रामकुमारी राई
मोरङ, पथरीशनिश्चरे । गर्मीयामसँगै वन डढेलोको जोखिम बढ्दै गएको सन्दर्भमा पथरीशनिश्चरे नगरपालिकामा सोमबार वन डढेलो रोकथामका लागि विशेष सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । सव डिभिजन वन कार्यालय कानेपोखरीको पहलमा सञ्चालन गरिएको अभियानमा आधा दर्जन सामुदायिक वन उपभोक्ता समूह तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
वन डढेलोको उच्च जोखिमलाई मध्यनजर गर्दै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘वन डढेलो सचेतना र्याली’ आयोजना गरिएको सव डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख विदुर तिवारीले जानकारी दिए । उनका अनुसार डढेलोबाट हुने जनधन, वन स्रोत तथा जैविक विविधतामा पर्ने क्षति न्यूनीकरणका लागि समयमै सचेतना फैलाउनु आवश्यक रहेको छ ।
पथरीशनिश्चरे–१० स्थित डाँस मोरङ्गी सामुदायिक वनको कार्यालय परिसरबाट सुरु भएको र्याली जिरिखिम्ती, पशुपतिनगर, त्रिवेणी चोक, सिता छधारे सामुदायिक वन, ऐयाबारी, मगरटोल, शनिश्चरे बजार, मंगलबारे, दोहलु शुक्रबारे, सखुवारा, राधाकृष्ण टोल हुँदै शनिश्चरे चोक र जतना चोकबाट पश्चिम धिमाल टोल, चौकीडाँडा हुँदै भुल्के पशुपति सामुदायिक वनको कार्यालयमा पुगेर समापन गरिएको थियो ।
र्यालीमा डाँस मोरङ्गी, भुल्के पशुपति, सिता छधारे र महिला जागृति सामुदायिक वन उपभोक्ता समूहका सयौं उपभोक्ताहरू, वन कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । साथै, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल र नगर महासंघ पथरीशनिश्चरेकी अध्यक्ष मैनादेवी फुयल आचार्य लगायत सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रम सव डिभिजन वन कार्यालय कानेपोखरीको समन्वयमा फेकोफन मोरङ तथा चारवटा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न भएको हो । अभियानमा महिला जागृति सामुदायिक वनकी अध्यक्ष तुलसा याखा, सिता छधारेकी अध्यक्ष अमृता तामाङ मगर, भुल्के पशुपतिका अध्यक्ष कविराज लिम्बु र डाँस मोरङ्गीका अध्यक्ष हरी निरौलाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
र्यालीका सहभागीहरूले विभिन्न चेतनामूलक नारा लेखिएका प्लेकार्ड बोकेका थिए । “वन डढेलो हुन नदिऔं, जैविक विविधताको संरक्षण गरौं”, “सामाजिक, आर्थिक र पर्यावरणीय क्षति हुन नदिऔं” जस्ता सन्देशमार्फत डढेलो नियन्त्रणमा सामूहिक प्रयासको आवश्यकता औंल्याइएको थियो ।
अभियानका क्रममा वन डढेलो नियन्त्रणका लागि अपनाउनुपर्ने विभिन्न उपायहरूबारे पनि जनचेतना फैलाइएको थियो । जसअन्तर्गत सुख्खा मौसम सुरु हुनु अघि वन क्षेत्र सफा गर्ने, प्रज्वलनशील वस्तु हटाउने, अग्नि नियन्त्रण रेखा निर्माण गर्ने, वन क्षेत्रमा चुरोट–बिँडी नफाल्ने, वनभोज वा बसाइँका क्रममा आगो पूर्ण रूपमा निभाउने, चोरी शिकार रोक्न निगरानी बढाउने, तथा आवश्यक परे तत्काल वन कार्यालय वा प्रहरीलाई जानकारी गराउने जस्ता उपायहरूमा जोड दिइएको थियो ।
त्यस्तै, प्रत्येक सामुदायिक वनमा प्रहरी, युवा र नागरिक समाजको सहभागितामा अग्नि नियन्त्रण सञ्जाल गठन गरी समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा पनि जोड दिइएको आयोजकले जनाएको छ । वनमा आगो लगाउनु कानुनी रूपमा दण्डनीय अपराध हुनुका साथै यसबाट लाखौं जीवजन्तु तथा वनस्पति नष्ट हुने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने सन्देश दिइएको थियो ।
र्याली समापनपछि भुल्के पशुपति सामुदायिक वन परिसरमा सहभागीहरूका लागि भोजनको व्यवस्था समेत गरिएको थियो ।
आयोजकका अनुसार वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्दै स्वस्थ वातावरण निर्माण गर्न यस्ता सचेतनामूलक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ । साथै “खाली जमिनमा कृषि वन र जडिबुटी, बनौं आत्मनिर्भर हासिल गरौं समुन्नति” भन्ने नारामार्फत वन संरक्षणसँगै उत्पादनमुखी गतिविधि प्रवर्द्धनको सन्देश पनि दिइएको छ ।



