काठमाण्डौ । कोरोना भाइरसका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नाकोत्तर तहको प्रभावित परीक्षाहरु सञ्चालन गर्न वैकल्पिक उपायहरु खोज्न शिक्षाविद्ले सुझाव दिएका छन् । शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । स्नातक र स्नातकोत्तर तहको परीक्षा प्रभावित हुँदा देशभरका ४ लाख १५ हजार विद्यार्थी अन्योलमा छन् ।
लकडाउनका कारण अन्योलमा परेको स्नातक र स्नातकोत्तर तहको परीक्षा भदौदेखि असोजसम्म सक्नेगरी त्रिभुवन विश्वविद्यालयले तालिका सार्वजनिक गरेको थियो । तर कोरोना सङ्क्रमण बढेकाले सार्वजनिक गरेको समय तालिकासमेत स्थगित भएपछि झनै अन्योल थपिएको छ । अन्यौलकै बीच एसईई परीक्षाको नतिजा सार्वजनिक भए पनि कक्षा ११ र १२ के गर्ने भन्ने अझै टुंगो लागेको छैन ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेपछि स्थगित भएको थियो । बोर्डले सूचना निकालेर कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गतेदेखि वैशाख १८ गतेसम्म र कक्षा ११ को परीक्षा वैशाख २१ देखि वैशाख ३१ गतेसम्म सञ्चालन हुने भनेको थियो । तर कोरोनाका कारण परीक्षा स्थगित भयो । कक्षा ११ को परीक्षा आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले नै लिने भनिए पनि विद्यार्थीमा कोरोनाको डर कायमै रहेको भन्दै फेरि शिक्षा मन्त्रालयले नलिन भनेको छ । अलपत्र परेका परीक्षाको विषयमा अहिलेसम्म विस्तृत छलफल नै नभएको बताइएको छ ।
आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई अंक दिने वा कसरी परीक्षा लिने भन्ने विषय टुंगो लागेको छैन । कतिपय शिक्षाविद्हरु आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई माथिल्लो तहमा पठाउन सकिनेमा सहमत छन् भने शिक्षा मन्त्रालयले यसमा सहमति जनाइसकेको छैन । शिक्षा मन्त्रालयले नेपाली समाज परीक्षामुखी भएकाले ११ कक्षाको परीक्षा आन्तरिक तरिकाले लिन सकिए पनि अरु तहको परीक्षा भने लिनै पर्ने बताएको छ । कक्षा १२ को परीक्षा त झन् विद्यालय शिक्षाको अन्तिम भएकोले धेरैको चासोको विषय बन्दै गएको छ ।
स्थिति सामान्य भएपछि परीक्षा लिने, माथिल्लो सेमेस्टरको कक्षा सञ्चालन गर्ने
आउँदो असोजसम्म परीक्षा गर्न सम्भव नभएको त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ । परीक्षा तत्काल हुने सम्भावना नभएकाले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीका लागि सेमेस्टरको अर्को कक्षा सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
शैक्षिक सत्र खेर जान नदिन र विद्यार्थीको चिन्तालाई कम गर्न अनलाइनबाट कक्षा सुरु गर्न लागिएको उहाँले बताउनुभयो । जोशी भन्नुहुन्छ, ‘भदौदेखि असोजसम्म परीक्षा सक्ने भनेका थियौँ । त्यो सम्भावना रहेन । त्यसैले अनलाइनको माध्यमबाट माथिल्लो कक्षामा पढाउन गृहकार्य थालिएको हो । अहिले कक्षाकोठामा बोलाएर पढाउन सम्भव छैन । विद्यार्थी कता छन् थाहा छैन ।’
कतिपय विद्यार्थीमा प्रविधीको पहुँच नहुन पनि सक्छ । तर पनि सेमेस्टरमा पढाउन थालिएको उहाँले बताउनुभयो । माथिल्लो कक्षामा पढाउँदै गर्ने र विस्तारै समय अनुकूल भएपछि परीक्षा लिँदा शैक्षिक सत्र पनि खेर नजाने र विद्यार्थीमा चिन्ता पनि कम हुने उहाँको भनाई छ । मंसिरदेखि स्कुल तथा कलेज खुलेमा पनि शैक्षिक सत्र खेर नजाने उहाँ बताउनुहुन्छ ।
सेमेस्टरको कक्षा सुरु गरेपनि वार्षिक परीक्षा सञ्चालन नभई माथिल्लो कक्षामा पढाउन मिल्दैन । यसले गर्दा वार्षिकको हकमा अलि समस्या हुने देखिन्छ । त्रिभुवन विश्वविद्यालयले असोजसम्म वैकल्पिक विधिबाट परीक्षा लिने बताए पनि यो कसरी हुन्छ भन्ने पनि अन्योल छ ।
परीक्षा गर्ने जिम्मेवारी विश्वविद्यालयलाई नै दिएका छौ ः शिक्षा मन्त्रालय
त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने सबै विषयको परीक्षा सञ्चालनको जिम्मेवारी विश्वविद्यालयलाई नै दिएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्नुहुन्छ, ‘मन्त्रालयले यो समयमा गर्न सकिन्छ भनेर समय तोक्ने मात्रै हो । अहिले मन्त्रालयले भदौ १५ पछि अर्थात भदौ १६ देखि भर्ना र परीक्षा सञ्चालन गर्न पाइने भनेको छ । यदि यो निर्णय परिर्वतन नभएमा भदौ १५ पछि विश्वविद्यालय आफैँले परीक्षाको मिति तोक्न सक्छ । तर अहिले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले मन्त्रालयले यो मिति परिर्वतन पनि गर्न सक्ने प्रवक्ता शर्मा बताउनुहुन्छ ।
वैकल्पिक माध्यमबाट परीक्षा लिऔँ ः शिक्षाविद्
कोरोना भाइरस महामारीबीच विभिन्न तहका परीक्षाबारे अन्योल भैरहँदा विद्यार्थी र अभिभावकमा मानसिक असर पर्न सक्छ । त्यसैले परीक्षाको टुंगो तत्काल लगाउन शिक्षाविद् विद्यानाथ कोइरालाको सुझाव छ । हलमा गएर परीक्षा दिने एउटा मात्रै विकल्पलाई अनुसरण गर्न नहुने उहाँको भनाई छ । पुरानै शैलीबाट परीक्षा गर्न सम्भव नभएकाले नयाँ शैलीबाट गर्नुपर्ने कोइराला बताउनुहुन्छ ।
शैक्षिक सत्र खेर जान नदिन अनलाइनबाट परीक्षा लिन सकिने या दूरी कायम गरेर परीक्षा लिन सकिने कोइराला बताउनुहुन्छ । यी कुरालाई ध्यान दिएर परीक्षा सञ्चालन गरेमा अझै पनि शैक्षिक सत्र खेर नजाने उहाँको भनाई छ । एउटा शैक्षिक सत्रमा २ सय २० दिन पढाई हुने दिन मानिन्छ । यस्तो अवस्थामा १ सय ५० दिनमा वा २ सय दिनभित्र कोर्स पूरा हुने गरी पढ्न र पढाउन शिक्षक र विद्यार्थी तयार हुनुपर्छ । त्यसरी परीक्षा सञ्चालन गर्न सकियो भने विद्यार्थीको मेहनत खेर नजाने उहाँ बताउनुहुन्छ । (उज्यालो अनलाईन)