आमाको दूधको विकल्प होइन, अधिकार हो स्तनपान - Pahilo Online

आमाको दूधको विकल्प होइन, अधिकार हो स्तनपान

बजारमा बढ्दो प्रतिस्थापन वस्तुको प्रचारबीच स्तनपान संरक्षणका लागि पथरीशनिश्चरेको सचेतना अभियान

writer

मोहन भट्टराई

पथरीशनिश्चरे । आधुनिक जीवनशैली, आक्रामक बजार प्रवर्द्धन र शिशु आहारका नाममा विभिन्न उत्पादनको बढ्दो प्रयोगका बीच चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले एक कुरामा जोड दिँदै आएका छन्—आमाको दूधको कुनै विकल्प छैन। जन्मिएदेखि कम्तीमा छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने विश्वव्यापी सिफारिसका बाबजुद बजारमा उपलब्ध विभिन्न प्रतिस्थापन वस्तुको प्रयोग बढ्दै गएको सन्दर्भमा पथरीशनिश्चरे नगरपालिकाले सचेतनामूलक पहल थालेको छ।

शनिबार नगरपालिकाको सभाहलमा आयोजित ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९’ सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम ले शिशु पोषण, स्वास्थ्य सुरक्षा र कानुनी व्यवस्थाबारे व्यापक छलफलको वातावरण सिर्जना गर्‍यो। कार्यक्रममा स्वास्थ्यकर्मी, निजी अस्पताल सञ्चालक, औषधि व्यवसायी, खाद्य सामग्री विक्रेता, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत तथा अनुगमन निरीक्षक एकराज खत्री ले स्तनपानको महत्वबारे प्रस्तुति दिँदै आमाको दूधले शिशुलाई आवश्यक सम्पूर्ण पोषण प्रदान गर्ने बताए। उनले जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने तथा त्यसपछि थप आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपान जारी राख्नुपर्ने व्यवहारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार स्तनपानले शिशुलाई संक्रमणबाट जोगाउने, शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्‍याउने र आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने गर्छ। तर बजारमा उपलब्ध शिशु आहार, दूधजन्य उत्पादन तथा अन्य प्रतिस्थापन वस्तुको अत्यधिक प्रचारले कतिपय अभिभावकलाई भ्रमित बनाउने गरेको छ।

नेपालमा २०४९ सालमै ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन’ लागू गरिएको थियो। यसको उद्देश्य शिशु आहारका नाममा हुने भ्रामक विज्ञापन, अनियन्त्रित बिक्री प्रवर्द्धन र स्वास्थ्य संस्थामार्फत हुने अनुचित प्रचारलाई नियन्त्रण गर्नु हो।

कार्यक्रममा सहभागीहरूले ऐनको प्रभावकारी कार्यान्वयन भएमा स्तनपान संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे। विशेषगरी स्वास्थ्य संस्था, औषधि पसल र खाद्य व्यवसायीहरूले कानुनी दायित्वबारे जानकारी राख्नुपर्ने आवश्यकता औँल्याइयो।

कार्यक्रममा नगरपालिकाका राजस्व अधिकृत ताराप्रसाद ढकाल ले नगरभित्र सञ्चालनमा रहेका स्वास्थ्य व्यवसायहरूको दर्ता तथा नवीकरण प्रक्रियाबारे जानकारी गराए। उनले व्यवसाय दर्ता गर्दा प्राप्त हुने कानुनी सुरक्षा, सेवाको विश्वसनीयता तथा नगरपालिकासँगको समन्वयका फाइदाबारे चर्चा गरे।

साथै, नगरको आर्थिक ऐन, कर दर तथा कानुनी प्रावधानबारे जानकारी दिँदै व्यवसायलाई कानुनी दायराभित्र सञ्चालन गर्न आग्रह गरे।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरी का प्रमुख प्रहरी नायब उपरीक्षक विरदत्त पन्त ले लागूपदार्थ दुर्व्यसनका असर, कानुनी व्यवस्था तथा दण्ड–सजायबारे जानकारी गराए। उनले स्वस्थ परिवार र सभ्य समाज निर्माणका लागि प्रहरी र समुदायबीच सहकार्य अपरिहार्य रहेको बताए।

उनको भनाइमा बालबालिकाको स्वस्थ विकास केवल पोषणसँग मात्र जोडिएको विषय नभई सुरक्षित सामाजिक वातावरणसँग पनि सम्बन्धित छ।

कार्यक्रमका अध्यक्ष तथा पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापो ले स्वस्थ बालबालिका नै समुन्नत समाजको आधार भएको बताए। उनले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्ने खाद्य वस्तुको बिक्री–वितरणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

उनले अभिभावकहरूलाई पोषणयुक्त तथा स्वास्थ्यवर्द्धक खानेकुराको प्रयोग बढाउन आग्रह गर्दै बालबालिकाको भविष्य सुरक्षित बनाउन सबै क्षेत्रको साझा जिम्मेवारी रहेको उल्लेख गरे।

शिशु स्वास्थ्यसँग सम्बन्धित कानुन, स्तनपानको महत्व र व्यवसायिक उत्तरदायित्वबारे जानकारी दिन आयोजित यस्ता कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूका अनुसार स्तनपान केवल व्यक्तिगत रोजाइको विषय होइन, यो शिशुको स्वास्थ्य, पोषण र जीवनसँग प्रत्यक्ष जोडिएको अधिकार हो।

बजारमा नयाँ–नयाँ उत्पादन थपिँदै जाँदा आमाको दूधको महत्व ओझेलमा पर्न नदिन राज्य, स्वास्थ्य संस्था, व्यवसायी र अभिभावक सबैको साझा प्रतिबद्धता आवश्यक देखिन्छ। स्वस्थ बालबालिकाको आधार बलियो बनाउन स्तनपानको संरक्षण र प्रवर्द्धन आज पनि उत्तिकै सान्दर्भिक विषय बनेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles