भुटानी शरणार्थी शिविरमा लागूऔषध, चोरी र आपराधिक गतिविधि बढ्दो - Pahilo Online

भुटानी शरणार्थी शिविरमा लागूऔषध, चोरी र आपराधिक गतिविधि बढ्दो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे (मोरङ)
मोरङको पथरी शनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरमा पछिल्लो समय लागूऔषध दुव्र्यसन, चोरी तथा सामाजिक विकृति बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। दैनिकजसो हुने चोरी र लागूऔषधसँग सम्बन्धित घटनाले शिविर क्षेत्रको सुरक्षा अवस्था कमजोर बन्दै गएको भन्दै शरणार्थीहरूले गुनासो गरेका छन्।

सन् १९९२ देखि शिविर डाँडामा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरू अहिले नयाँ प्रकारका सामाजिक समस्यासँग जुध्न बाध्य भएका छन्। विशेषगरी युवायुवतीहरू लागूऔषध दुव्र्यसनमा फस्दै जानु र रातको समयमा चोरी तथा असामाजिक गतिविधि बढ्नुले स्थानीयमा त्रास फैलिएको छ।

स्थानीय युवा आइतराज राईका अनुसार पछिल्ला दिनमा राति घर वरिपरि घुम्ने, अश्लील शब्द प्रयोग गर्ने र साना–ठूला चोरीका घटनाले शान्त वातावरण बिग्रिएको छ। अर्का स्थानीय दावा लामाले घरबाट ग्याँस सिलिण्डर चोरेर बिक्री गर्ने र त्यसैबाट प्राप्त पैसाले लागूऔषध सेवन गर्ने प्रवृत्ति बढेको बताए। उनका अनुसार सुनका गहना, नगद तथा मोबाइल चोरीका घटनासमेत बढ्दो क्रममा छन्।

शिविरमा सुरक्षाको अवस्था कमजोर हुनुमा सशस्त्र प्रहरीको अनुपस्थितिलाई मुख्य कारण मानिएको छ। विगतमा कुनै घटना हुँदा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्ने गरिएको भए पनि हाल उक्त व्यवस्था नभएकाले अपराध नियन्त्रण चुनौतीपूर्ण बनेको स्थानीयको भनाइ छ।

गत भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’का क्रममा शिविरभित्र रहेको सशस्त्र प्रहरी बलको बेस क्याम्पमा आगजनी तथा तोडफोड भएपछि सुरक्षा निकाय त्यहाँबाट अन्यत्र सरेका थिए। त्यसयता शिविर क्षेत्रमा स्थायी सुरक्षा उपस्थिति नहुँदा आपराधिक गतिविधि बढ्दै गएको बताइन्छ। यसअघि सो क्याम्पमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा १४ जना सशस्त्र प्रहरी परिचालन हुँदै आएका थिए।

स्थानीयले शिविरमा विगतदेखि नै विभिन्न किसिमका आपराधिक गतिविधि हुँदै आएको स्मरण गराउँदै अहिले अवस्था झन् जटिल बन्दै गएको बताएका छन्। द्वन्द्वकालदेखि नै संवेदनशील मानिएको यस क्षेत्रमा चोरी, झैझगडा, लागूऔषध कारोबारजस्ता घटना बेलाबेलामा हुँदै आएका थिए। पछिल्लो समय ती गतिविधि पुनः सक्रिय हुन थालेको उनीहरूको भनाइ छ।

यसैबीच, पथरी शनिश्चरे नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणमा संलग्न ६ जना मजदुरको मध्यरातमा १ लाख रुपैयाँभन्दा बढी नगद र मोबाइल चोरी भएको घटनाले सुरक्षा अवस्था कति कमजोर छ भन्ने प्रष्ट पारेको स्थानीयको दाबी छ।

हाल शिविरमा करिब १ हजार ५ सय घरधुरीमा झण्डै ६ हजार जनसंख्या बसोबास गर्दै आएका छन्। यति ठूलो जनसंख्या रहेको क्षेत्रमा सुरक्षा संयन्त्र कमजोर हुँदा जोखिम झन् बढेको भन्दै स्थानीयले सशस्त्र प्रहरी बेस क्याम्प पुनःस्थापना गर्न नेपाल सरकारसँग माग गरेका छन्।

स्थानीयवासीका अनुसार समयमै प्रभावकारी सुरक्षा व्यवस्था नगरिए शिविर क्षेत्र थप असुरक्षित बन्ने र सामाजिक समस्या झन् गहिरिने खतरा रहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles