
मोरङ । रसुवा भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको हो।
चितवनमा मात्रै ३२१ जनाको शव फेला परेको छ। पूर्वनवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, धादिङमा ५७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
त्यस्तै गोरखामा ६५, नुवाकोटमा ९५, तनहुँमा ३८ र रसुवामा ४१ जनाको शव फेला परेको छ। बाढीमा परी घाइते हुनेहरूको संख्या २७९ र डिस्चार्च हुनेको संख्या १६८ छ।
प्राधिकरणका अनुसार हालसम्म ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन् भने ११ हजार ८८४ जनाको उद्धार गरिएको छ।
रसुवागढी नेपालको उत्तरी सीमामा रहेको एउटा व्यापारिक नाका मात्र होइन। पछिल्ला वर्षहरूमा यो चीनसँगको व्यापार, जलविद्युत्, रोजगारी र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्र बनेको थियो।
तर भदौ १० गते बिहान कार्यालय समय सुरु हुनेबित्तिकै रसुवागढीको व्यापारिक नाका भत्काउँदै अघि बढेको भोटेकोसीको बेग यति डरलाग्दो थियो कि यसले रसुवा, नुवाकोट र धादिङ मात्र होइन, नेपालका सातै प्रदेशलाई शोकमा डुबाएको छ।
त्यसका अलावा दर्जन जलविद्युत् आयोजना ध्वस्त पार्दा ठूलो संख्यामा इन्जिनियरहरू बेपत्ता भएका छन्। दक्ष जनशक्तिमा भएको यो क्षति अपूरणीय रहेको अधिकारीहरूको भनाइ छ।
अचानक आएको बाढीले घर, सडक र पुल मात्र बगाएन, दक्ष युवा जनशक्ति पनि बगायो। बाढीले रसुवाको उत्तरी भूभागलाई तहसनहस पार्दा सुरुमा यो एउटा सीमावर्ती जिल्लाको विपत्ति जस्तो देखिएको थियो। तर जब हराइरहेका मानिसहरूको सूची लामो हुँदै गयो, शवहरू भेटिन थाले, अनि यसको देशव्यापी प्रभाव महसुस हुन थाल्यो।
गृह मन्त्रालयका पछिल्ला तथ्यांकअनुसार बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको र करिब ४ हजार मानिस हराइरहेका छन्। प्रभावितमध्ये कोही मजदुर थिए, कोही जलविद्युत आयोजनामा कार्यरत प्राविधिक र इन्जिनियर, कोही व्यापारी, चालक वा सामान ढुवानी गर्ने कामदार। कतिपय तीर्थयात्री थिए, जो गोसाइँकुण्ड र मानसरोवरतर्फ जाने यात्रामा थिए।
यस्तै बाढीले रसुवा र नुवाकोटबाहेक धादिङका पनि केही बजार र पुल सखाप पार्यो। बाढीले ४२ किलोमिटर सडकसहित १० हजार घर क्षतिग्रस्त बनाएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
क्षतिग्रस्त तीनै जिल्ला बागमती प्रदेशमा पर्छन्। तर, बाढीको असर यसपटक त्यतिमै सीमित छैन। अधिकारीहरूका अनुसार ज्यान गुमाउने र बेपत्ता संख्या हेर्दा नेपालका ७ वटै प्रदेश र ७७ वटै जिल्लाका मानिस बाढीको चपेटामा परेका छन्। रसुवाको कालिका गाउँपालिका प्रवक्ता सन्दीप पौडेलका अनुसार पछिल्लो दिन रसुवागढी व्यापारिक हब बनेकाले नेपालको सबै जिल्लाका मानिसहरू कुनै न कुनै रूपमा प्रभावित भएका छन्।
‘हाइड्रोमा काम गर्ने, ट्राभल गर्ने, भन्सारमा काम गर्ने, मजदुर, तीर्थयात्री, ट्रक चालक पर्नुभयो,’ उनले भने, ‘सेना, प्रहरी र सशस्त्रसहित सबैखाले बाढीमा पर्नुभएको छ नि त। यस आधारमा सबै जिल्लाकै पर्नुभयोे जस्तो लाग्छ। मलाई लाग्छ, पूरै नेपाललाई असर गरेको छ। दक्ष युवाहरू पर्नुभयो, जुन देशको श्रमबजारका लागि गम्भीर धक्का हो।’
बाढीले तहसनहस पारेपछि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर रसुवा पुगेका छन्। उनका अनुसार बाढीमा प्रदेशका १३ वटै जिल्लाका मानिस परेका छन्। सिन्धुपाल्चोकका सबैभन्दा बढी बेपत्ता रहेको उनले बताए।
‘यो व्यापारिक नाका भयो,’ मुख्यमन्त्री थापामगरले नेपालखबरसँग भने, ‘गोसाइँकुण्डको मेला यही बेला लाग्यो, यसमा आउने तीर्थयात्री धेरै पर्नुभयो, मानसरोबर कैलाश जाने बाटो पनि भयो। त्यही भएर १३ वटै जिल्लाका मानिस बाढीमा पर्नुभएको छ।’ मधेस प्रदेशका ८ वटै जिल्लाका मानिस बेपत्ता भएको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जानकारी दिए।
‘हाम्रो प्रदेशका सबै जिल्लाबाट १६२ जना हराइरहेको विवरण आएको छ,’ उनले भने, ‘त्यसमा प्राविधिक, इन्जिनियर, कर्मचारी र मजदुर पनि छन्। सर्लाहीका ३ जनाको शव नै फेला परेको छ।’
प्रदेशले ७ हजार कम्बल र ७ सय टेन्ट किन्न प्रधानमन्त्री राहत कोषमा नगद जम्मा गर्ने भएको छ। रसुवा बाढीपीडितका लागि चिकित्सकहरूलाई तयारी अवस्थामा राखेको उनले बताए।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पनि नौ जिल्लाकै मानिसहरू सयभन्दा बढीको संख्या प्रलयकारी बाढीमा हराइरहेको बताए।
‘बाढीको ताण्डवबाट हाम्रो प्रदेशका थुप्रै होनाहार युवाहरूको जीवन समाप्त हुनेदेखि बेपत्ता भएका छन्,’ उनले भने, ‘त्यो कुराले प्रदेश सरकार मर्माहत छ। पीडित परिवारले हामीसँग सम्पर्क गर्नेगरी हटलाइन सेवा सञ्चालनमा ल्याएका छौँ। संघीय सरकारले माग गर्ने बित्तिकै पठाउनेगरी स्वास्थ्यकर्मी र औषधिको टिम स्टान्डबाइ राखेका छौँ।’
यसैगरी कर्णाली प्रदेशका पनि १० वटै जिल्लाका मानिस रसुवाको बाढीमा परेको मुख्यमन्त्री मंगलबहादुर शाहीको भनाइ छ।
‘अहिलेसम्म १४५ जना हराइरहेका छन्,’ उनले भने, ‘सल्यान र सुर्खेतका एकएक जना युवाको शव फेला परेको छ। केही इन्जिनियर परेको जानकारी आएको छ। व्यापार र कामको सिलसिलामा गएका अधिकांश युवा पर्नुभएको छ।’
यस्तै गण्डकी प्रदेशका पनि सबै जिल्लाका मानिस बाढीमा परेको आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए।
‘हाम्रो प्रदेशका सबै जिल्लाबाट २ सयजति बेपत्ता भएको पाइएको छ,’ उनले भने, ‘त्यसमध्ये अधिकांश हाइड्रोमा काम गर्न गएका छन्। कतिपय जनैपूर्णिमाको मेला भर्न गोसाइँकुण्ड जाँदै गरेको र केही मानसरोवर गएकाहरू बेपत्ता भएको पारिवारले भनुभएको छ।’
उता कोसी र लुम्बिनी प्रदेशका पनि मानिसहरू रसुवा बाढीमा परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
रसुवाको कालिका गाउँपालिका प्रवक्ता पौडेलले कर्मचारी, मजदुरले यही समय पारेर आफ्नो परिवार घुमाउन ल्याएको बताए। तर, उद्धारमा ढिलाइ हुँदा बेपत्ताहरूको अवस्था झन् कहालीलाग्दो हुने खतरा रहेको उनी गुनासो गर्छन्। ‘युवा जनशक्ति थियो, त्यो पूरै नष्ट भयो,’ उनी भन्छन्, ‘रसुवा यति रोइरहेको छ, थप रुनु नपरोस्।’
आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङ पनि आफ्नो पालिकामा पर्ने तीन वटा हाइड्रोमा दक्ष इन्जिनियर परेको बताउँछन्। ‘पालिका भरिकालाई बाढीले प्रभावित गर्यो। अब कयौँका रोजगारी गुमे, कतिका आफन्त बगे,’ उनले भने, ‘यो अपुरणीय क्षति हो।’
हुम्लाको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाही आफ्नो इन्जिनियर छोरा रसुवाको हाइड्रोमा फसेपछि उद्धारका लागि उनी सरकारसँग गुहार मागिरहेका छन्। राष्ट्रिय विपत् जोखिम प्राधिकरणका अनुसार बाढीमा परेर रसुवाको १२ वटा हाइड्रो, भन्सार कार्यालय, अध्यागमन कार्यालयका थुप्रै कर्मचारी बेपत्ता छन्।
