१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा - Pahilo Online

१२ वर्षमा अरनिको हस्पिटल : स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वको यात्रामा

writer

पहिलो अनलाइन

 

उर्लाबारी । मोरङको उर्लाबारी–५, स्कुलडाँडामा १२ वर्षअघि एउटा उद्देश्यका साथ सुरु भएको अरनिको हस्पिटल प्रालिको यात्रा अहिले पूर्वी मोरङको स्वास्थ्य सेवाको भरोसायोग्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । सीमित सेवा र साधनबाट सुरु भएको अस्पतालले एक दशकभन्दा लामो यात्रामा आफ्नो सेवा र पूर्वाधार विस्तार गर्दै आधुनिक स्वास्थ्य प्रविधि, विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार सेवामार्फत हजारौँ बिरामीको जीवनमा आशा थप्दै आएको छ ।

उर्लाबारी र आसपासका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले स्थापना भएको अस्पतालले पछिल्लो समय आफ्नो सेवाको दायरा फराकिलो बनाएको छ । अहिले अस्पतालमा सिटी स्क्यान, आईसीयू, भेन्टिलेटर, इन्डोस्कोपी, हाडजोर्नी उपचार, आकस्मिक सेवा, दैनिक फिजियोथेरापी, फार्मेसी, इकोकार्डियोग्राफी तथा एनोमेली स्क्यानलगायतका आधुनिक स्वास्थ्य सेवाहरू उपलब्ध छन् ।

विशेषगरी दुर्घटना, मुटु, हाडजोर्नी तथा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले प्रविधि र जनशक्तिमा लगानी बढाउँदै आएको छ । यसबाट सामान्य तथा अत्यावश्यक उपचारका लागि धरान, विराटनगर वा काठमाडौंसम्म पुग्नुपर्ने बाध्यता केही हदसम्म कम भएको स्थानीयको अनुभव छ ।

अस्पतालको १२ वर्षे यात्रामा स्वास्थ्य सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकतामा राख्दै आर्थिक अवस्था कमजोर भएका बिरामीलाई सहुलियत तथा मानवीय सहयोगमार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको अस्पताल प्रशासनको भनाइ छ । समय–समयमा स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य परामर्श तथा समुदाय केन्द्रित अन्य कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् ।

अस्पतालका अध्यक्ष लोलीम पोमु लिम्बू स्वास्थ्य सेवा केवल व्यवसाय नभई सामाजिक उत्तरदायित्वसमेत भएको बताउनुहुन्छ । युवा समाजसेवी तथा अधिवक्तासमेत रहनुभएका लिम्बूले ग्रामीण तथा दूरदराजका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको बताउनुभयो ।

उहाँका अनुसार अरनिको हस्पिटलबाट पूर्वी मोरङका ६ वटा स्थानीय तहका करिब ३ लाख नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् । मोरङबाहेक झापा, इलाम र पाँचथरबाट समेत बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

“अब अझ अत्याधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवामार्फत अस्पताललाई पूर्वी नेपालको नमुना स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो,” अध्यक्ष लिम्बूले भन्नुभयो ।

अस्पतालले स्वास्थ्य सेवालाई आफ्नो मुख्य जिम्मेवारी माने पनि समुदायको समग्र हितमा योगदान पुर्‍याउने सामाजिक दायित्वलाई समेत निरन्तर अघि बढाएको छ । त्यसको एउटा उदाहरण अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सञ्चालन गरिएको निःशुल्क टिटानस (टीटी) खोप कार्यक्रम हो ।

अटोमोबाइल, ग्रील उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरू दैनिक रूपमा चोटपटकको जोखिममा रहने भएकाले टिटानस संक्रमणको सम्भावना बढी हुने गर्दछ । यही जोखिमलाई ध्यानमा राख्दै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत ६१ जना श्रमिकलाई निःशुल्क टीटी खोप प्रदान गरेको थियो । अस्पतालले आगामी दिनमा पनि वार्षिक रूपमा श्रमिकलाई निःशुल्क खोप उपलब्ध गराउने जनाएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष लिम्बूले श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताउँदै यस्ता कार्यक्रमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्नुभयो । स्थानीयस्तरमै सञ्चालन गरिएको यस्तो कार्यक्रमले श्रमिकमा स्वास्थ्य सचेतना बढाउनुका साथै उनीहरूको स्वास्थ्य सुरक्षामा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

अरनिको हस्पिटलले आफ्नो स्थापना दिवसलाई पनि केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक तथा प्रेरणादायी गतिविधिसँग जोड्दै आएको छ । अस्पतालको १२औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय प्रतियोगितामा पदक विजेता तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी एथलेटिक्स खेलाडीलाई खेल सामग्री वितरण गरिएको थियो ।

हस्पिटलको १२औँ स्थापना दिवसको अवसरमा आयोजित खेल सामग्री वितरण तथा कर्मचारी सम्मान कार्यक्रम

कार्यक्रममा धावक खेलाडी मन्दिरा महतरा र डम्बर पौडेललाई रनिङ सुज तथा ट्र्याकसुट प्रदान गरिएको थियो । त्यसैगरी कमला महतरा, सन्देश तामाङ, पूजा महतरा र एनिसा धिमाललाई ट्र्याकसुट प्रदान गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष लिम्बूले खेलाडीलाई सामग्री हस्तान्तरण गर्दै खेलकुद क्षेत्रको विकास र युवा खेलाडीको प्रोत्साहनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

स्थापना दिवसकै अवसरमा अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । उमेश सिंह, अनिसा राई, सरस्वती घिमिरे र धनबाला राईलाई उत्कृष्ट कार्यसम्पादनका लागि सम्मान गरिएको थियो । कर्मचारीको योगदानलाई सम्मान गर्दै उनीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गर्नु पनि संस्थाको संस्कृतिको हिस्सा भएको अस्पतालको भनाइ छ ।

१२ वर्षको यात्रामा अस्पतालले स्वास्थ्य सेवा विस्तार मात्र गरेको छैन, स्थानीय समुदायसँगको सम्बन्धलाई पनि बलियो बनाउँदै लगेको छ । स्वास्थ्य सेवा, सामाजिक उत्तरदायित्व, खेलाडी प्रोत्साहन र कर्मचारी सम्मानजस्ता गतिविधिमार्फत अस्पतालले आफ्नो संस्थागत भूमिकालाई फराकिलो बनाउने प्रयास गरिरहेको देखिन्छ ।

अस्पतालले प्राप्त गरेको सम्मानलाई पनि आफ्नो यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । विगत १२ वर्षदेखि उर्लाबारी–५, स्कुलडाँडालाई कर्मथलो बनाएर लाखौँ बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै सयौँ व्यक्तिको रोजगारीको आधार बनेको भन्दै उर्लाबारी नगरपालिकाले गरेको सम्मानप्रति अस्पताल परिवारले आभार व्यक्त गरेको छ ।

उर्लाबारी नगरपालिकाद्वारा सम्मान गर्दै ।

अस्पताल प्रशासनले उक्त सम्मानले स्वास्थ्य सेवामा अझ समर्पित, जिम्मेवार र सेवामुखी बन्न थप ऊर्जा र प्रेरणा मिलेको जनाएको छ । आगामी दिनमा पनि समुदायको स्वास्थ्य सेवामा निरन्तर उत्कृष्ट योगदान पुर्‍याउने प्रतिबद्धता अस्पतालले व्यक्त गरेको छ ।

पूर्वी मोरङमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गर्दा स्थानीयस्तरमै आधुनिक उपचार सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण बन्दै गएको छ । यही परिवेशमा अरनिको हस्पिटलको १२ वर्षे यात्रा एउटा स्वास्थ्य संस्थाको विकासको कथा मात्र नभई स्थानीय समुदायको स्वास्थ्य आवश्यकता, सामाजिक उत्तरदायित्व र सेवामूलक भावनासँग जोडिएको यात्राका रूपमा अघि बढेको छ ।

अबको चुनौती भनेको यही विश्वासलाई अझ बलियो बनाउँदै उपचार सेवाको गुणस्तर कायम राख्नु, अत्याधुनिक प्रविधि र विशेषज्ञ जनशक्ति थप्नु तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकका लागि स्वास्थ्य सेवाको पहुँच अझ सहज बनाउनु हो । अस्पतालले आगामी दिनमा लिएको ‘पूर्वी नेपालको नमुना स्वास्थ्य संस्था’ बन्ने लक्ष्य पूरा गर्न सकेमा उर्लाबारीबाट सुरु भएको यसको सेवा यात्रा अझ व्यापक बन्ने अपेक्षा गर्न सकिन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles