोलनअघि दलहरूले गम्भीरतापूर्वक छलफल गरे । सङ्घीयताको आवश्यकता यसैकारण महसुस भएको थियो । १२ बुँदे सम्झौता र विस्तृत शान्तिसम्झौतामार्फत यो बहिष्करणको समाधान गर्ने प्रण भयो । यो गति धेरै समय रहेन । पहिलो संविधानसभा विघटन भएपछि नै दौडको दिशा फेरियो । हामी फेरि तिनै प्रतीकहरू खोज्न थाल्यौँ, जुन हिजो पञ्चायती राज्यसत्ताले निर्माण गरेको थियो । हामी आफूलाई त्यस्तै नेपाली सम्झिन थाल्यौँ, जुन हिजो पञ्चायती राज्यमा थियौँ । हामी फेरि नेपालीपनलाई दौरासुरुवालमा देख्न थाल्यौँ ।
दौरासुरुवाल सामन्तको लुगा भएर, राजाको लुगा भएर अथवा गैरनेपाली भएर राष्ट्रिय पोशाक नबनाऊँ भनिएको होइन । दौरासुरुवालले सबैको प्रतिनिधित्व गर्न सक्दैन । समावेशी नेपाल निर्माण गर्ने हो भने धेरै समूहलाई बहिष्करणको भान गराउने यस्ता प्रतीकहरू प्रयोग गर्न सकिन्नँ । किनभने, दौरासुरुवालले न हिमालका शेर्पालाई समेट्न सक्छ, न तराईका मधेसीको प्रतिनिधित्व गर्न सक्छ । अहिले हामीले भनिरहेको र बनाउन चाहिरहेको समावेशी नेपाललाई कुनै एक किसिमको प्रतीकले अभिव्यक्त गर्न सक्दैन । प्रधानमन्त्रीज्यूलाई आफ्ना सांसदहरू ‘माननीय’ जस्तो देखिनै पर्छ भन्ने लागेको भए ‘आ–आफ्ना परम्परागत पहिरन लगाएर आउनु’ भनेको भए पनि हुन्थ्यो । सबैले मौसमले साथ दिनेसम्म आफ्ना परम्परागत पोशाक प्रयोग गर्नसक्थे । यसले नेपालको विविधतला झल्काउने थियो । के धोती–कुर्तामा उभिएको एक नेपालीलाई प्रधानमन्त्री ओलीको आँखाले माननीयजस्तो देख्नै सक्दैन ?
प्रधानमन्त्री ओली दौरासुरुवालको तुनाको सुर्काउनी कसेर राष्ट्रवादको राग अलाप्दै हुनुहुन्छ । तर, यसले बहिष्करणको रोग बल्झाउँदै छ । यस्तो देखिन्छ कि दौराका आठ तुनामा दुई बाँध्न खोज्दा अरू दुई खुस्किँदैछन् । धेरै नेपालीले राज्यले स्थापना गरेका प्रतीकमा आफ्नो प्रतिविम्ब देखेनन् भने त्यो राष्ट्रवादले मुलुकलाई जोड्छ कि तोड्छ ? राष्ट्रियता र राष्ट्रिय एकता प्रतीकहरूमा खोज्नु विविधतायुक्त देशमा कठिन छ । हामी राष्ट्रियताको पश्चिमा परिभाषाबाट मुक्त हुन जरुरी छ । हामी आफ्नोपनमा बाँच्ने हो भने उपनिवेशवादको ह्याङबाट मुक्त हुन आवश्यक छ । विविधतायुक्त देशलाई एकतामा बाँध्ने नयाँ सूत्र पहिल्याउनु छ । हामीलाई त यस्तो साझा सपना चाहिएको छ, जसले हामीलाई एउटा भावनामा बाँधोस् र हाम्रो विविधतामा गर्व गर्न सिकौँ । प्रतीकमाथिको गर्व आत्मरति मात्र हुन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes