पथरीशनिश्चरे । सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक गरी पीडित परिवारलाई न्याय र सन्तुष्टि दिन सरकारले खोजी तथा अनुसन्धानलाई अझै प्रभावकारी बनाउनुपर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–७ का वडाध्यक्ष उद्धवराज बस्नेतले जोड दिएका छन् ।
बलपूर्वक बेपत्ता पारिएका पीडितहरूको १६औँ अन्तर्राष्ट्रिय दिवस २०२६ को अवसरमा भदौ १४ गते वडा कार्यालय परिसरमा आयोजित वृक्षरोपण तथा दीप प्रज्वलन कार्यक्रममा बोल्दै वडाध्यक्ष बस्नेतले वर्षौं बितिसक्दा पनि आफ्ना आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारको पीडालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताए ।
‘द्वन्द्वका क्रममा देशमा परिवर्तन र संघीय गणतन्त्र स्थापनाका लागि योगदान गरेका नागरिकहरू दुवै पक्षबाट बलपूर्वक बेपत्ता पारिए,’ उनले भने, ‘उहाँहरू बेपत्ता भएको लामो समय बितिसक्दा पनि परिवारले आफ्ना प्रियजनको अवस्था थाहा पाउन सकेका छैनन् । सरकारले यस विषयमा बृहत् रूपमा खोजी र अनुसन्धान गरेर परिवारलाई सन्तुष्टि दिनुपर्छ ।’ दिवसको अवसरमा वडा कार्यालयमा सहिद तथा बेपत्ता परिवार, जनप्रतिनिधि, कर्मचारी र स्थानीय समाजसेवीको सहभागितामा विभिन्न फूल तथा बिरुवा रोपिएको थियो । वृक्षरोपणसँगै बेपत्ता पारिएका तथा सहिदहरूको सम्झनामा दीप प्रज्वलनसमेत गरिएको थियो ।
वडाध्यक्ष बस्नेतले वृक्षरोपण र दीप प्रज्वलनलाई बेपत्ता तथा सहिदहरूको योगदानप्रति सम्मान व्यक्त गर्ने प्रतीकका रूपमा व्याख्या गरे । देशका लागि योगदान गरेका व्यक्तिहरूको स्मरण गर्दै रोपिएका फूल तथा बिरुवाले उनीहरूको योगदानलाई आगामी पुस्तासम्म सम्झाउने विश्वास उनले व्यक्त गरे । ‘उहाँहरूको सम्झनामा हामीले फूल रोपेका छौँ र दीप प्रज्वलन गरेका छौँ,’ उनले भने, ‘देशका लागि उहाँहरूले दिनुभएको योगदानको कदर होस् र उहाँहरूको आत्माले शान्ति पाओस् भन्ने हाम्रो कामना छ ।’
कार्यक्रममा वडाध्यक्ष बस्नेतले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको पीडासँगै पछिल्लो समय प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका नागरिकको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे ।
नेपालमा पछिल्लो समय बाढी, पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण धेरै परिवार प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिमा बेपत्ता भएका नागरिकको सकुशल उद्धारका लागि राज्यका सबै संयन्त्र परिचालन हुनुपर्ने बताए । ‘कहिले द्वन्द्वले त कहिले प्राकृतिक विपत्तिले हाम्रो देशलाई पटक–पटक मारमा पारेको छ,’ उनले भने, ‘प्राकृतिक विपत्तिका कारण बेपत्ता भएका नागरिक सकुशल भेटिऊन् र जोखिममा परेका सबैको उद्धार होस् भन्ने हाम्रो कामना छ ।’
उनले हालैको बाढी तथा अन्य प्राकृतिक विपत्तिमा बेपत्ता भएकाहरूको खोजीलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए । विभिन्न स्थानमा बाढीका कारण बेपत्ता भएका तथा जलविद्युत् आयोजना र पावर हाउस क्षेत्रमा फसेका व्यक्तिको सकुशल उद्धारका लागि सम्बन्धित निकायले प्रभावकारी काम गर्नुपर्ने उनको भनाइ थियो । ‘हामी असुरक्षित भूगोलमा बसोबास गरिरहेका छौँ । कहिले द्वन्द्वको चपेटामा पर्छौं, कहिले प्रकृतिको विपत्तिमा पर्छौं,’ उनले भने, ‘यस्ता घटना अब फेरि दोहोरिन नदिन राज्य र समाज दुवै तहबाट सचेत र जिम्मेवार भएर काम गर्नुपर्छ ।’
वडाध्यक्ष बस्नेतले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको खोजी र पहिचानसँगै पीडित परिवारलाई न्याय दिलाउने प्रक्रिया अझै प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे । लामो समयसम्म आफ्ना आफन्तको अवस्थाबारे अनभिज्ञ रहनुपर्दा बेपत्ता परिवारले भोगिरहेको मानसिक तथा सामाजिक पीडालाई राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका तर्फबाट सहिद धनञ्जय गिरीकी पत्नी रिता गिरी, सहिद यामबहादुर ठाडामगरका भाइ बालकुमार मगर ‘विकास’, सहिद कमल परियार ‘कुशल’का भाइ सञ्जय परियारलगायतको सहभागिता थियो । समाजसेवी देवीप्रसाद भेट्वाल, वडा जनप्रतिनिधि तथा कर्मचारीसमेत कार्यक्रममा सहभागी थिए ।
सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिकको सम्झना र उनीहरूको परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बेपत्ता परिवारका सदस्यहरूले आफ्ना आफन्तको अवस्थाबारे अझै पनि सत्यतथ्य सार्वजनिक हुन नसकेको पीडा व्यक्त गरेका थिए ।
दिवसको अवसरमा गरिएको वृक्षरोपणले वातावरण संरक्षणसँगै सहिद तथा बेपत्ता नागरिकको स्मृतिलाई जीवित राख्ने सन्देशसमेत दिएको आयोजकको भनाइ छ ।



