प्रदेशसभामा सांसदको फितलो प्रस्तुति - Pahilo Online

प्रदेशसभामा सांसदको फितलो प्रस्तुति

निर्धारित विषयवस्तु भन्दा बाहिर नबोल्न सांसदलाई सभामुखको रुलिङ

writer

विवेक गौतम

विराटनगर । मुलुक संघीय संरचनामा गएर प्रदेश संसदको अभ्यास पुरा भएको ६ महिना पुरा भएपनि सांसदहरु प्रदेश सभा बैठकमा अझै अलमलमा पर्ने गरेका छन् ।

नयाँ संरचनाको अभ्यासमा अनुभवको कमी तथा सांसदहरुको तयारी तथा अध्ययनको कमीका कारण प्रदेशसभामा सांसदको प्रस्तुति फितलो हुने गरेको छ ।

संसदमा के विषयवस्तु छलफल भइरहेको छ भन्ने विषयमा पूर्वजानकारी नराख्दा र सो विषयमा अध्ययन नगर्दा सांसदहरुको प्रस्तुति प्रभाबकारी बन्न नसकेको हो । जसले गर्दा सांसदहरुले संसदमा बोल्ने क्रममा सम्बन्धित विषयबस्तुभन्दा बाहिर जाँदा सभामुखले रुलिङ गर्नुपर्ने अवस्था बन्ने गरेको छ ।

आइतबारको प्रदेशसभामा प्रदेश वित्त व्यवस्थापन विधेयकमाथिको छलफल अत्यन्तै फितलो देखिएको थियो । नेपाली कांग्रेसका सांसद लोकप्रसाद संग्रौलाले विधेयकमाथिको सैद्धान्तिक छलफललाई विषयान्तर गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले विषयवस्तुमा केन्द्रीत हुन रुलिङ नै गर्नुपरेको थियो । तर, विधेयकमाथिका विषयवस्तुमा छलफल गर्न १० मिनेट समय पाएका संग्रौलाले विधेयकका विषयवस्तु माथि एक मिनेट पनि बोल्नुभएन ।

प्रदेशको राजधानी नतोकिएको देखि वडा अध्यक्षको जतिपनि हैसियत आफुहरुको नरहेको सम्मका विषय संग्रौलाले उठान गर्नुभएको थियो । उहाँले प्रदेशसभामा नास्ता खान क्वान्टिनसमेत नहुँदा सांसदहरुले सडकमै उभिएर नास्ता खानुपर्ने अवस्था रहेको गुनासोसमेत गर्नुभयो । यि विषय संसदको शुन्य समय वा विषेश समयमा उठान गर्नुपर्ने विषय थिए ।

बैठकमा सोहि विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिएका नेकपाका सांसद राजकुमार ओझाले विधेयक राम्रो रहेको बताएपनि विधेयकमा रहेको सञ्चित कोष र प्रदेश विभाज्य कोषबारे आफू स्पष्ट नरहेको बताउनुभयो । विधेयकका सबै विषयवस्तुमा स्पष्ट नभएपनि प्रदेश बजेट कार्यान्वयनका लागि विधेयक आएको उहाँको गोलमटोल भनाइ थियो ।

बैठकमा नेकपाकै सांसद मोहनकुमार खड्काले वित्त व्यवस्थापन सम्बन्धि विधेयक बजेट कार्यान्वयनको पाटो भएपनि प्रदेश सरकारले स्थानीय तहका करको दर सम्बन्धि पनि कानुन बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहले जथाभावी कर संकलन गर्दा त्यसको दोश प्रदेश सरककार र संघीय सरकारमाथि आएको भन्दै उहाँले जनतामा यसप्रति आक्रोश रहेको बताउनुभयो ।

प्रदेशसभामा सांसदहरुको प्रस्तुति विषयान्तर भएको बारेमा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले पनि आफ्नो सम्बोधनमा संकेत गर्नुभयो । उहाँले बिधेयकमाथिको छलफलपछि जवाफ दिने क्रममा विधेयकको विषयमा सांसदले उठाएका विषयको जवाफ दिएपनि अन्य विषय फरक सन्दर्भमा स्पष्ट पार्ने बताउनुभयो । उहाँले विधेयकको उद्देश्य र कार्यान्वयनको विषयमा सांसदहरुलाई प्रष्ट्याउनु भएको थियो ।

प्रदेशसभामा प्रस्तुतिका लागि सांसदहरुलाई आवश्यक अभिमुखिकरण वा तालिमसमेत प्रदेशसभा सचिवालयले दिन सकेको छैन । जसले गर्दा पनि सांसदहरुको प्रस्तुति फितलो हुने गरेको स्वयम् सांसदहरुकै भनाई छ । प्रदेश नं. १ मा ९३ जना सांसद भएपनि करिब एक दर्जन सांसदहरुले मात्र विषय केन्द्रित भएर संसदमा बोल्ने गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes