पत्रकार महासंघको ७१औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइयो - Pahilo Online

पत्रकार महासंघको ७१औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाइयो

writer

पहिलो अनलाइन

पथरी शनिश्चरे/ नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लामा दीप प्रज्वलन, अन्तरक्रिया, सम्मान तथा प्रतिबद्धतामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। कार्यक्रमहरूमा प्रेस स्वतन्त्रता, पत्रकारिता शुद्धीकरण र पेशागत सुरक्षाको विषय प्रमुख रूपमा उठाइएको छ।

मोरङको पथरी शनिश्चरेमा पत्रकारहरूले दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएका छन्। वडा नं. २ स्थित बुद्धचोकमा किराँत राई पत्रकार सङ्घ मोरङको संयोजनमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूले शान्तिका प्रतीक बुद्धको शालिकअगाडि उभिएर पेशागत हकहितका पक्षमा आवाज उठाएका थिए।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राईले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको रक्षा गर्दै आवाजविहीन नागरिकको आवाज बुलन्द गर्ने पत्रकारिता मर्यादित र अनुशासित हुनुपर्ने बताए। पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि धम्की, आक्रमण तथा आपराधिक गतिविधि बढ्दै गएको उल्लेख गर्दै उनले स्वतन्त्र रूपमा सूचना प्रवाह गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरे।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका पूर्व कार्यवाहक अध्यक्ष मोहन भट्टराई, पथरीशनिश्चरे नगर सूचना संयोजक सन्तोष राई, नेपाल पत्रकार महासंघ मोरङ कार्यसमिति सदस्य ईश्वर दुलाल, पथरीशनिश्चरे नगर कार्यपालिका सदस्य वीरध्वज शिवा, साहित्यकार लक्ष्मीप्रसाद फुयाल, मिस्टर नेपाल विजेता प्रकाश चौहान, समाजसेवी हेमभक्त गुरुङ लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको किरात राई पत्रकार संघ मोरङका अध्यक्ष विजय खम्बुले जानकारी दिए ।

यस्तै, झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सुदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा मेचीनगर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा ११ बुँदे ‘झापा संकल्प–पत्र २०८२’ पारित गरिएको छ।

संकल्पपत्रमा पत्रकार आचारसंहिताको पूर्ण पालना, व्यवसायिकता, क्षमता विकास र जवाफदेहितालाई प्राथमिकता दिने उल्लेख गरिएको छ। कार्यक्रममा ६५ वर्षभन्दा माथिका १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्तिस्वरूप आर्थिक सहयोग प्रदान गरिएको थियो। साथै, उपचाररत एक ज्येष्ठ पत्रकारलाई अतिरिक्त सहयोगसमेत उपलब्ध गराइएको छ।

विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले पछिल्ला राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै मुलुक फेरि द्वन्द्वतर्फ उन्मुख हुन सक्ने संकेत देखिएको बताए। उनले लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिको संरक्षणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए।

उक्त अवसरमा धनकुटाका सक्रिय युवा पत्रकार हरिबहादुर लम्जेललाई ‘षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ। उनलाई नगद २५ हजार २५ रुपैयाँसहित सम्मान गरिएको हो।

कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, तथ्यपरक र उत्तरदायी पत्रकारिता अपरिहार्य रहेको बताए। उनीहरूले पछिल्लो समय प्रेसमाथि बढ्दो दबाब, सूचना पहुँचमा अवरोध तथा डिजिटल युगमा सूचना सत्यापनको चुनौतीबारे गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारिता क्षेत्र अझ जिम्मेवार र सशक्त बन्नुपर्नेमा जोड दिएका थिए।

महासंघ मोरङ शाखाले स्थापना दिवसकै अवसरमा नयाँ वर्ष २०८३ को क्यालेन्डरसमेत विमोचन गरेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles