मोरङ । पूर्वी नेपालका गाउँ-बस्ती र सहरहरूमा यतिबेला एउटा संस्थाको निस्वार्थ सेवाभावले जनजीवनमा नयाँ आशा र उत्साह भरेको छ। त्यो संस्था हो– ‘सहयोगी नेपाल’ (Helper Nepal)। समाजमा बढ्दो साइबर अपराधको नियन्त्रण, प्राविधिक शिक्षामा विपन्न बालबालिकाको पहुँच, वनजङ्गलका खेर गएका स्रोतको उपयोग गरी स्वरोजगार सिर्जना, र लागू औषध विरुद्धको भावी योजनासहित सहयोगी नेपाल पूर्वी नेपालको सामाजिक आन्दोलनको पर्याय बनेको छ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय र मोरङको पथरीशनिश्चरेमा शाखा कार्यालय स्थापना गरी संस्थाले पछिल्ला वर्षहरूमा हासिल गरेको उपलब्धि अभूतपूर्व छ। केवल भाषण र कागजी योजनामा सीमित नभई प्रत्यक्ष फिल्डमा उत्रिएर गरिएको कामको नतिजा यतिबेला प्रदेश १ (कोशी), बागमती र मधेश प्रदेशसम्म फैलिएको छ।
मोरङको पथरीशनिश्चरेमा शाखा स्थापना गरेर सहयोगी नेपालले शैक्षिक परामर्श, प्राविधिक शिक्षासम्बन्धी अभिमुखीकरण, सीपमूलक तालिम तथा सामाजिक सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाको पछिल्लो अभियानमध्ये साइबर अपराधसम्बन्धी अभिमुखीकरण उल्लेखनीय छ। इलामको माई नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिकाअन्तर्गत करिब चार हजार विद्यार्थीलाई साइबर अपराधसम्बन्धी अभिमुखीकरण दिइसकेको संस्थाले जनाएको छ। झापामा पनि करिब छ हजार व्यक्तिलाई अभिमुखीकरण गरिएको छ।

अब इलाममा थप पाँच हजार र मोरङमा करिब १० हजार व्यक्तिलाई साइबर अपराधसम्बन्धी सचेतना दिने योजना संस्थाले बनाएको छ। पछिल्लो समय मोबाइल, सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका जोखिम पनि बढिरहेको अवस्थामा विद्यार्थी, अभिभावक तथा समुदायलाई डिजिटल सुरक्षाबारे सचेत बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको अध्यक्ष दयालाल राजवंशी (डीएल) बताउँछन्। ‘सचेतना नै साइबर अपराध नियन्त्रणको पहिलो आधार हो’ भन्ने मान्यताका साथ संस्थाले विद्यालय, स्थानीय तह र समुदायसँग सहकार्य गर्दै कार्यक्रम अघि बढाइरहेको उनको भनाइ छ।
शिक्षाबाट रोजगारीको बाटोसम्म
सहयोगी नेपालको अर्को महत्वपूर्ण क्षेत्र प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच विस्तार गर्नु हो। संस्थाले स्थानीय तहका जनप्रतिनिधि, विद्यालय, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया, गोष्ठी र सेमिनार सञ्चालन गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका अवसरबारे जानकारी दिँदै आएको छ।
सिटिइभिटीअन्तर्गत सञ्चालन हुने विभिन्न डिप्लोमा तथा प्रि–डिप्लोमा तहका कार्यक्रम र छात्रवृत्तिबारे विद्यार्थीलाई जानकारी दिने, फाराम भर्न सहयोग गर्ने र छनोट प्रक्रियासम्म सहजीकरण गर्ने काम पनि संस्थाले गर्दै आएको छ।
शैक्षिक सत्र २०८३/८४ मा डिप्लोमा तहको स्टाफ नर्समा फुल पेमेन्ट तथा एचए, एनिमल साइन्स, होटल म्यानेजमेन्ट, आईटी, कम्प्युटर इन्जिनियरिङ र सिभिल इन्जिनियरिङलगायतका विषयमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको थियो।

संस्थाका अनुसार स्टाफ नर्स (पीसीएल नर्सिङ)तर्फ २४ जना विद्यार्थीमध्ये २१ जना मुख्य उम्मेदवारमा छनोट भएका छन्। कोशी प्रदेश र बागमती प्रदेशमा शतप्रतिशत तथा मधेश प्रदेशमा ८७.५० प्रतिशत विद्यार्थी सफल भएको संस्थाको दाबी छ।
आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीलाई वर्गीकृत छात्रवृत्तिको अवसरसम्म पुर्याउन पनि संस्थाले सहजीकरण गरिरहेको छ। छात्रवृत्तिमा छनोट भएका विद्यार्थी र उनीहरूका अभिभावकलाई सम्मान गर्ने कार्यक्रममार्फत उनीहरूको हौसला बढाउने प्रयास गरिएको छ।

अध्यक्ष राजवंशी यसलाई संस्थाको वार्षिक योजनाको सफलतासँग जोड्छन्। “यसपालि साच्चिनै धमाकादार नतिजा आयो। सहयोगी नेपालको वार्षिक योजना शतप्रतिशत सफल भएकोमा साह्रै खुशी लागेको छ,” उनी भन्छन्।

यसअघि शैक्षिक सत्र २०८१/८२ का लागि सिटिइभिटीद्वारा सञ्चालित डिप्लोमा तथा प्रि–डिप्लोमा तहको छात्रवृत्ति कोटामा विभिन्न जिल्लाका विभिन्न पालिकाबाट छनोट भएका ३४ जना विद्यार्थी तथा उनीहरूका अभिभावकलाई पनि संस्थाले सम्मान गरेको थियो।
सामुदायिक वनलाई सीप र आम्दानीसँग जोड्दै
सहयोगी नेपालको गतिविधि विद्यालय र शैक्षिक संस्थामा मात्रै सीमित छैन। सामुदायिक वनलाई स्थानीयको आयआर्जनसँग जोड्ने उद्देश्यले वन उपभोक्ता समूहसँग सहकार्य गरी विभिन्न सीपमूलक तालिम सञ्चालन हुँदै आएका छन्।
केराबारी–९ स्थित गरमझोडा सामुदायिक वन उपभोक्ता समूहमा साबुन, फिनेल र हर्पिक उत्पादनसम्बन्धी तीनदिने तालिम सम्पन्न गरिएको छ। त्यस्तै, पथरीशनिश्चरे–९ स्थित महिला जागृति सामुदायिक वन उपभोक्ता समूहमा प्राविधिक शिक्षा अध्ययनसम्बन्धी एकदिने अभिमुखीकरण र साबुन, फिनेल तथा हर्पिक उत्पादनसम्बन्धी तीनदिने तालिम सञ्चालन गरिएको छ।



केराबारीको एकता सामुदायिक वन उपभोक्ता समूहमा पनि साबुन तथा विभिन्न सरसफाइ सामग्री उत्पादनसम्बन्धी तालिम दिइएको छ।
मिक्लाजुङ–५ स्थित धानखेती सामुदायिक वन उपभोक्ता समूहमा साबुन, फिनेल र हर्पिक बनाउने तालिम सञ्चालन गरिएको थियो। जनप्रतिनिधि, वन कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा स्थानीयको सहभागितामा भएको कार्यक्रममा वनबाटै उपयोगी सामग्री उत्पादन गरी आम्दानी गर्न सकिने सम्भावनाबारे जोड दिइएको थियो।


लेटाङ–९ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहमा भने वनमा खेर जाने पात, वनमारा र लाथ्रालगायतका जैविक वस्तु प्रयोग गरेर जैविक मल, प्राङ्गारिक मल, जैविक विषादी तथा वनस्पतिबाट साबुन उत्पादन गर्ने चारदिने तालिम सञ्चालन गरिएको थियो। तालिममा ४४ जना सहभागी थिए।
वनमा खेर जाने वस्तुलाई कृषि उत्पादन र घरेलु उद्योगसँग जोड्न सके यसले वन संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसरसमेत सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ।
छात्रवृत्तिदेखि जनप्रतिनिधिसम्मको सहकार्य
प्राविधिक शिक्षा र छात्रवृत्तिबारे जानकारी पुर्याउन सहयोगी नेपालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ। धरान उपमहानगरपालिका र मोरङको बेलबारी नगरपालिकामा सिटिइभिटीद्वारा प्रदान गरिने छात्रवृत्तिबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो। विद्यार्थी र अभिभावकलाई छात्रवृत्तिको प्रक्रिया, उपलब्ध विषय तथा आवेदन प्रक्रियाबारे जानकारी दिइएको थियो।
संस्थाले आफूलाई केवल तालिम दिने संस्थाका रूपमा भन्दा विद्यार्थी, अभिभावक, विद्यालय र स्थानीय सरकारबीच समन्वय गर्ने माध्यमका रूपमा विकास गर्न खोजेको देखिन्छ।
अब साइबर अपराधपछि लागूऔषधविरुद्धको अभियान
साइबर अपराधविरुद्धको अभियान विस्तार गरिरहेको सहयोगी नेपालले अब लागूऔषध दुव्र्यसन नियन्त्रणलाई पनि आफ्नो प्राथमिकतामा राख्ने तयारी गरेको छ। अध्यक्ष राजवंशीका अनुसार सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार र प्रयोग नियन्त्रणका लागि भविष्यमा चेकपोस्ट स्थापना गर्ने लक्ष्यसहित सचेतनामूलक कार्यक्रम अघि बढाउने योजना छ।
सीमावर्ती क्षेत्र लागूऔषध ओसारपसारको जोखिममा रहने भएकाले स्थानीय समुदाय, विद्यालय, युवा तथा अभिभावकलाई लक्षित गरेर अभियान सञ्चालन गर्ने योजना रहेको उनी बताउँछन्। उनका अनुसार नियन्त्रणका लागि प्रहरी प्रशासनको मात्रै प्रयास पर्याप्त हुँदैन। समुदायस्तरमै सचेतना, निगरानी र रोकथामको वातावरण आवश्यक हुन्छ।
संस्थाको टोली पहाडतिर
सामाजिक अभियानसँगै संस्थाले आफ्नै कर्मचारी तथा पदाधिकारीबीच समन्वय र अनुभव आदानप्रदानका लागि अध्ययन तथा अवलोकन भ्रमणसमेत गर्दै आएको छ। २०८३ भदौ १० गते सहयोगी नेपालका पदाधिकारीको टोलीले इलाम, धरान र धनकुटालगायतका पहाडी क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमण गरेको थियो।

यसअघि संस्थाको पथरीशनिश्चरे शाखाका कर्मचारी तथा परिवारका सदस्यले गर्मी छल्ने उद्देश्यसहित धनकुटाको भेडेटार हुँदै नाम्चेसम्मको अवलोकन भ्रमण गरेका थिए। संस्थाका लागि यस्ता भ्रमण मनोरञ्जन मात्रै नभएर स्थानीय सम्भावना, पर्यटन, सामाजिक गतिविधि तथा संस्थागत अनुभव बुझ्ने अवसर पनि भएको बताइएको छ।
राजनीतिको भीडबाट सामाजिक कामतिर
सहयोगी नेपालको वर्तमान गतिविधिलाई बुझ्न अध्यक्ष दयालाल राजवंशीको विगत पनि महत्वपूर्ण देखिन्छ। उनी आफैंले आफ्नो राजनीतिक जीवनका क्रममा तीन पटक सैनिक हिरासत र एक पटक प्रहरी हिरासत हुँदै कारागार जीवनसमेत बिताएको बताएका छन्।
उनका अनुसार राजनीतिक सक्रियताको त्यो समय जोस, ऊर्जा र आदर्शले भरिएको थियो। अन्यायमा परेका मानिसका पक्षमा आवाज उठाउने र न्याय दिलाउने काममा आफू सक्रिय रहेको उनी सम्झन्छन्। तर समयसँगै राजनीतिक दलभित्रको कार्यशैली र सम्बन्धप्रति उनको असन्तुष्टि बढ्दै गएको देखिन्छ। “आफूभन्दा ठूला पदमा रहेका नेताले जे भन्यो त्यही ठीक हो मान्नुपर्ने, चित्त नबुझेको कुरा बोल्यो भने पोल्ने, आफ्नो अनुभव र क्षमता प्रयोग गर्न नपाउने अवस्था देखेँ,” उनले भने ।
राजनीतिक सहयात्री र आफ्नै दलका साथीहरूसँग समेत विचार नमिल्दै गएको, कतिपयको राजनीतिक उन्नति हुँदा आफू पछि परेको अनुभूति भएको र स्वार्थले भरिएको भीडमा आफू हराउँदै गएको उनको अभिव्यक्ति छ।
त्यसैले अहिले आफू राजनीतिको भीडबाट टाढिँदै सामाजिक काममा केन्द्रित भएको उनको भनाइ छ।
