संकटमा एनआईसी एसिया बैंकः राष्ट्र बैंकद्वारा हस्तक्षेपको तयारी - Pahilo Online

संकटमा एनआईसी एसिया बैंकः राष्ट्र बैंकद्वारा हस्तक्षेपको तयारी

लाखौं बचतकर्ताको रकम जोखिममा

writer

पहिलो अनलाइन

मोरङ । कर्णाली विकास बैंकको बाटोमा अर्को वाणिज्य बैंक लागेको पाइएको छ । विभिन्न सूचकहरू र बैंकले गरिरहेको कामले गर्दा एनआईसी एसिया बैंक पनि कर्णाली विकास बैंकको बाटोमा लागेको देखिएको हो । जसमा नियामक निकायको हस्तक्षेप आवश्यक भइसकेको जानकारहरू बताउँछन् ।

नेपाल राष्ट्र बैंकले २०८१ सालको अन्त्यतिर कर्णाली विकास बैंकलाई ‘संकटग्रस्त’ घोषणा गर्दै यसको व्यवस्थापन नियन्त्रणमा लियो । बैंकको पूँजी पर्याप्त थिएन, ऋण असुली खस्किएको थियो र निष्क्रिय कर्जा बढ्दै गएको थियो ।

राष्ट्र बैंकले पटक–पटक चेतावनी दिए पनि बैंक सुधार गर्न असफल रह्यो । अन्ततः नियामक निकाय राष्ट्र बैंकले हस्तक्षेप गरेर अस्थायी व्यवस्थापन समिति गठन गर्नुप¥यो । विगतमा मनलाग्दी तरिकाले ऋण बाँडिएको, जोखिम मूल्याङ्कन नगरी कर्जा प्रवाह गरिएको र ऋणीहरूलाई दबाब दिने कार्यशैलीले नै बैंकलाई संकटमा पु¥याएको थियो ।

ठ्याक्कै यस्तै संकेतहरू अहिले एनआईसी एशिया बैंकमा देखिन थालेका छन् । केही वर्षअघि आक्रामक विस्तार र ब्यापक शाखा सञ्जालको कारण चर्चामा रहेको यो बैंक अहिले ऋण असुली गर्न पनि असक्षम देखिएको छ । बैंक ऋणा असुलीमा भन्दा लिलामीमा बढी केन्द्रित देखिन थालेको छ ।

बैंकले धितो लिलामीका लागि विशेष अनलाइन पोर्टल नै बनाएको छ, जुन बैंकिङ उद्देश्यभन्दा धेरै टाढाको अभ्यास हो । ग्राहकसँग संवाद नगरी एकपक्षीय रूपमा ब्याज बढाउने, किस्ता असुलीमा मनलाग्दी गर्ने र कर्जासम्बन्धी सम्झौतामा अस्पष्टता राख्ने कार्यहरू एनआईसी एशिया बैंकले गर्दै आएको छ ।

बैंकको वित्तीय सूचकहरू गम्भीरः

बैंकको वित्तीय सूचकहरू झनै गम्भीर छन्। चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको नाफा ९० प्रतिशतभन्दा बढी घटेर १५ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी थियो ।

निष्क्रिय कर्जा ५.७५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । यस्तै, प्रति शेयर आम्दानी केवल १ रुपैयाँ ४१ पैसा र लगानी प्रतिफल ०.७१ प्रतिशतमा झरेको छ, जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा न्यून हो ।

राष्ट्र बैंकले एकीकृत निर्देशन २०७४ को उल्लंघन गरेको भन्दै एनआईसी एशिया बैंकलाई चेतावनी दिइसकेको छ। ऋण सम्झौतामा कर्जाको प्रकार, ब्याजदर र किस्ताको स्पष्टता नरहेको, ऋणीलाई ब्याज बढाएको सूचना नदिएको जस्ता गम्भीर त्रुटिका बाबजुद पनि हालसम्म गम्भीर कारबाही गरिएको छैन ।

कर्णाली विकास बैंकलाई पनि यस्तै चेतावनीहरू दिइएका थिए, तर सुधार नभएपछि अन्ततः राष्ट्र बैंकलाई हस्तक्षेप गर्न बाध्य बनाएको थियो । त्यसैले अहिले एनआईसी एशियाको अवस्था हेर्दा त्यही बाटोमा लम्किँदै गरेको संकेत प्रष्ट देखिन्छ ।

बैंकको कार्यशैलीप्रति ऋणी मात्र होइन, बचतकर्ता पनि निराश छन् । ऋणीहरू बैंकको दबाबमा परिरहेका छन्, भने बचतकर्ता आफ्नो पूँजीको सुरक्षाबारे आशंकित बन्ने गरेका छन् । बैंक लिलामीमा बढी ध्यान दिन थालेपछि ग्राहकको भरोसा खस्कँदै गएको हो ।

एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ९० करोड २२ लाख रुपैयाँले ऋणात्मक छ । कर्जा नोक्सानी व्यवस्थाका लागि ३ अर्ब ५ करोड ३ लाख रूपैयाँ छुट्याएको छ ।

एनआईसी एशिया ठूलो नेटवर्क, प्रविधिमा पहुँच र ब्राण्ड शक्तिमा बलियो बैंक हो । तर व्यवस्थापन तहमा देखिएको मनपरीपन, नियामकीय निर्देशको उल्लंघन र ऋणी तथा ग्राहकसँगको सम्बन्धमा देखिएको कठोरता यथावत् रहेमा यो बैंक कर्णाली विकास बैंककै नियति दोहोर्याउने खतरा छ ।

‘एकीकृत निर्देशन २०७४’ को उल्लंघन गर्दै ऋणीसँगको सम्झौता विपरीत ब्याजदर एकतर्फी बढाइएको पाइएपछि राष्ट्र बैंकले सचेत गराएको थियो । सम्झौतापत्र अपारदर्शी, ब्याज र किस्ताको स्पष्टता नभएको, ऋणीलाई जानकारी नदिएको जस्ता गम्भीर गल्ती गर्दै आएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा नियामकीय निर्देशन उल्लंघन गर्ने एनआईसी एशियालाई ऋणीसँगको सम्झौता विपरित ब्याजदर बढाएपछि एनआईसी एशिया बैंकलाई सचेत गराएको छ ।

समयमै गम्भीर सुधार नभए, एनआईसी एशिया कर्णालीकै बाटोमा जाने अवस्था सिर्जना नहोला भन्न सकिन्न ।

तुलसीराम अग्रवाल यस बैंकको अध्यक्ष छन् भने प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने छन् । उनीहरूले बैंकमा बेथिती मच्चाएका हुन् । जसका कारण लाखौं बचतकर्ताको विश्वास बैंकले गुमाउँदै गएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles