मोरङ । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्ममा २५ करोड ३३ लाख ६३ हजार ८ सय २४ रुपैयाँ खर्च भएको खर्च विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना नियन्त्रणमा प्रदेश सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्ने माग गर्दै सोमबार प्रदेशसभा बैठक अवरुद्ध गरेपछि मंगलबार प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बैठकमा खर्च सार्वजनिक गरेका हुन् ।
मन्त्री कार्कीले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार १ सय ७०, सामाजिक विकास मन्त्रालयले नियमित बजेटबाट ३ करोड ३० लाख ९२ हजार ६ सय ५४ र नेपाल सरकारबाट प्राप्त २ करोड २० लाख खर्च भएको प्रदेशसभामा जानकारी गराए । जनसुरक्षा कोषबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ५० लाख १ सय १५, भौतिक पूर्वाधार विकास मन्त्रालयले २ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १५ करोड ३४ लाख र सामाजिक विकास मन्त्रालयले २ करोड ४८ लाख ७१ हजार २० रुपैयाँ खर्च गरेको उनले बताए ।
उक्त रकमको खर्च विवरण प्रदेशसभामा मन्त्रालय रुपमा प्रस्तुत गरिने कार्कीको भनाइ थियो । जनसुरक्षा कोषमा हाल ९ करोड ६९ लाख १ हजार ९ सय ७२ रुपैयाँ मौज्दात रहेको कार्कीले प्रदेश सभालाई जानकारी गराए । मन्त्री कार्कीले नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेयता अर्को देश प्रवेश गरे जस्तो गरी काठमाडौं प्रवेशका लागि गरेको पास तथा अनुमतिको व्यवस्था न्यायोचित नभएको भन्दै तत्काल सच्याउन माग गरेका छन् । ‘काठमाडौ. प्रवेशमा सर्वसाधारणले झेल्दै आएको कठिनाइको बारेमा प्रदेश सरकारको प्रादेशिक संकट व्यवस्थापन केन्द्रको असार ३ गतेको बैठकले निर्णय गरेको छ,’ उनले भने, ‘उक्त निर्णयअनुसार गृहमन्त्री र प्रधानमन्त्रीलाई पत्राचार गरी आवश्यक समन्वय भइरहेको छ ।’
