नेपाल-भारत ‘अदुवा-वार्ता’ हुने  - Pahilo Online

नेपाल-भारत ‘अदुवा-वार्ता’ हुने 

writer

पहिलो अनलाइन

विराटनगर, १२ फागुन । नेपाली अदुवामा चीनबाट आएको अदुवाको मिसावट भएको आरोप लगाउँदै भारतले आयात गर्न नमानेपछि नेपाल–भारतबीच चैतमा ‘अदुवा-वार्ता’ हुने भएको छ।

वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार भारतमा अदुवा निकासी गर्दा देखिएका समस्या समाधान गर्न चैतमा अन्तरसरकारी बैठक (आइजीसी) आयोजना गर्न लागिएको हो। बैठकमा अदुवा समस्या लगायत अन्य एजेण्डामा पनि छलफल हुनेछ।

सैंजुका अनुसार दुई देशबीच हुने बैठकमा वाणिज्य मन्त्रालयले ‘चीनबाट अदुवा ल्याएर नेपाली उत्पादन भन्दै भारतमा निर्यात गरेको’ भन्ने भारतीय पक्षको आरोप गलत रहेको प्रमाणसहित फेरि प्रष्ट्याउने छ।

‘बैठकको मिति र स्थान अझै तय भैसकेको छैन तर चैतमा बस्ने सहमती भएको छ’, सहसचिव सैंजुले नेपालखबरसँग भने, ‘वाणिज्य मन्त्रालय उक्त बैठकमा छलफल गरिने एजेण्डाको तयारीमा जुटेको छ।’

दुई साताअघि वाणिज्य सचिव चन्द्रकुमार घिमिरेको नेतृत्वमा नेपाली टोली कोलकत्ता गएको थियो। टोलीले नेपाली अदुवामा चीनको अदुवा मिसावट भएको आरोप, भारतीय व्यापारीलाई बैंक ग्यारेन्टि राखेर मात्रै नेपाली अदुवा आयत गर्न दिने कोलकत्ता कस्टम कमिस्नर कार्यालयको आदेश तथा कोलकत्ता पोर्टको अवस्थाबारे जानाकारी लिएको टोलीका सदस्य सैंजुले बताए।

कोलकत्ता कमिस्नर कार्यालयका पदाधिकारीले पनि नेपाली टोलीसँग नेपाली अदुवामा चीनको अदुवा मिसावट भएको दाहोर्याएका थिए।

‘पहिले नेपालबाट भारत आउने अदुवामा जुन गुणस्तर थियो अहिले त्यो छैन’, कोलकत्ता कस्टम कमिस्नर कार्यालयका अधिकारीको भनाइ उद्धृत गर्दै सहसचिव सैंजुले भने, ‘भारतीय पक्षले मिसावट भएको आरोप लगाएपछि चीनबाट नेपालमा अदुवा आयात नगर्ने भन्दै नेपाली अदुवा भारत निर्यात गर्न दिन माग गरिएको थियो, तर अझै पनि उनीहरू त्यही कुरा दोहोर्याइरहेका छन्।’

नेपाली अदुवाको भारत निर्यात गत वर्षको तुलनामा निकै घट्नुको अर्को कारण सिमा क्षेत्रका भारतीय व्यापारीलाई कोलकत्ता कमिस्नर कार्यालयले बैंक ग्यारेन्टि माग गर्नुपनि रहेको छ। बैंक ग्यारेन्टीको झन्झट लगाएर भारतीय व्यापारीलाई नेपाली अदुवाको कारोबार गर्न निरत्साहित गरिएको हो। वाणिज्य मन्त्रालयका अनुसार गत वर्ष २५ करोड रुपैयाँको अदुवा भारत निर्यात भएकोमा यो वर्ष त्यत्ति नै अवधीमा करिब ११ करोडको मात्रै निर्यात भएको छ।

कोलकत्तास्थित भारतीय अधिकारीहरूले बैंक ग्यारेन्टीको व्यवस्था गरिएको स्वीकार गर्दै बैंकमा दुई लाख भारतीय रुपैयाँ धरौटी राखेपछि मात्र भारतीय व्यापारीले नेपाली अदुवाको कारोबार गर्न पाउने नेपाली टोलीलाई बताए।

नेपाली अदुवाको आयात रोक्दा नेपाल–भारत व्यापार सम्बन्धमा नराम्रो सन्देश जाने डरले भारतीय पक्षले मिसावटको आरोप र अनेक झन्झट लगाएर अवरोध सिर्जना गर्न खोजेको गुनासो नेपाली व्यापारीले गर्दै आएका छन्।

भारत निकासीमा अवरोध आएपछि केही नेपाली व्यापारीले बंगलादेश अदुवा निकासी गर्न थालेका छन्। तर वाणिज्य मन्त्रालयसँग अहिलेसम्म त्यसबारे यकिन तथ्याङक छैन।

सहसचिव सैंजुका अनुसार काँचो अदुवा निकासीमा समस्या हुन थालेपछि वाणिज्य मन्त्रालयले सुठो (अदुवाको धुलो) निर्यात गर्ने नीति ल्याउन अर्थ मन्त्रालयमा प्रस्ताव लगेको छ। विश्व बजारमा प्रशोधन गरिएको अदुवाको सुठो नै बढी बिक्रि हुने गरेपनि नेपालले भारतमा काँचो अदुवा नै निर्यात गर्दै आइरहेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes