
मोरङको पथरीशनिश्चरे नगरपालिकाका सामुदायिक विद्यालयहरूमा पछिल्ला वर्षमा महिला प्रधानाध्यापकको नेतृत्व क्रमशः बढ्दो क्रममा छ । उनीहरूले विद्यालय सुधारका लागि गरेका पहल र देखेका चुनौतीहरूले स्थानीय शिक्षा क्षेत्रमा नयाँ उर्जा थपेका छन् ।
आमाको माया पाउने विद्यालय ः सुनाखरी मावि
पथरीशनिश्चरे–१ मा अवस्थित सुनाखरी माध्यमिक विद्यालय भौतिक संरचना र सुविधाका हिसाबले सामान्य देखिए पनि त्यहाँ पढ्ने विद्यार्थीहरूले भने असाधारण अनुभूति गर्छन् । उनीहरूले विद्यालयलाई मात्र नभई प्रधानाध्यापक भुमिका बुर्जा मगरलाई आमा सरहको माया दिने पात्रका रूपमा अनुभव गर्छन् ।
सामुदायिक विद्यालयलाई अहिले पनि गरिब, विपन्न, अभिभावकविहीन वा श्रमिक परिवारका बालबालिकामात्र अध्ययन गर्ने ठाउँका रूपमा हेरिन्छ । सुनाखरी माविको अवस्था पनि फरक छैन । ‘आर्थिक अवस्था राम्रो भएका अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा आउँदैनन् । अरुको घरमा काम गर्ने वा आमाबाबा नभएका बच्चाहरू यहाँ धेरै छन्’– प्र.अ. मगर भन्छिन् ।
त्यसैले, समयमै स्कुल आउन नसक्ने, गृहकार्य पूरा नगरी आउने वा मध्यान्हमै पेट दुख्यो भन्दै घर फर्कनुपर्ने अवस्थासम्म विद्यार्थीहरूलाई भोग्नुपर्छ ।
महिला प्रधानाध्यापक भएकाले विद्यालयमा वातावरण भिन्न अनुभूत भएको शिक्षकहरू बताउँछन् । विद्यार्थीहरू पनि खुलेर भन्छन्— ‘हामीले आमासरहको माया पाउँछौं ।’ स्वयं मगर पनि यसलाई अनुभव गर्छिन् ः ‘आफ्ना छोराछोरीलाई जसरी राम्रो बनाउन चाहन्छु, यहाँका बच्चाहरु पनि त्यस्तै लाग्छ ।’ उनलाई सामुदायिक विद्यालयकै पढाइले यहाँसम्म ल्याएको स्मरण अझै ताजा छ । निजी विद्यालयमा पढाउने क्षमता नभएका आमाबुबाले सामुदायिक स्कुलमा पढाएका कारण आफू यस स्थानमा आइपुगेको विश्वास उनी गर्वसाथ सुनाउँछिन् ।
विद्यालयमा पठनपाठनलाई प्रभावकारी बनाउन उनले शिक्षकहरूलाई विशेष दायित्व दिएकी छिन् । हरेक शिक्षकलाई डायरी वितरण गरिएको छ, जसमा पाठ योजनासहित दैनिक गतिविधि लेखिन्छ । युट्युब भिडियो, मोडल प्रश्न प्रयोग गरेर शिक्षणलाई व्यवहारिक बनाइएको छ । लाइब्रेरी पढाइलाई अनिवार्य बनाइएको छ ।
विद्यार्थी अनुपस्थित भए तत्कालै अभिभावकलाई फोन गरिन्छ । जरिवाना प्रणालीले विद्यार्थीलाई नियमित बनाएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्दा अभिभावकलाई विद्यालयमै बोलाएर छलफल गर्ने अभ्यास पनि सुरु गरिएको छ ।
यद्यपि विद्यालयमा अझै आधारभूत सुविधा अभाव छन् । छात्राहरूका लागि सेनिटरी प्याड चेन्जिङ रुम छैन । प्याड डिस्पोज गर्ने सुरक्षित स्थानको कमी छ । रेष्ट रुम र स्वास्थ्यकर्मीको सुविधा छैन । यसका कारण विशेषगरी किशोरीहरूलाई असुविधा हुने गरेको प्र.अ. मगर बताउँछिन् ।
विद्यालयमा भौतिक संरचना मात्र भएर हुँदैन, विद्यार्थी संख्या बढाउनुपर्छ भन्ने उनको विश्वास छ । त्यसका लागि उनी शिक्षक र अभिभावकसँगै निरन्तर लागिरहेकी छन् । ‘विद्यार्थी नभई भवन मात्र भएर हुँदैन । हामी संख्या र गुणस्तर दुवै बढाउनेतर्फ लागिरहेका छौं’– उनी भन्छिन् ।
सुनाखरी माविका प्र.अ. भुमिका बुर्जा मगरको नेतृत्वमा भएको यी प्रयासहरूले सामुदायिक विद्यालय पनि आमा सरहको मायाले, व्यवहारिक शिक्षण र नियमित अनुगमनले कस्तो फरक पार्न सक्छ भन्ने उदाहरण बनेको छ ।
चुनौतीलाई अवसरमा बदल्दै जानकी चेम्जोङ
‘चुनौती नभएको ठाउँ कतै हुँदैन, तर त्यसलाई क्षमता प्रदर्शन गर्दै पार गर्न सकिन्छ’– यो पथरीशनिश्चरे–४ स्थित भागिरथ माध्यमिक विद्यालयकी प्रधानाध्यापक जानकी चेम्जोङको भनाइ हो ।

भागिरथ माविमा उनको सुरुवाती अनुभव सहज थिएन । विद्यालयको प्रशासनिक र बाहिरी वातावरण खस्किएको, पढाइमा हस्तक्षेप हुने अवस्था, बाहिरी अतिक्रमण, स्थानीय युवाहरुको खेलकुदका नाममा विद्यालय हाताभित्र प्रवेश – यी सबै परिस्थितिले विद्यालयको शैक्षिक वातावरणलाई कमजोर बनाइरहेको थियो । यस्तो पृष्ठभूमिमा लामो समयदेखि पुरुष प्रधानाध्यापकहरूले नेतृत्व गर्दै आएको विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकको रूपमा उनको आगमन स्वयं समाजका लागि एउटा ‘परीक्षण’ थियो । समाजले प्रश्न ग¥यो – ‘महिलाले कसरी चलाउँछिन् ? विद्यालय कहाँसम्म पुग्छ ?’ तर, चुनौतिका कारण पछि हट्ने होइन, अवसरको रूपमा लिन सकिन्छ भन्ने उदाहरण उनले देखाइन् । ‘चुनौती आउँछ तर सहने क्षमता भए, हरेक स्टेपमा पार गर्न सकिने रहेछ भन्ने सिकाई मैले पाएँ’– चेम्जोङ भन्छिन् ।
नेतृत्वमा हुँदा जिम्मेवारीसँगै तनाव पनि आउने कुरा उनी स्वीकार्छिन् । तर त्यही अवस्थामा परिवारबाट पाइने हौसला उनको लागि आधार बन्यो । ‘मेरो बहिनीले जहिले पनि साथ दिइन्, ‘चुनौतिलाई सह, एक दिन सफल हुन्छस्’ भन्ने सन्देशले मलाई अगाडि बढ्न सहयोग ग¥यो’– उनी सम्झिन्छिन् ।
समयक्रममा विद्यालयमा धेरै परिवर्तन आएका छन् । भौतिक पूर्वाधारदेखि लिएर बाहिरी वातावरण व्यवस्थापनसम्म उल्लेखनीय सुधार भएको उनी बताउँछिन् । अभिभावकहरूले पनि पहिलाको अवस्था र अहिलेको अवस्थाबीचको फरक नजिकबाट नियालेका छन् । हाल विद्यालयले पाँच वर्षे विद्यालय सुधार योजना (एसआइपी) तयार गरिसकेको छ । सोही योजनालाई आधार बनाएर चेम्जोङले आगामी दिनमा शैक्षिक सुधारलाई अझै प्रभावकारी बनाउने लक्ष्य लिएकी छिन् ।
चुनौतीलाई अवसरमा बदल्दै उनले देखाइरहेकी नेतृत्व क्षमताले भागिरथ माध्यमिक विद्यालय मात्र होइन, पथरीशनिश्चरेको शैक्षिक वातावरणलाई पनि प्रेरणा दिएको छ ।
सामुदायिक विद्यालयमा महिला नेतृत्वको प्रेरणा
यसैगरी, पथरीशनिश्चरे–१० मा रहेको हिरक आधारभुत विद्यालय अहिले महिला नेतृत्वमा अघि बढिरहेको छ । २०७९ पुसदेखि विद्यालयको जिम्मेवारी सम्हाल्दै आएकी प्रधानाध्यापक कविता तिम्सिना सामुदायिक विद्यालयलाई अब्बल बनाउन आत्मविश्वासका साथ लागिरहेकी छन् । ‘हामी पनि सामुदायिक विद्यालयमै अध्ययन गरेर आएका हौं । आफ्नै कमजोरी हटाउन सकिन्छ भन्ने विश्वासले नै म यो जिम्मेवारीमा आएको हुँ’– तिम्सिना भन्छिन् ।

प्रधानाध्यापक तिम्सिना भन्छिन्— ‘समाजले अझै पनि महिलाको नेतृत्वलाई तत्काल पत्याउने गरेको छैन । कतिपयले प्रश्न उठाउने गरेका छन् । तर, अथाह संघर्षपछि यो जिम्मेवारीमा आएको हुँ । अब समाजलाई केही गरेर देखाउनुपर्ने छ ।’
विद्यालयमा शिक्षक र स्टाफहरुबाट भने कुनै असहयोग नभएको उनी स्पष्ट पार्छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कुरुङबाङ भन्छन् –‘महिला प्रधानाध्यापक हुँदा काम गर्न गाह्रो छैन । समयअनुसार अपडेट हुनुहुन्छ । कार्यकुशलता र नेतृत्व क्षमताका हिसाबले पनि अब्बलै हुनुहुन्छ ।’
हिरक आधारभुत विद्यालयमा अधिकांश विद्यार्थी निम्न वर्गका वा अभिभावक विहीन परिवारका छन् । तिनलाई उच्च वर्गका विद्यार्थीहरूसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउन निरन्तर प्रयास भइरहेको छ । ‘विद्यार्थीलाई पनि गुणस्तरमा सँगसँगै लैजानुपर्छ भन्ने सोचका साथ काम गरिरहेको छु’– तिम्सिना बताउँछिन् ।
विद्यालयमा अंग्रेजी माध्यमलाई विशेष प्राथमिकता दिइएको छ । नर्सरीदेखि कक्षा ८ सम्म पठनपाठन भइरहेकाले विद्यार्थीलाई परीक्षामा तयारी गर्न सजिलो होस् भनेर विक्ली टेस्ट पनि लिइन्छ ।
विद्यालयमा हरेक बिहान हुने प्रार्थना सभामा विद्यार्थीले फरक–फरक प्रतिभा प्रदर्शन गर्ने अवसर पाउँछन् । क्विज, नृत्य, गायन, चित्रकला जस्ता कार्यक्रम गर्ने गरिएको छ । यी सबै माध्यममार्फत विद्यार्थीको अन्तरनिहित क्षमता प्रकट गराउने प्रयास भइरहेको छ ।
प्रधानाध्यापक तिम्सिनाको भनाइमा— ‘अब विद्यार्थीलाई प्रविधिमैत्री बनाएनौ भने शिक्षाको लक्ष्य पूरा हुँदैन ।’
सामुदायिक विद्यालयलाई अब्बल बनाउन महिला नेतृत्व पनि सक्षम र दृढ हुन सक्छ भन्ने उदाहरण बनेको छ— हिरक आधारभुत विद्यालय । समाजले अझै पूर्ण विश्वास गर्न सकेको छैन तर तिम्सिना र उनको टोलीले देखाएको कार्यकुशलता भने सामुदायिक विद्यालयको भविष्य उज्यालो बनाउने संकेत गरिरहेको छ ।
विद्यार्थी बढाउँदै ‘रिता मिस’
सामुदायिक विद्यालयमा विद्यार्थी घट्नु अहिले पनि प्रमुख चुनौती मानिन्छ । तर पथरीशनिश्चरे–९ स्थित आदर्श सीता आधारभुत विद्यालयकी प्रधानाध्यापक रिता धिमालले भने यही चुनौतीलाई अवसरमा बदल्दै विद्यालयलाई नयाँ उचाइमा पुर्याउने प्रयास गरिरहेकी छन् ।

२०७५ साल चैतमा विद्यालय व्यवस्थापन समितिबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि उनी विद्यालय पुनर्जीवनका लागि निरन्तर सक्रिय छिन् । ‘त्यतिबेला विद्यालय मर्ज हुने अवस्थामा थियो । जम्मा ३५ जना विद्यार्थी थिए’– धिमाल स्मरण गर्छिन्, ‘विद्यार्थीको रुचिअनुसार पठनपाठन र अतिरिक्त कृयाकलाप बढाउँदै अहिले कक्षा ६ सम्म अध्यापन गर्न थालेका छौं ।’
रिता धिमाललाई सहकर्मी र अभिभावकहरू ‘नाचेरै विद्यार्थी भेला पार्ने प्र.अ.’ भनेर चिन्छन् । उनी आफैं अगाडि लागेर विद्यार्थीलाई सिकाइमा आकर्षित गर्छिन् । ‘ल, अब यसो गरौं है’ भनेर अघि बढ्दा शिक्षक, अभिभावक र विद्यार्थी सबैले साथ दिने गरेको उनले अनुभव सुनाइन् ।
सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा पछिल्लो समय परिवर्तन आएको उनको भनाइ छ । ‘संस्थागत विद्यालय र अंग्रेजी माध्यममा पढ्ने सामुदायिकका विद्यार्थीबीच खासै फरक छैन’– उनले अभिभावकहरूको प्रतिक्रिया कोट्याइन् । तर उनको दृष्टिमा एक तीतो यथार्थ भने यही हो— ‘दुई–अढाई वर्षसम्म सामुदायिक विद्यालयमै पढाउने, बच्चा राम्रोसँग बोल्न र सिक्न थालेपछि भने अभिभावक निजी विद्यालय लैजान्छन् । बोल्नै नसक्ने बच्चाको दिसा, पिसाव, सिगान सफा गरेर हुर्काउने सामुदायिक विद्यालय हुन्छ । जब बच्चा राम्ररी हुर्किन्छ, त्यसपछि निजी विद्यालयको पालो आउँछ ।’
यस्तो अवस्थामै पनि विद्यालयमा विद्यार्थी थपिँदै गएका छन् । सामुदायिक विद्यालयप्रति विश्वास जगाउन धिमालले गरेका प्रयासलाई स्थानीयवासीले सराहना गर्दै आएका छन् । उनका लागि अझै ठूलो चुनौती विद्यार्थी संख्या हो । तर निरन्तरको जोश, आत्मविश्वास र ‘साथ–सहयोग’का कारण आदर्श सीता आधारभुत विद्यालय अहिले आफूलाई जोगाउन मात्र होइन, अघि बढाउन पनि सफल बन्दै गएको छ ।
आँट र लगनसाथ अघि बढेकी अम्बिका खड्का
पथरीशनिश्चरे–६ मा अवस्थित शिक्षा सदन आधारभूत विद्यालयमा ६ वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएकी अम्बिका खड्का सुरुका दिन सम्झिँदै भन्छिन्– ‘सुरुमा निकै गाह्रो भयो, अहिले त ठीकै छ । आँट गर्दा काम गर्न सकिने रहेछ ।’

८० जना विद्यार्थी र पाँच जना शिक्षक कर्मचारीको टिमलाई नेतृत्व दिइरहेकी उनी अभिभावकको आर्थिक अवस्थाले पारेको असरप्रति चिन्तित छिन् । धेरैजसो अभिभावक ज्याला मजदुरीमा जाने भएकाले छोराछोरीलाई घरमै राख्ने, भाइबहिनी हेराउने, खाना पकाउन लगाउने प्रचलन छ । यसै कारण विद्यार्थी विद्यालय नियमित आउन नसक्ने समस्या रहेको उनले बताइन् । ‘हामी शिक्षक र विद्यालय व्यवस्थापन समितिले ऋषिदेव र मुसहर बस्तीमा गएर अनुरोध पनि गरेका थियौं’– उनी थप्छिन् ।
नेतृत्वमा नयाँ अनुहार अञ्जुकुमारी कटुवाल
उस्तै गरी, दुर्गा आधारभूत विद्यालय (पथरीशनिश्चरे–६) की प्रधानाध्यापक अञ्जुकुमारी कटुवालले गत २०८१ साल चैतदेखि मात्र नेतृत्व सम्हालेकी हुन् । २०५६ सालदेखि अध्यापन गर्दै आएकी उनी प्रशासनिक भूमिकामा भने पहिलोपटक हुन् । ‘पढाउनेतिर ध्यान गएको भए पनि प्रशासनतिर ध्यान दिने अवसर थिएन । अहिले एक्कासी नेतृत्वमा आउँदा केही चुनौती त छन् तर आफ्नै गाउँठाउँ भएकाले सहयोग पाइरहेकी छु’– कटुवाल भन्छिन् ।

उनले आफ्नो विद्यालयलाई आधारभूत तहमा मात्र सीमित नराखी माध्यमिक तहसम्म विस्तार गर्ने लक्ष्य राखेकी छन् । हाल दुर्गा आधारभूत विद्यालयमा २१० जना विद्यार्थी र ११ जना शिक्षक–कर्मचारी कार्यरत छन् ।
सामुदायिक विद्यालयमा महिला नेतृत्वको बढ्दो संलग्नता
यस्तै, पथरीशनिश्चरे–५ को जनता आधारभूत विद्यालयमा यसोदा राउत प्रधानाध्यापकको जिम्मेवारीमा छिन् । उनको नेतृत्वमा विद्यालयले स्थानीय समुदायको विश्वास जित्दै अघि बढिरहेको छ । नगरपालिकाका शिक्षासम्बन्धी अधिकारीहरूको नजरमा पनि उनी सक्रिय र प्रतिबद्ध देखिएकी छन् ।

नगरपालिकाको मूल्याङ्कन
पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल बुढाथोकी महिला प्रधानाध्यापकहरूको भूमिकाबारे यसरी मूल्याङ्कन गर्छन् ः ‘सबैमा होइन, तर केही विद्यालय राम्रा भएका छन् । महिला प्रधानाध्यापकहरूले पनि पुरुषको तुलनामा कमजोर काम गरेका छैनन् । उल्लेख्य सुधार नभए पनि गरौं भनेर लागिरहनु भएको छ । इमान्दारीपूर्वक काम गर्दै हुनुहुन्छ ।’

उनका अनुसार, महिला प्रधानाध्यापकहरूले जिम्मेवारी पाइसकेपछि ‘यो मैले पूरा गर्नु पर्छ’ भन्ने डर र दृढ इच्छाशक्ति देखाएका छन् । यही भावनाले उनीहरूलाई अघि बढाइरहेको छ ।
पथरीशनिश्चरेका सामुदायिक विद्यालयमा महिला प्रधानाध्यापकहरूको अनुभव फरक–फरक भए पनि एउटै साझा बिन्दु छ—चुनौतीसँग जुध्दै अघि बढ्ने आत्मविश्वास र इमान्दारीपूर्वक काम गर्ने संकल्प ।
नगरपालिकाले समेत उनीहरूको कामलाई सकारात्मक रूपमा लिएको छ, जसले देखाउँछ—महिला नेतृत्व शिक्षाको क्षेत्रमा सक्षम मात्र नभई प्रेरणादायी उदाहरण बन्न सक्ने सम्भावना बोकेको छ ।
