श्रीनिवासाचार्यको हर्कत : धर्मको नाममा अपराध - Pahilo Online

श्रीनिवासाचार्यको हर्कत : धर्मको नाममा अपराध

सम्पादकीय

writer

पहिलो अनलाइन

करिब एक महिना अगाडि विराटनगरमा हिन्दु धर्मका गुरु श्रीनिवासाचार्यमाथि भएको गोलीकाण्डलाई फरक–फरक कोणबाट हेरिएको थियो । कतिपयले हिन्दु धर्ममाथि भएको प्रहारको रुपमा यसको व्याख्या गरेका थिए भने कतिपयले यो घटनालाई प्रायोजित भनेका थिए । गोली प्रहारपछि हिन्दु धर्ममाथि आस्था राख्नेहरुले जुलुस प्रदर्शनसमेत गरेका थिए ।

श्रीनिवासाचार्यले पनि गोली प्रहारपछि सरकार र ठूला राजनीतिक दलहरुलाई गाली गर्दै आएका थिए । तर, सो घटना उनकै योजनामा भएको प्रायोजित भएको खुलासा भएको छ । धार्मिक द्वन्द्व चर्काउने उद्देश्यले आफ्नै सहयोगीलाई बन्दुक चलाउने तालिमसमेत दिएर श्रीनिवासाचार्यले आफैमाथि गोली प्रहार गर्न लगाएको प्रहरीले सार्वजनिक गरेको छ । सो घटना धर्मको आडमा भइरहेको अपराधिक हर्कत सार्वजनिक भएको छ ।

पूर्वराजा ज्ञानेन्द्रका निकट मानिएका श्रीनिवासाचार्यले यसअघि पनि विवादास्पद गतिबिधि गर्दै आएका थिए । संविधानसभाबाट संविधान निर्माण हुने चरणमा नेपाललाई हिन्दु राज्य नबनाएर देशभरीका चर्चमा बम पड्काउने धम्की दिएर उनी विवादमा आएका थिए । त्यसपछि कतिपय चर्चहरुमा बम आक्रमणको घटनासमेत भएको थियो । तर, राज्यले उनीमाथि अनुसन्धान गर्न सकेन ।

पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रसँगको बाक्लो उठबसपछि उनी नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने बताउँदै आएका थिए । तर, उनको अभियान प्रभाबकारी नभएपछि आफैंमाथि गोली प्रहार गराएका थिए । हिन्दु विरोधीले आपूmमाथि गोली प्रहार गरेको हल्ला गरेर धार्मिक द्वन्द्व चर्काउने उनको नियत रहेको स्पष्टै छ । तर, सचेत नागरिकहरुको कारण उनी र उनका पिछलग्गुहरुको योजना अनुसार द्वन्द्वको अवस्था बनेन । बरु, उनी नै प्रहरीको फन्दामा परेका छन् ।

नेपालको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । हरेक नागरिकलाई आफूले चाहेको धर्म मान्न पाउने स्वतन्त्रता संविधानले दिएको छ । तर, जबरजस्त अमुक धर्म र त्यसका संस्कार लाद्ने असंवैधानिक प्रयास भइरहेको छ । त्यस्ता प्रयासमा कतिपय सन्दर्भमा राज्य नै सहयोगी बनिरहेको छ । अतिवादी हिन्दु पण्डितहरुको अराजकतालाई छुटदेखि गाई काटेको प्रकरणमा नागरिकहरु पक्राउ परेका घटनाहरु त्यसकै नमुना हुन् । यसबाट राज्य पनि गम्भीर बन्न जरुरी छ । षड्यन्त्रकारी घटनाको नाइके श्रीनिवासाचार्यमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्छ । धार्मिक द्वन्द्व चर्काएर आफ्नो स्वार्थको रोटी सेक्न खोज्नेहरुको पहिचान गरी कानुनी दायरामा ल्यानुपर्छ । नेपाली जनताको ठूलो संघर्षपछि प्राप्त परिवर्तन संस्थागत गर्न सबै नेपाली जनता पनि सचेत हुनुपर्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes