पथरी । पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म हुने भएको छ। आयोजक पथरी–११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सम्बन्धी जानकारी दिएको हो।
क्लबका अध्यक्ष सुमन विकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु. ५ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले रु. २ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न झन्डै ६० लाख रुपैयाँ लागत अनुमान गरिएको जानकारी दिए।
प्रतियोगितामा पहिलो संस्करणमा सहभागी भएका टिमहरुलाई प्राथमिकता दिइने समेत आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, स्थानीय समाजसेवी प्रदीपकुमार राई, प्रतियोगिता संयोजक जितेन राई, कोषाध्यक्ष अम्बिका लिम्बू, फुटबल टिमका कोच अर्जुन बस्नेत र खेलप्रेमी भिष्म न्यौपाने लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव केशर राईले गरेका थिए।



