लेटाङ । मोरङको लेटाङ–४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहले पाँचदिने अन्तर सामुदायिक वन अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म पश्चिम नेपालका विभिन्न सामुदायिक वनका साथै धार्मिक पर्यटकीय स्थलको अवलोकन गरेको हो ।
पुस २७ गते साँझ लेटाङबाट प्रारम्भ भई सुदुरपश्चिमको महाकालीमा पुगेर विश्राम भएको थियो । महेन्द्रनगरस्थित महाकाली नदिको पुल, टनकपुर बाँध हेरिसकेर भ्रमण टोली पूर्व तर्फ मोडिएको थियो । त्यसपछि धार्मिक पर्यटकीय स्थल लुम्बिनीको भ्रमण सकेर टोलीले बर्दघाट स्थित चिसापानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको थियो ।
चिसापानी सामुदायिक वनले वन क्षेत्रमा सेट्रोनेला रोपेर त्यसबाट सुगन्धित तेल उत्पादन गरिहेको रहेछ । साथै घाइते, टुहुरा वन्यजन्तुलाई उपचार गरी संरक्षण गरेको देख्न पाइयो ।
लेमन ग्रास, सेट्रोनेला र पामारोजाबाट आम्दानी गरिरहेको त्यस चिसापानी सामुदायिक वनका अध्यक्ष होमबहादुर गुरुङले जानकारी दिए । लेमन ग्रासको टुक्रा बनाएर सुकाई चियाको रुपमा पनि प्रयोग गर्न सकिने उनको भनाई छ ।
त्यस सामुदायिक वनले गरेका वन संरक्षण, गरीवि न्यूनिकरणका कार्यहरुबाट आफुहरुलाई नयाँ सिकाई भएको जन सेवा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष गोविन्दहरी श्रेष्ठले बताए । ‘चिसापानी सामुदायिक वनले लेमन ग्रास र सेट्रोनेलाबाट तेल उत्पादन गरी विक्रीबाट आएको आम्दानीले विपन्न वर्गका महिलाहरुलाई रोजगारी दिन सकेको रहेछ’– उपाध्यक्ष श्रेष्ठले भनें ‘यस्तो काम हाम्रो सामुदायिक वनले पनि गर्न सक्ने रहेछ ।’
लेटाङ–४ स्थित जनसेवा सामुदायिक वनले वन विकास, सामाजिक विकास, गरिवी न्यूनिकरणका क्षेत्रमा उत्कृष्ट काम गरी मोरङ जिल्ला र प्रदेश भरीकै प्रथम पुरस्कार पाइसकेको छ । तर यति मात्र आफ्नो लक्ष नभएकोले अन्य समूहले गरेका राम्रा कामको अवलोकन गरी आफ्नो समूहमा अझ राम्रो काम गरी राष्ट्रिय पुरस्कार लिने उद्देश्य रहेको जनसेवाका अध्यक्ष दिलाराम राई बताउँछन् । ‘अन्य समुहको अवलोकनले हामीलाई नयाँ सिकाई मात्र भएको छैन, समान चुनौतिहरुको पहिचान र समाधानका उपाय पनि आदानप्रदान भएको छ’– अध्यक्ष राईले भने ।
अवलोकन भ्रमणले आफ्नै देशको भौगोलिक विविधताका बारेमा ज्ञान हुनुका साथै प्राकृतिक सुन्दरताको दृष्यावलोकन गरी आनन्द लिन पाएको सचिव दुर्गा राना मगरले बताईन् ।
भ्रमण टोलीमा समूहका सल्लाहकार, लेखा संयोजक, सह–सचिव, टोला प्रमुख, वन कर्मचारी, सञ्चारकर्मी, उपभोक्तासहित तीन दर्जनको सहभागिता रहेको थियो । भ्रमणको अघिल्लो दिन नै समुहले भ्रमण सदस्यहरुबीच अन्तरकृया गरी भ्रमणको लक्ष, उद्देश्य र जिम्मेवारीका बारेमा जानकारी दिइएको थियो । जसमा विभिन्न उप–समितिहरु समेत गठन गरेको थियो ।