
सुनसरी । चार वर्ष पछि हुन लागेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह अनिश्चितकालका लागि स्थगित गरिएको छ । फागुन २४ गतेका लागि दीक्षन्त समारोहको मिति तोकिएको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण चीनपछि, कोरिया, इरान हुँदै भारतसम्म देखिएपछि तत्काललाई दीक्षान्त समारोह स्थगित गरिएको हो । वार्षिकरुपमा गरिदै आएको दीक्षान्त समारोह गर्दै आएको प्रतिष्ठानले चार वर्षयता विभिन्न कारणले हुन सकिरहेको छैन् । १३ औं दिक्षान्त समारोह ४ वर्षदेखि नहुँदा विदेशका मेडिकल युनिभर्सिटीमा चिकित्साशास्त्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रमाणपत्र पाउन सकेका छैनन् ।
प्रतिष्ठानले चार वर्षपछि हुन लागेको १३ दिक्षान्त समारोहमा चिकित्साशास्त्र अध्ययन गरेका १ हजार २ सय ७७ जनालाई स्नाकोत्तर तहको सर्टि्फिकेट दिने कार्यक्रम तय गरेको थियो । प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा. गुरु खनालले सरकारले कोरोना भाइरस विश्वभर फैलिएकोले भेला तथा सम्मेलन नगर्न आव्हान गरेका कारण दीक्षान्त समारोह स्थगित गरिएको बताए ।
उनले भने, ‘सरकारले भेला, सम्मेलन नगर्न भनिसकेको छ । प्रतिष्ठानको दीक्षान्तमा विभिन्न ठाउँबाट आएका तीन हजार भन्दा बढी भेला हुने भएकाले तत्कालका लागि स्थगित गरिएको हो ।’ उनले कोरोना संक्रमणको अवस्था हेरेर दीक्षान्त समारोहका लागि पछि नयाँ मिति तोकिने बताए ।
