पथरीशनिश्चरे साझेदारी वनद्वारा क्षमता अभिवृद्धि कार्यक्रम - Pahilo Online

पथरीशनिश्चरे साझेदारी वनद्वारा क्षमता अभिवृद्धि कार्यक्रम

writer

पहिलो अनलाइन

पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समूहले शुक्रबार वडा स्तरीय परिषद् सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तह, वन कार्यालय र उपभोक्ताबीच समन्वय सुदृढ गर्दै वन व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

उक्त तालिममा उर्लाबारी मंगलबारे सब–डिभिजन वन कार्यालयका प्रमुख विमल केसीले सहजीकरण गर्दै साझेदारी वनको अवधारणा, व्यवस्थापन प्रक्रिया, समूह गठन, उपभोक्ताका अधिकार तथा कर्तव्य लगायत विषयमा विस्तृत जानकारी गराउनुभयो । उहाँले वन संरक्षण र दिगो उपयोगका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै नीतिगत व्यवस्था र व्यवहारिक पक्षबारे समेत प्रकाश पार्नुभयो ।

कार्यक्रमका क्रममा सहभागी परिषद् सदस्यहरूले उठाएका जिज्ञासाहरूको उत्तर पथरीशनिश्चरे साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष दोर्ण पौडेलले दिनुभएको थियो । सो क्रममा अध्यक्ष पौडेलले साझेदारी वनबाट उत्पादित काठमा पथरीशनिश्चरे, उर्लाबारी र लेटाङ नगरपालिकालाई १० प्रतिशत कर तिर्दै आएको भए पनि स्थानीय सरकारबाट हालसम्म कुनै लगानी वा सहयोग नपाएको गुनासो गर्नुभयो । साथै, नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरूलाई निमन्त्रणा गर्दा पनि कार्यक्रममा उपस्थिति नजनाउने प्रवृत्तिप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

तालिम कार्यक्रममा परिषद् सदस्यहरू, पथरी सब–डिभिजन वन कार्यालयका प्रतिनिधि तथा वडा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले यस्तो प्रकारको क्षमता अभिवृद्धि कार्यक्रमले वन व्यवस्थापनबारे बुझाइ बढाउन सहयोग पुगेको प्रतिक्रिया दिएका छन् ।

साझेदारी वनको अवधारणा र उद्देश्य

साझेदारी वन भनेको वन ऐनको व्यवस्था अनुसार डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ताको संयुक्त साझेदारीमा व्यवस्थापन गरिने राष्ट्रिय वन हो । यसको प्रमुख उद्देश्य वनको दिगो विकास गर्दै अर्थतन्त्रमा योगदान पुर्‍याउनु, परम्परागत उपभोक्तालाई वन संरक्षणमा सहभागी गराउनु, वन पैदावारको सुनिश्चित आपूर्ति गर्नु तथा वन क्षेत्रको उत्पादकत्व वृद्धि गर्नु रहेको छ ।

यसका साथै जैविक विविधता संरक्षण, जलाधार क्षेत्रको संवर्द्धन र स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्य पनि यस अवधारणाले बोकेको छ ।

नीतिगत व्यवस्था र संरचना

साझेदारी वन व्यवस्थापनका लागि वन नियमावलीअनुसार व्यवस्थापन समिति गठन गरिन्छ । समितिमा अध्यक्षसहित विभिन्न सदस्यहरू रहने व्यवस्था छ, जसमा महिला सहभागिता अनिवार्य गरिएको हुन्छ । निर्वाचित जनप्रतिनिधि र वन कार्यालयका प्रतिनिधिहरू पनि समितिमा समावेश हुने प्रावधान छ ।

समितिको कार्यकाल बढीमा छ वर्षको हुने व्यवस्था गरिएको छ भने अध्यक्ष पदमा दुई कार्यकालभन्दा बढी रहन नपाउने नियम लागू गरिएको छ । साथै, समिति सदस्यहरूले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट प्रत्यक्ष आर्थिक लाभ लिने व्यक्ति हुन नपाउने प्रावधान पनि राखिएको छ ।

समूहको आर्थिक कारोबार अध्यक्ष र व्यवस्थापन समिति सदस्यमध्ये एक जनाको संयुक्त हस्ताक्षरबाट सञ्चालन हुने व्यवस्था छ । वनसम्बन्धी कार्यक्रम तथा योजना कार्यान्वयन गर्नुअघि डिभिजन वन कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ ।

पथरीशनिश्चरे साझेदारी वनको विशेषता

पथरीशनिश्चरे साझेदारी वनलाई दीर्घकालीन व्यवस्थापन योजनाअनुसार करिब १० वर्षका लागि स्वीकृत गरी कार्यान्वयन गरिएको छ । वन क्षेत्रलाई ६ वटा कम्पार्टमेन्टमा विभाजन गरिएको छ भने प्रत्येकलाई थप उप–कम्पार्टमेन्टमा विभाजन गरी वैज्ञानिक व्यवस्थापन प्रणाली अपनाइएको छ ।

यो वन प्राकृतिक साल मिश्रित वन हो, जहाँ साल, असना, कर्मा, बोटधँयारो, पिठारी, जामुन, सिमल लगायतका प्रजातिहरू पाइन्छन् । वन व्यवस्थापनमा निश्चित वाली चक्र र पुनरुत्पादन अवधि निर्धारण गरिएको छ भने वृद्धि दरका आधारमा कटान तथा संरक्षणको योजना लागू गरिएको छ ।

समग्रमा, वन संवर्द्धन प्रणालीमा आधारित व्यवस्थापनमार्फत वनको दिगोपन कायम राख्दै स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने लक्ष्य लिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles