जनताले सोचेजस्तो काम गर्न सकेका छैनौं - Pahilo Online

जनताले सोचेजस्तो काम गर्न सकेका छैनौं

सामाजिक बिकास मन्त्री जीवन घिमिरे, प्रदेश नं. १

writer

पहिलो अनलाइन

पहिलो पटक मन्त्री हुँदाको अनुभुति कस्तो रह्रो ?
खासै उथलपुथल भएन । जनताका लागि काम गर्ने जिम्मेवारी थपिएको छ भन्ने लाग्यो । चुनावका बेला जनताको हितमा काम गर्नेछु भनेर खाएको प्रतिबद्धता सम्झना आयो । कुनै असहज महशुस भएन, कुनै आडम्बरपन पनि आएन । मन्त्री भएपछि जनताको चाहना अनुसार काम गर्न सकिएला कि नसकिएला भन्ने पीर भने थपियो ।

दलको नेता र सरकारको मन्त्री हुँदा कस्तो फरक महशुस हुनेरहेछ ?
मैले राजनैतिक जीवनको हिसावले लामो समय कार्यकर्ता भएर गुजारे । अनेकौ संघर्ष गरे । पार्टी कामको सिलसिलामा म आफ्नो प्रदेशको सबै भुगोलको अवस्था र समस्यासँग जानकार छु । यसैले समस्याको हिसावले फरक महशुस चाँही भएन । तर, फरक के चाँही भने दलको नेता र सरकारको मन्त्रीमा काम गर्ने शैलीमा भिन्नता आउँदोरहेछ । हुन त प्रदेशभरिको जनजीवन बुझेकोले अहिले सजिलो पनि भइरहेको छ । तर, अहिले रिलेसन मेन्टेन गर्नुपर्ने रहेछ, जिम्मेवारी र कामको व्यवस्थापनका लागि । अर्को नेता हुँदा मन्त्री हुनासाथ धेरै काम चाँडो गर्न सकिहालिन्छ भन्ने लाग्थ्यो तर सोचे जस्तो सहज हुँदोरहेनछ । धेरे फ्याक्टरहरुले बाधा गर्ने रहेछन् । हामीलाई काम छिटो होस् र परिणाम आओस् भन्ने लाग्ने तर व्युरोक्रेसीले नियम कानुन खोज्दोरहेछ ।

ट्वाइलेट अनुगमन गरेर काम सुरु गर्नुभएको थियो तर फलोअप गर्नुभएन । चर्चामा आउनका लागि मात्रै गरेजस्तो भएन ?
जब हामीले सरकार गठन ग¥यांै । त्यो बेलामा अघिल्लो सरकारको हेलचेक्राईले गर्दा हामी अलमल्ल पर्ने अवस्था थियो । न त मन्त्रालय न त कर्मचारीको व्यवस्थापन ! मन्त्रालयमा बस्ने कुर्सीसमेत थिएन । तर, पुर्वाधार छैन भनेर चुप लागेर बस्न मलाई मन लागेन । के–के तत्काल काम गर्न सकिन्छ भनेर सूची निर्धारण गर्दा शौचालयको अनुगमन पनि एउटा महत्वपूर्ण काम हो भन्ने लाग्यो । किनभने स्वास्थ्यका लागि सरसफाई अति महत्वपूर्ण कुरा हो । यसैले मैले सूची बनाएरै सार्वजनिक ट्वाइलेट अनुगमन गरेर प्रतिबेदन सार्वजनिक गरेँ । केही सुधार भए केही भएका छैनन् भन्ने रिपोर्ट छ । राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई सम्मान पनि गरँे । जहाँसम्म फलोअप नभएको कुरो छ, त्यस्तो हैन । कानुन निर्माण भइसकेपछि कडा रुपमा अनुगमन हुन्छ । मैले चर्चाका लागि मात्र ट्वाइलेट अनुगमन गरेको हैन । उसैपनि धेरै रिजर्व बस्ने मान्छे, अनावश्यक प्रचार मलाई मन पर्दैन । तर, काम गर्नेहरुले काम छैन भनेर बस्नु हँुदैन गर्न चाहे कामै काम पाईन्छ भन्ने मलाई लाग्छ । त्योबेला मैले कर्मचारी, कानुन आदि अभाब भएपनि धमाधम सरोकारबालाहरु बोलाएर छलफल गरेर बिषयगत सुझावहरु पनि लिएको थिएँ । जसले मलाई व्यस्त मात्र बनाएन , योजना निर्माण गर्न पनि सहयोग पु¥यायो ।

धेरै औपचारिक कार्यक्रममा सहभागी भएर भाषण गर्ने मन्त्री भनेर तपाईलाई चिन्न थालिएको छ, दिनमा कतिवटा कार्यक्रम भ्याउनु हुन्छ ?
म बिहान ५ बजे नै उठ्छु । दैनिक कर्म सकेपछि साढे ६ बजेदेखि नै भेटघाटमा व्यस्त हुन्छु । सबैभन्दा पहिले म मन्त्रालय पुग्छु र कार्यसम्पादन गर्छु । म दैनिक ५ वटासम्म कार्यक्रममा पुगिरहेको छु, कहिलेकाँही ११/१२ वटामा पनि पुगेको हुन्छु ।

कार्यक्रममा धेरै जाँदा मन्त्रालयको काम प्रभावित हुँदैन र ?
हुदैन । एउटा मन्त्रीलाई मन्त्रालयमा बसेर काम गर्न जति आवश्यक छ, त्यत्ति नै जनतासँग जोडिएर उनीहरुका समस्या बुझ्नु र समाधानका लागि उपायहरु सुझाउनु पनि आवश्यक हुन्छ । यसैले पनि औपचारिक कार्यक्रममा जानैपर्ने हुन्छ । मैले फरक–फरक समयमा भएपनि ४ घण्टा चाँही मन्त्रालयमा पुगेर काम गर्नैपर्छ भन्ने रुटिङ बनाएको छु । बिहान पुग्न सकिन भने दिउँसो वा साँझ भएपनि पुगेर कार्यसम्पादन गर्छु, निर्देशन दिन्छु ।

सरकार बनेको ६ महिना भयो । तर, अझै सरकार खर्च गर्ने संयन्त्र छैन भनेर अल्मिलिरहेको छ, आफनै समस्या सरकारले समाधान गर्न सकेको छैन नि ?
हामीले ३ फागुनमा ५ सदस्यीय सरकार गठन गरेपछिको अवस्था कस्तो थियो सबैलाई थाहा छ । अघिल्लो सरकारले वेवास्ता गर्दा मन्त्रालयका संरचना र कर्मचारी केही थिएनन् । ती सबै व्यवस्थापन गर्न निक्कै चुनौती थियो । तरपनि हामीले कामलाई दृढतासाथ निरन्तरता दियौं । अघिल्लो वर्ष सरकारको काम व्यवस्थित गरेर जनतालाई प्रदेश सरकारको अनुभुति गराउन तीन महिनाका लागि भएपनि बजेट ल्यायौं । त्यसरी बजेट ल्याएर धेरै खर्च गर्नसक्ने १ नम्बर प्रदेश सरकार मात्र हो । खर्च गर्ने संयन्त्र अभावले हामीलाई धेरै चुनौती भने आयो । तर, हामीले उपाय खोजेर प्रदेश सदस्यहरुको रोहबरमा स्थानीय तहमार्फत खर्च गराउन सफल भयौं । तर, अन्य प्रदेशका सरकारहरुले त्यो पनि गर्न सकेनन् ।
जहाँसम्म सरकार अझै संयन्त्र अभावले अल्मलिरहेको छ भन्ने कुरा छ, त्यो सत्य होइन । हामीले संघीय सरकारबाट हस्तान्तरण भएका र आफनै संयन्त्र निर्माण गरेर बजेट खर्च गर्ने ठोस योजना बनाइसकेका छौं । यसका लागि सबै मन्त्रालयका मन्त्री र सचिवहरुसहितको बैठक मुख्यमन्त्रीको कार्यालयमा बसेर ठोस योजना बनिसकेको छ । यसैले अब बजेट खर्च हुदैन कि भन्ने समस्या रहदैन ।

संघीय सरकारसँग प्रदेश सरकारले आफ्नो अधिकार लिन सकेन भन्ने पनि छ नि ?
अहिले हामी संघीयता कार्यन्वयनका लागि संक्रमणकालमा छौं । कानुनहरु बनिसकसको छैन । संयन्त्रहरु भर्खर व्यवस्थित हुदैछन् । यस्तोमा संघ प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा द्वन्द्व हुनु सामान्य कुरा हो । संबिधान अनुसार सबै व्यवस्थापन हुँदै जान्छ । यसमा केही समय चाँही लाग्छ ।

प्रदेश सरकारको काम कहिलेबाट जनताले अनुभूति गर्नेगरी सुरु हुन्छ ?
प्रभावकारी काम त हामीले सुरुदेखि नै गरिहेका छांै । हामीले जति काम अन्य प्रदेश सरकारले गर्न सकेका छैनन् । हामीले ३ महिने बजेट ल्याएर आधाभन्दा बढी खर्च गर्न सफल भयौं । चालु बर्षका लागि पूर्ण बजेट ल्यायौं । हामीले ल्याएको बजेट समाजवादीमुखी छ । बिभिन्न काननुहरु निर्माण गराइरहेका छौं । मस्यौदाहरु धमाधम बनिरहेका छन् । जनताका कामहरु पनि भइरहेका छन् । कामको अनुगमन पनि हामीले चुस्त रुपले गरिरहेका छांै । अनेकौ चुनौतीबीच पनि हामीले हरेस नखाई र निरास नभई काम गरेका छांै । हो, संक्रमणकालले गर्दा जनताले सोचेजस्तो काम गर्न सकेका छैनांै । तर, चालु वर्षभित्र जनताले आफै प्रदेश सरकारको प्रभावकारी कामको महशुस गर्नेछन् ।

सरकार बनेको ६ महिना बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन, कारण के हो ?
केही दिनमै सरकारले पूर्णता पाउँदैछ । संबिधानले २० जनासम्म १ नम्बर प्रदेशमा मन्त्री बन्नसक्ने व्यवस्था गरेको भएपनि पार्टीले ११ भन्दा बढि नबनाउने निर्णय गरेको छ । यसैले हामीले पनि धेरै मन्त्रालय बनाउने छैनांै । आकांक्षीहरु धेरै भएकोले अब मन्त्रालय बढाउने कि राज्य र सहायक मन्त्रीहरु नियुक्त गर्ने भनेर हामी छलफल गर्दैछौं । चाँडै टुंगोमा पुग्नेछौं । मन्त्रालयको संख्या ११ सम्म पुग्नसक्छ वा मन्त्रीको मात्र संख्या ११ पुग्नेछ ।

तपाईको मन्त्रालयमा विषयत जिम्मेवारी धेरै भएपनि अझै व्यवस्थापन भइसकेको छैन, ढिलासुस्ती किन ?
मैले नेतृत्व गरेको सामाजिक विकास मन्त्रालयमा शिक्षा, स्वास्थ्य, रोजगार, श्रम, महिला बालबालिका, समाजकल्याण, मानव अधिकार आदि धेरै विषयत जिम्मेवारीहरु छन् । पहिले धेरै गाह्रो भएपनि अब भने कर्मचारीहरु आइसकेको र अरु पनि आउने क्रममा रहेकोले खासै समस्या छैन । सही व्यवस्थापन भइसकेको र काम पनि सुरु गरिसकेका छांै । शाखा महाशाखाहरुले व्यवस्थित रुपले काम थालिसकेका छन् । सूचना संयन्त्रहरु बढिरहेका छन् । आफ्नो आफ्नो शाखाको अनुगमन निर्देशन सुरु भइसकेको छ । सुरुका दिनमा कर्मचारी र भौतिक पूर्वाधारले गर्दा ढिलासुस्ती भएको हो । तर, अब मन्त्रालयले गति लिएको छ । र अझै द्रुत गति लिनेछ ।

भलिबल आयोजना गर्नेदेखि सचेतना अभियान चलाउने जस्ता काम मात्र गरेर जनताको अपेक्षा पुरा होला ?
हामीले धेरै काम ग¥यौ भनेर देखाउन खोजकै होइनौं । हामीले के–के काम ग¥यौ भनेर जनतालाई बताएका हांै । पक्कै पनि मन्त्रालयलाई हामी साना काम र अनुगमनमा मात्र सिमित राख्दैनौ । मन्त्रालय भनेको नीति बनाउने र कार्यान्वयन गराउने उच्च तह हो । हाल कानुनहरु निर्माण भइरहेको र संयन्त्रहरु पूर्ण अवस्थामा सञ्चालन भइनसकेकोले मात्र हामीले सोझै मन्त्रालयमार्फत साना कामहरु पनि गर्नुपरेको हो । तर, अब त्यो अवस्था रहदैन । अर्कोतिर ५ महिनाभित्र हामीले धेरै प्रभावकारी काम पनि गर्न सफल पनि भएकै हो ।

तपाईको मन्त्रलायका मुख्य चुनौतीहरु के हुन् ?
चुनौतीहरु त धेरै होलान् । हाल चाँही कानुनहरुको अभाव नै मुख्य चुनौती हो । प्रदेश कानुनहरु बनिसकेपछि मात्र काम प्रभावकारी ढंगले गर्न सकिनेछ ।

मन्त्रालयले कतिवटा कानुन बनाउनुपर्छ र कति बनाइसक्यो ?
समाजिक विकास मन्त्रालयले जम्मा २२ वटा कानुन बनाउनुपर्छ । अहिलेसम्म हामीले घरेलु हिंसा, प्रदेश सामाजिक संस्था र प्रदेशको शिक्षाबारे कानुन बनाइसक्यौ । केही प्रदेशसभामा दर्ता भएर छलफलमा छन् भने केही सरोबारवालाहरुसँग छलफल गरिसकेका छौं । हामीले असोजभित्र लगभग अति आवश्यक सबै कानुन निर्माण गरिसक्नेछौं ।

समाजवादी सरकार बनेको बेला शिक्षा र स्वास्थ्य सरकारीकरण गर्नुपर्छ भन्ने कुरा उठिरहका छन् । तर, तपाईकै निजी स्कूलमा लगानी छ । यसबारे के भन्नुहुन्छ ?
म एउटा कम्युनिष्ट आदर्शका लागि राजनीतिमा लागिपरेको व्यक्ति हुँ । भूमिगत भएर पनि हिँडे । भोकभोकै पनि काम गरेँ । पछि जननेता मदन भण्डारीले पार्टीमा बहुदलीय जनवाद लागू गराएपछि कार्यकर्ताहरुले आफैले कमाउने, चन्दामा मात्र भर नपर्ने, उद्यम गर्ने र राजनीति पनि गर्ने भन्ने नीति आयो । मैले पनि सोही नीति अनुसार जिबिका चलाउनका लागि व्यापार गरेको हुँ । भोलि पार्टीले सबै सरकारीकरण गर्ने नीति ल्याउँछ भने म पनि त्यसलाई आत्मसाथ गर्नेछु । यसमा कुर्नै समस्या हुनेछैन । पार्टीको सिपाही हुँ, पार्टी नीतिलाई सर्बोपरी ठान्छु ।

शिक्षा र स्वास्थ्यमा अनेक बिकृति छ, तर त्यसता अनुगमन किन नभएको ?
हामीलाई थाहा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै बिकृति छ भनेर । तर, कानुन अभाव भएकोले हामीले अनुगमन थालेका छैनौं । केही दिनभित्रै प्रदेशको स्वास्थ्य कानुन निर्माण हुन्छ अनि हामी दण्ड र पुरस्कारसहितका लागि चुस्त अनुगमन गर्नेछौ । स्वास्थ्य र शिक्षामा भएको बेथितीलाई प्रदेश सरकारले टुलुटुलु हेरेर बस्दैन । हामीले भर्खरै प्रदेश शिक्षा बिधेयकको मस्यौदामा सरोकारवालसँग छलफल सकेका छौ । त्यो मस्यदौमा हामीले निजी स्कूललाई ५ तहमा वर्गीकरण गर्ने, नियमित नपढाउने शिक्षकलाई बर्खास्त गर्नेसम्मका व्यवस्था गरेका छौं । स्वास्थ्यमा पनि कडा कानुन बनाइरहेका छांै ।
आजकल मान्छेले साह्रै गति छाडका छन् । पैसाका लागि जे पनि गर्न थालेका छन् । पानी जस्तो संबेदनशिल उत्पादनमा पनि जे पायो त्यही गरेर आम उपभोक्ताको जीवनमा खेलबाड गरेको पाइएको छ । पानीमा मात्र हैन अन्य कुरामा पनि हामी पालोपालो अनुगमन गर्नेछौं, निरन्तर ।

सरकारले चालु वर्षको बजेट कनिका छरेजस्तै ल्याएकाले ठोस विकास नहुने आलोचना छ, विकासको आधार के छ ?
प्रतिपक्षी र आलोचकहरुले सरकारको आलोचना गर्नुपर्छ, त्यो स्वभाविक हो । तर, सरकारले बजेट सदुपयोग गर्न सक्दैन र विकास हुदैन भन्ने कुरा गलत हो । हामीले बजेट कसरी खर्च गर्ने भन्नेबारे योजना बनाइसकेका छौं । आफ्नै संयन्त्र निर्माण गर्न पनि थालिसकेका छौं । यसैले खर्च गर्न समस्या पदैन । अर्कोतिर बजेट कनिका छरेजस्तो छरियो भन्ने कुरा पनि सही होइन । आवश्यक ठाउँमा हामीले प्रारम्भिक बिकासका लागि बिनियोजन गराएका छौं । एउटा कुरा के बुझनुपर्छ भने अध्ययनबिना कुनै पनि विकास दिगो हुदैन, यसैले हामीले प्रारम्भिक चरणमा महत्वपूर्ण योजनाहरुको संभाव्यता अध्ययनलाई जोड दिएका छौं । जहाँ लगानी खेर जान्छ त्यहाँ त लगानी गर्नुभएनन नि ।

तपाइले मन्त्री हुने लोभले संसदीय दलको नेतामा आफ्नो पुरानो समूह क्रस गरेर भोट हाल्नुभयो तर अहिले पुरानै समूहसँग नजिक हुनुहुन्छ किन ?
त्यो एउटा समयको कुरा हो । अहिले समय फेरिएको छ । समय अनुसार समूहहरु पनि फेरिन्छन् । हिजो म कुनै समूहमा थिएँ । तर, भोलि नयाँ समूहमा पनि हुनसक्छु । राजनीतिमा यसलाई स्वभाविक मानिन्छ । तर, म पार्टीको आदर्श र दर्शनभन्दा बाहिर गएर कुनै काम गर्दिन । त्योभन्दा बाहिरका कुनै गुटउपगुटमा लाग्दिन पनि । फेरि पनि के भन्छु भने मैले काम गर्ने भनेको पार्टीका लागि हो, गुटका लागि हैन ।

तपाइलाई सदाचारी र सहज पहुँच दिने मन्त्रीका रुपमा चिनिन्छ । तर, नातावाद कृपावादबाट मुक्त हुन नसकेको आरोप पनि छ नि ?
मलाई लाग्दैन म कुनै नातावाद वा कृपावादमा फसेको छु भनेर । किनभने मैले त्यस्तो कुनै कामै गरेको छैन । फेरि मन्त्री भएर काम गरेको नै कति भयो र ? म सकेसम्म बिनाभेदभाव काम गर्ने प्रयासमा हुन्छु । अब काम गर्दैजाँदा कही त्रुटी भएको भए त्यो चाँही जनताले औल्याइदिए भने मलाई सच्चिन सजिलो हुनेछ । म आम नागरिकसँग यो आपेक्षा पनि गर्छु । किनभने एउटै मान्छे सबै कुरामा पूर्ण हुदैन, सिक्दै र काम गर्दै जाने हो ।

प्रस्तुतिः गणेश लम्साल

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes