संखुवासभा । संखुवासभाका ७० हजार भेडाबाख्रालाई पिपिआर खोप लगाइएको छ। जिल्लाका १० वटै स्थानीय तहका दुई लाखभन्दा बढी पशुहरूलाई खोप लगाउने काम शुरु भएको छ। जिल्लाका करिब दुई लाख १५ हजारभन्दा बढी पशुलाई खोप लगाउने कार्य जारी रहेको भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखे्रलले जानकारी दिए।
पशुपक्षीहरूलाई पिपिआर, स्वाइन फिगर, खोरेत, चर्चरे भ्यागेत र रानीखेतविरुद्धको भ्याक्सिन निःशुल्क रुपमा लगाउने अभियान सुरु गरिएको हो। पशुपंक्षी खोपअन्तर्गत भेडाबाख्रालाई पिपिआर खोप, कुखुरा हाँसलाई रानीखेत विरुद्धको खोप, बाख्रालाई खोरेत विरुद्धको खोप, गाईभैँसीलाई भ्यागुते चर्चरे खोप र सुगुरलाई स्वाईन फिगर खोप लगाउने गरिन्छ।
जिल्लाभित्र करिब २ लाख १५ हजार बढी पशुपंक्षीलाई खोप लगाउने योजना रहेको भेटेरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र संखुवासभाले जनाएको छ। खोप कार्यक्रममा हाल सम्म ७० हजार भेडाबाख्रालाई खोप लगाइ सकिएको पशुविज्ञ केन्द्र प्रमुख पोख्रेलले बताए। भोजपुर जिल्लामा समेत ४० हजार र भेडाबाख्रालाई पिपीआर खोप लगाइ सकिएको उनले बताए।
त्यस्तै, भेडाबाख्रालाई पिपिआर लगाइ सकेपछि अन्य पशुपंक्षीलाई पनि खोप लगाउनु सुरु गर्न भेटेरीनरी अस्पतालले जनाएको छ। करिब १ लाख कुखुरा हाँसलाई रानीखेत विरुद्धको खोप र १८ हजार सुँगुरलाई स्वाइन फिगरको खोप र १० हजार गाईभैसीलाई चर्चरे भ्गागुते विरुद्धको खोप लगाइदैछ भेटेनेरी अस्पताल प्रमुख पोख्रेलले बताए।
जिल्लाको १० वटा नै स्थानीय तह खाँदबारी, चैनपुर, मादी, धर्मदेवी र पाँचखपन गरि पाँच वटा नगरपालिका र सभापोखरी, सिलिचोङ, चिचिला, मकालु र भोटखोला गरि पाँचवटा गाउँपालिकामा एकैसाथ पशुपंक्षीहरुलाई खोप लगाउन शुरुवात गरिएको हो।
भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र जिल्लाका १० वटा नै स्थानीय तहमा खोप लगाउन आवश्यकता अनुसारमा भ्याक्सिनहरु उपलब्ध गराई सकेको भेटेरिनरी अस्पताल प्रमुख पोख्रेलले जानकारी दिए। केही दिन अगाडि खाँदबारी नगरपालिका –३ मा पदम तामाङ र जयकला राईले पालेका ३ सय बढी कुखुरा रानीखेत रोगले मरेको थिए। (थाहखबर)