मोरङ पथरीशनिश्चरे–९ मैनादेवी फुयल आचार्य सामुदायिक वनहरुको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघको अध्यक्ष हुन् । यसअघि उनले पशुपति सामुदायिक वन उपभोक्ता समूहको सचिव र वडा नं. ९ को वडा सदस्य एवं कार्यपालिका सदस्य भई नागरिकको सेवा गर्ने अवसर पाइसकेकी छिन् । प्रस्तुत छ, उनै प्रतिभाशाली महिला नेतृसँग सामुदायिक वनका विषयमा केन्द्रीत भएर गरिएको कुराकानीका संपादित अंशः
सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्षको जिम्मेवारी सम्हाल्दा कस्तो अनुभव भइरहेको छ ?
म सामुदायिक वन उपभोक्ता महासंघ पथरीशनिश्चरे नगर महासंघको अध्यक्षका रूपमा विगत दुईवर्षदेखि काम गर्दैछु । यो भूमिका अत्यन्त जिम्मेवारीपूर्ण छ । नेपाली समाजमा महिला नेतृत्व स्वीकार्न कठिनाई भए पनि त्यसलाई पार गर्दै स्थानीय वन र जनताको हकहितलाई संरक्षण गर्दै पर्यावरणीय दिगोपनमा काम गर्न पाउँदा गर्व महसुस हुन्छ ।
नगरभित्र कति सामुदायिक वनहरू छन् र तिनको व्यवस्थापन कस्तो छ ?
हाम्रो नगरमा जम्मा एघारवटा सामुदायिक वन समूहहरू छन् र केही धार्मिक वनहरु पनि रहेका छन् । यी वनहरूको व्यवस्थापनमा स्थानीय उपभोक्ता समूहको ठूलो भूमिका छ । सामुदायिक सहभागिता र पारदर्शिताका कारण व्यवस्थापन सन्तोषजनक छ ।
सामुदायिक वनहरूले स्थानीय बासिन्दाको जीवनमा कस्तो प्रभाव पारेका छन् ?
सामुदायिक वनहरूले काठ, दाउरा, निगुरो, च्याउ, जडीबुटी र अन्य वन पैदावर प्रदान गरेर ग्रामीण अर्थतन्त्रमा योगदान पु¥याएका छन् । साथै, स्थानीय वातावरण सुधार, पानीका स्रोत संरक्षण गर्दै पर्यापर्यटनको विकासमा पनि सकारात्मक प्रभाव परेको छ ।
वन संरक्षणमा स्थानीय महिलाहरूको सहभागिता कस्तो छ ?
महिलाहरूको सहभागिता उल्लेखनीय छ । सामुदायिक वनका ५०% भन्दा बढी उपभोक्ता समूहमा महिला नेतृत्वमा छन्, जसले वन संरक्षण, नीति निर्माण र स्थानीय निर्णयमा सकारात्मक प्रभाव पारेका छन् ।
वन संरक्षणमा अहिलेका प्रमुख चुनौतीहरू के–के हुन् ?
प्रमुख चुनौतीहरूमा अवैध काठ कटानी, खुल्ला चरीचरनको समस्या र जलवायु परिवर्तनको असर छन् । कतिपय वनमा जैविक विविधता घट्दो क्रममा छ ।
अवैध क्रियाकलाप नियन्त्रणका लागि महासंघले गरेका कामहरू कस्ता छन् ?
हामीले जनचेतना मुलक कार्यक्रम र वन समूहहरुसँगको सहकारी साझेदारीमार्फत अवैध क्रियाकलाप नियन्त्रण गर्ने काम गरेका छौँ । साथै, सरोकारवाला निकायबीच बेलाबेला छलफल, अन्तरकृया, गोष्ठी गर्ने गरेका छौं ।
वन संरक्षणमा कस्तो सहयोग र नीतिगत सुधार आवश्यक छ ?
सरकारी नीति थप स्पष्ट र कार्यान्वयनमुखी हुनुपर्छ । संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत हुन आवश्यक छ ।
सामुदायिक वनहरूले जलवायु परिवर्तन न्यूनीकरणमा कस्तो भूमिका खेलेका छन् ?
सामुदायिक वनहरूले कार्बन समाहित गर्ने, भूक्षय रोक्ने र जल स्रोतको संरक्षण गरेर जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।
जैविक विविधताको संरक्षण र प्रजातिहरूको संरक्षणका लागि के गरिँदैछ ?
स्थानीय प्रजातिका बिरुवाको वृक्षारोपण, वन्यजन्तुको बासस्थान संरक्षण र स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गरेर जैविक विविधता संरक्षण गरिँदैछ ।
सामुदायिक वनका उत्पादक वस्तुहरूको व्यापारिक सम्भावना कस्तो छ ?
जडीबुटी, बाँस र अन्य खाद्य सामग्रीहरूको ठूलो व्यापारिक सम्भावना छ । हामीले स्थानीय उद्योगहरूलाई प्रोत्साहन गर्ने काम गरिरहेका छौँ ।
पर्यटनसँग जोडेर सामुदायिक वनको आर्थिक लाभ बढाउन के सम्भावना छ ?
यहाँका सामुदायिक वनहरुले पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेका छन् । प्रकृतिप्रेमी र पर्यावरणीय पर्यटकहरूका लागि मार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरी आम्दानी लिन सकिन्छ ।
नगर महासंघले सामुदायिक वन उपभोक्ता समूहरुको हित हुने के के काम गरेको छ ?
सामुदायिक वन समूहहरूको क्षमता विकास र आर्थिक स्थिति सुधारमा योगदान गर्न सकेका छौँ ।
आगामी दिनमा सामुदायिक वनलाई अझ प्रभावकारी बनाउन कस्तो योजना छ ?
दिगो वन व्यवस्थापन, जैविक विविधता संरक्षण र सामुदायिक सहभागिता अझै बढाउने योजनामा छौँ । युवाहरूलाई थप आकर्षित गर्न तालिम कार्यक्रम सञ्चालन गर्ने सोच छ ।
स्थानीय उपभोक्ताहरूलाई सामुदायिक वनको संरक्षणमा प्रेरित गर्न के सुझाव दिनुहुन्छ ?
सामुदायिक वन हाम्रो साझा सम्पत्ति हो । यसको संरक्षणमा सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ । वनको दिगो प्रयोग र पुनरुत्थानका लागि नयाँ पुस्तालाई पनि सक्रिय बनाउनु आवश्यक छ । प्रस्तुतिः मोहन भट्टराई