दुई ठूला बाम एक भए - Pahilo Online

दुई ठूला बाम एक भए

writer

एमाले र माओवादीबीच ७ बुँदे सहमति

काठमाडौं, ८ फागुन ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माण गर्ने सहमति गरेका हुन्।

एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ।

 ‘नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ’, सहमति पत्रको तेस्रो बुँदामा भनिएको छ।

 नेकपा (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने दुई पार्टीले सहमति गरेका छन्।

उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति भएको छ।  प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्टियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिने छैठौं बुँदामा सहमति भएको छ।

‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ’, अन्तिम बुँदामा भनिएको छ।

शनिबार र आइतबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भएको ‘वान अन वान’ वार्तापछि आज एकता संयोजन समिति बैठक बसेको थियो। दुई अध्यक्षबीच एक्लाएक्लै वार्तामा पार्टी एकताका लागि सम्पूर्ण विषयमा कुरा मिलेपछि संयोजन समितिबाट टुंगो लगाउन बैठक डाकिएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६० र ४० को अनुपातमा उम्मेदवारी भागबन्डा गरेर एमाले र माओवादी केन्द्रले चुनावी सहकार्य गरेका थिए।  प्रदेशसभा सरकार गठनमा दुई पार्टीले पदको बाँडफाँट अनुपात ७० र ३० मा मिलाएका थिए।

राष्ट्रियसभा सदस्यमा दुवै दलले दुईतिहाइ र एकतिहाइ हुनेगरी  सिट बाँडफाँट गरेका सहकार्य गरे। पार्टी एकताका प्राविधिक विषय टुंगो लगाउन दुई पार्टीले एकता संयोजन समिति गठन गरेका थिए। पार्टी एकता संयोजन समितिमा एमालेबाट केपी ओली,  झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र माओवादीबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहेका छन्।

असोज १७ गते दुवै दलले पार्टी एकता गर्ने घोषणासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका थिए।

संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री

एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई-साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामीबीच भएको छ,’ बैठकपछि नेता खनालले अन्नपूर्णसँग भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थु्र हो।’

एमालेकै अर्का नेता प्रदीप ज्ञवालीले एकीकृत पार्टीको नेतृत्व भने द्विअध्यक्षात्मक प्रणालीका आधारमा दुवै अध्यक्षले संयुक्त रूपमा गर्ने समझदारी भएको बताए। ‘एकीकृत पार्टीमा दुई जना (ओली र दाहाल) अध्यक्ष हुनुहुनेछ, द्विअध्यक्षात्मक प्रणालीमा उहाँहरूले संयुक्त रूपमा पार्टीको नेतृत्व गर्नुहुनेछ’, ज्ञवालीले अन्नपूर्णसँग भने।

दुई कार्यदल गठन

एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन्। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।

त्यस्तै, अन्तरिम विधान र संगठनात्मक ढाँचा तयार पार्न सात सदस्यीय कार्यदल गठन भएको छ। कार्यदलमा रामबहादुर थापा, ईश्वर पोखरेल, वर्षमान पुन, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठ र गिरिराजमणि पोखरेल छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes