प्रदेश प्रमुखको उपस्थितिमा लेटाङ नगरपालिकाको बजेट सार्वजनिक - Pahilo Online

प्रदेश प्रमुखको उपस्थितिमा लेटाङ नगरपालिकाको बजेट सार्वजनिक

writer

पहिलो अनलाइन

लेटाङ । लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष ०८२।०८३ को नीति, बजेट तथा कार्यक्रम एक समारोहकाबीच सार्वजनिक गरिएको छ । गत असार १० गते सम्पन्न १७ औँ नगरसभाबाट पारित भएको बजेट, नीति तथा कार्यक्रम सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा भव्य कार्यक्रम गरि सार्वजनिक गरिएको हो ।
लेटाङ ५ स्थित रेस्क्यू सेन्टरको नवनिर्मित भवनमा नगर प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतमा भएको कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले आर्थिक वर्ष ०८२।०८३ को नीति, बजेट तथा कार्यक्रमको संक्षिप्त विशेषता र शीर्षकहरु बारे जानकारी गराउँदै बजेट सार्वजनिक गर्नुभयो ।


कार्यक्रमको सुरुमा सम्बोधन गर्दै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरपालिकाले लिंदै आएका नीति सञ्चालन गर्दै आएका कार्यक्रम, अभ्यास र अनुभवहरु बारे जानकारी गराउनुभयो । उहाँले नगरपालिकाले पछिल्लो समय सिमित श्रोत साधनका बाबजुद शिक्षा, सुशासन र स्वास्थ्यको क्षेत्रमा निकै सुधार गरेको पनि बताउनुभयो । एसइइको नजितामा उल्लेख्य सुधार आएको, नगर अस्पताल व्यवस्थित भएको, बेजुरुमा घटाएको र सँस्थागत मूल्यांकनमा सुधार गरेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले लेटाङ नगरपालिका स्थानीय तहहरुमध्ये उदाहरणिय रहेको भन्दै प्रशंशा गर्नुभयो । उहाँले स्थानीय सरकारले राम्रो काम गरेमा राजानीति परिवर्तन पनि स्थायी हुने भन्दै जनतामा असन्तुष्टि नआउने गरि काम गर्न आग्रह गर्नुभयो । कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुशपालनमा बजेटले सम्बोधन गरेको भन्दै उहाँले आर्थिक अनुशासनमा पनि जोड दिएको महसुश गरेको बताउनुभयो ।
प्रदेश प्रमुख खापुङले ३ तहका सरकारमध्ये स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिएकाले सबै समस्याहरु स्थानीय तहले समना गर्नुपर्ने भन्दै ऐन कानुन बनाएर जनताका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयता, लोकतन्त्र र गणतन्त्र र धर्मनिरपेक्षमाथि कतिपयले प्रश्न उठाएको भन्दै तीनको सार्थकताका लागि समेत स्थानीय सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पूर्वसांसद घनश्याम खतिवडाले लेटाङ क्षेत्रको विकासले निकै गति लिएको भएपनि पर्याप्त भने नभएको बताउनुभयो । उहाँले आफू सांसद भएका बेला संसदलाई सम्बोधन गर्दै माग गरेका विकास निर्माणका कामहरु अघि बढेको समेत बताउनुभयो ।

आफुले माग गरे बमोजिम मदन भण्डारी राजमार्ग निर्माण भएको, उत्तर दक्षिण जोड्ने सडकहरु निर्माण हुँदै गरेको र तमोर चिसाङ डाइभर्सनको डीपीआर हुँदै गरेको भन्दै उहाँले विकास भएन भनेर निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । तमोर चिसाङ डाइभर्सन संघीय सरकारको कार्यक्रम भएपनि प्रदेश सरकारले समेत प्रथमिकतामा राखेकाले केहि वर्ष भित्रै निर्माण सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्रप्रसाद घिमिरेले नगर क्षेत्रमा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका योजना कार्यान्वयनको अवस्था राम्रो नभएको बताउँदै स्थानीय सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै लेटाङ नगरपालिकाका पूर्वनगर प्रमुख शंकर राईले बजेट नीति तथा कार्यक्रम महत्वपूर्ण रहेको भन्दै सबै मिलेर सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले आफु नगर प्रमुख भएको समयमा निकै समस्या रहेको बताउँदै भौतिक संरचनाको अभाव, नीति नियम र अनुभवको कमी तथा कर्मचारीको अस्थिरता जस्ता समस्यासँग जुध्नु परेको बताउनुभयो ।
कार्यक्रममा सबै राजनीतिक दलका प्रतिनिधिहरुको तर्फबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता गोपाल नेपालीले प्रतिपक्षी दल भएपनि नगरपालिकाका असल कामहरुमा सँधै सहयोग गर्दै आएको बताउनुभयो । उहाँले राजनीतिक दलहरुप्रति जनतामा असन्तुष्टि देखिएको बताउँदै थोरै तर जनतालाई अनुभुति हुने गरिको नमुना काम गरेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रमको प्रारम्भमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको महत्व बारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट हुने तथा सामाजिक योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको छ । नगरका उत्कृष्ट कृषकहरु, २०८० को एसइइ परीक्षा र २०८१ को कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरु, इनोभेटिभ शिक्षक, २०८१ को एसइइमा उत्कृष्ट नजिता ल्याउने विद्यालय, कक्षा ८ मा उत्कृष्ट नजिता ल्याउने विद्यालय, उत्कृष्ट कार्यसम्पादनमा प्रथम र दोश्रो हुने माध्यमिक र आधारभुत विद्यालय, प्रदेशको टीमबाट खेल्ने महिला भलिवल खेलाडी, प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण पदक पाउने तेक्वन्दोका खेलाडी, वी डिभिजनमा खेल्ने फुटबल खेलाडीहरु, नगरपालिकाका उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गरिएको हो ।

यस्तै वडा नम्बर ५ को वडा कार्यालय र स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि जग्गदन गर्ने जग्गादातालाई सम्मान गर्नुका साथै अवकास प्राप्त गर्ने शिक्षक र विद्यालय कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा आगमी आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रम पुस्तिका, नगर शिक्षा योजना, आर्थिक ऐन २०८२, विनियोजन ऐन २०८२, खेलकुद तथा स्काउट बुकलेट २०८२, न्यायिक समितिको प्रतिवेदन २०८२, सार्वजनिक लेखा समितिको प्रतिवेदन, योजना फरफारक प्रतिवेदन लगायत नगरपालिकाका विभिन्न प्रकाशनहरु पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु, कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक वन, सहकारी, विद्यालय, खेलकुद क्षेत्र लागतयका सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सञ्चारकर्मीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
नगरपालिकाद्वारा सम्मानित
लेटाङ नगरपालिकाले विभिन्न व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा जग्गादाता, उत्कृष्ट शैक्षिक संस्था, सेवाप्रदायक कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी र कृषकहरूलाई सम्मान गरिएको हो ।
लेटाङ ५ का जग्गादाता सम्मानित

कार्यक्रममा लेटाङ ५ मा वडा कार्यालय भवन र स्वास्थ्य केन्द्र निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने टोमनाथ मगर, पुनम मास्की मगर, घनश्याम मगर, मानबहादुर चौहान, डम्बर कुमारी कार्की, र अर्थ बहादुर कार्कीलाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो ।


दीर्घसेवा शिक्षक तथा कर्मचारीलाई सम्मान

नगरपालिकलो आर्थिक वर्ष २०८१÷८२ मा अवकाश पाएका शिक्षक–कर्मचारीहरू श्रीप्रसाद ढकाल, नारायण खतिवडा र बलबहादुर मगरलाई दीर्घकालीन सेवाको कदर गर्दै सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरेको छ ।

इनोभेटिभ टिचर र उत्कृष्ट कर्मचारी सम्मान

‘इनोभेटिभ टिचर’ को रुपमा देवराज सापकोटा (लक्ष्मी मावि, लेटाङ–२) र ‘नगरको उत्कृष्ट कर्मचारी’ को रूपमा सि.अ.हे.व. इन्द्रकलाकुमारी चौधरी (वारङ्गी स्वास्थ्य चौकी, लेटाङ–७) लाई सम्मान गरिएको छ । दुवैजनालाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरेको छ ।
उत्कृष्ट विद्यार्थीलाई सम्मान

२०८० सालको एसइइ परीक्षमा सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट जीपीए ३.७० प्राप्त गर्ने लक्ष्मी माध्यमिक विद्यालय, लेटाङ–२ की छात्रा पूजा दाहाल र ३.९१ जीपीए प्राप्त गर्ने शिक्षा विकास माध्यमिक विद्यालय, लेटाङ–५ का आभाष मिश्रलाई सम्मान गरिएको छ ।

यस्तै २०८० सालको एसइइ परीक्षमा सँस्थागत विद्यालयतर्फ ३.६५ जीपीए ल्याउने ग्यालेक्सी एकेडेमी, लेटाङ–३ की सामना लिम्बु र ३.४५ जीपीए प्राप्त गर्ने लेटाङ ग्रीनभ्याली एकेडेमी, लेटाङ–४ का गौरव अधिकारीलाई सम्मान गरिएको छ ।

यस्तै २०८१ सालको कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सोही समारोहमा सम्मान गरिएको छ । उत्कृष्ट जीपीए ल्याउनेमध्ये लक्ष्मी मावि, लेटाङ–२ की अनुस्का मगर, शान्ति भगवती मावि, लेटाङ–४ का पृथ्वीराज कटुवाल र नोबेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेसन, लेटाङ–८ का अर्लि मगर र आयुस खत्रीलाई सम्मान गरिएको हो ।
विद्यालयहरूलाई कार्यसम्पादनमा पुरस्कार

शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयहरू मध्ये शान्ति भगवती मावि लेटाङ–४ ले पहिलो र श्री शिक्षा विकास मावि लेटाङ–५ ले दोस्रो स्थान प्राप्त गर्दै नगद अनुदानसहित सम्मान प्राप्त गरेका छन् । आधारभूत विद्यालयतर्फ श्री बाल विकास आ.वि. लेटाङ–१ पहिलो र श्री पब्लिक प्रा.वि. लेटाङ–६ दोस्रो भएका छन् ।

यसैगरि २०८१ को एसइइमा सर्वाधिक प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालय लेटाङ–७ पित्लुम्बा स्थित लक्ष्मी माविलाई सम्मान गरिएको छ ।
तीन जना कृषक सम्मानित

उत्कृष्ट कृषकको रुपमा कफि खेती गर्दै आएका लेटाङ ७ का राजविक्रम राई, च्याउ खेति गर्ने लेटाङ ९ का राजन सापकोटा र तरकारी खेति गर्ने लेटाङ ३ की पलम कुमारी मगरलाई सम्मान गरिएको हो ।
खेलाडीहरुलाई सम्मान

कोशी प्रदेशको टीमबाट खेल्न सफल महिला भलिबल खेलाडी लिला लिम्बु, सोलिना लिम्बु र स्मृति राईलाई सम्मान गरिएको छ । यसैगरि वी डिभिजनको क्लवबाट खेल्न सफल फुटबल खोलाडी ध्रुव तिरुवा र सुमन मगरलाई पनि सम्मान गरिएको छ ।

यस्तै प्रदेश स्तरीय कराँते प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी दीपशिखा राई र पुजन विकलाई पनि सम्मान गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles