छाउपडी उन्मूलन अभियानः भत्काइए १३ सय छाउगोठ - Pahilo Online

छाउपडी उन्मूलन अभियानः भत्काइए १३ सय छाउगोठ

writer

छाउपडी उन्मूलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २० गतेसम्ममा १ हजार २ सय ७६ छाउगोठहरु भत्काइएको मन्त्रालयले जनाएको हो ।

सोमबार संसदको महिला तथा सामाजिक समितिमा गृहसचिव प्रेमकुमार राईले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार बझाङमा ७, दैलेखमा १७, सल्यानमा २ र जाजरकोटमा १ छाउगोठ भत्काइएका छन् ।

यो वर्ष्भित्र छाउगोठ उन्मूलन गर्ने अभियान नै सञ्चालन भएको छ । सुर्खेतमा १५ सय छाउगोठ भत्काउन बाँकी रहेको छ । त्यसैगरी अछाममा २ सय ५१ र जाजरकोटमा ४ वटा छाउगोठ भत्काउन बाँकी रहेको सचिव राईले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय र पालिकाहरुमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छाउगोठ नराख्ने व्यहोराको पत्रमा लिखित हस्ताक्षर गराउने अभियान थालिएको उहाँले बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले गाउँघरमा अझै युवतीहरुलाई भोली दुःख हुन्छ भनेर डर देखाउने भएकाले उनीहरु पनि छाउकोठमा जान बाध्य भएको बताउनुभयो ।

छाउपडी हटाउने अभियान जारी रहे पनि विभिन्न अदृश्य शक्तिहरुको डर देखाएर तर्साउने गरेको पाइएको उहाँले बताउनु भयो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले छाउपडीविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउनुभयो ।

छाउ भएको समयमा विद्यालय जान नपाउने अवस्थाको अन्त्य गर्न पनि अभियानले सहयोग गर्ने उहाँले बताउनुभयो । महिनावारीको समयमा पौष्टिक खानेकुराको उपलब्धताका लागि अभियान सार्थक हुने उहाँको भनाई छ ।

सांसद दुर्गाबहादुर राउतले जनप्रतिनिधिहरुको घरमा नै यस्तो खालको कुप्रथा रहेको उल्लेख गर्दै अभियानको सुरुवात गर्न पालिकाहरुलाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।

सांसद लक्ष्मी परियारले कमजोर मानसिकता र गरिबीका कारण छाउपडी प्रथा उन्मूलन हुन नसकेको बताउनुभयो । धार्मिक अगुवाहरुलाई कानुनको विषयमा जानकारी गराउने र उनीहरुलाई कानुनको दायरमा ल्याउन सके अभियान सफल हुने उहाँले बताउनुभयो ।

कञ्चनपुर, कैलाली, बैतडी, डडेल्धुरा, दार्चुला, डोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा छाउगोठ नभएको जानकारी समिति बैठकमा दिइएको छ । उज्यालो अनलाइनबाट

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes