गोल्डकप विगतभन्दा भिन्न र भब्य हुनेछ - Pahilo Online

गोल्डकप विगतभन्दा भिन्न र भब्य हुनेछ

नविन रिजाल (संयोजक), विराट गोल्डकप आयोजक समिति

writer

नविन रिजाल (संयोजक), विराट गोल्डकप आयोजक समिति

पाँचौ संस्करणको विराट गोल्डकप विगतभन्दा भिन्न तरिकाले सम्पन्न गर्ने तयारी छ । विराटनगरको सहिद रङ्गशालमा चैत १७ देखि २६ गतेसम्म हुने गोल्डकपलाई आयोजकले दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिताको रूपमा सम्पन्न गर्ने तयारी आयोजकको छ । गोल्डकपमा भारतको २ टिम र भुटानसहित स्वदेशका ७ गरी १० टिमको सहभागिता हुनेछ ।

अहिलेसम्म हुँदै आएको गोल्डकपभन्दा भिन्न तरिकाले प्रतियोगिता आयोजना गरी नयाँपन दिने कामको नेतृत्व मोरङ व्यापार संघका महासचिब रहेका नविन रिजालले लिएका छन् । प्रतियोगिता गर्ने जिम्मा पाएसँगै गोल्डकपको तयारीमा सक्रिय रिजालले मोफसलमै पहिलो पटक दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता सञ्चालनको चुनौति स्वीकार गरेका हुन् । विराटनगरको गौरबको रूपमा हुने प्रतियोगिताको तयारीको बारेमा आयोजक समितिका संयोजक रिजालसँग पहिलो अनलाईनका लागि अनिल श्रेष्ठले गरेको कुराकानी :

गोल्डकपको तयारी कहाँ पुगेको छ ?
यस पटक विगत वर्षहरूभन्दा फरक शैलीमा गोल्डकप प्रतियोगिता सम्पन्न गर्ने तयारी गरेका छौं । यस पटक डे–नाइट गोल्डकप हुनेछ । यसको लागि खेलमैदानमा लाइटको व्यवस्था भइसकेको छ । हामीले धैरे विश्लेषण गरेरे डे–नाइट प्रतियोगिता गर्न लागेका हौं । विदेशमा कसरी यस्तो डे–नाइट खेलहरू खेलाइन्छ भन्ने बारेमा बुझेपछि हामीले पनि यस्तो तयारी गरेका हौं । गोल्डकपको अन्य तयारी पनि तीव्र गतिमा अगाडि बढेको छ । प्याराफिट डिभाईड, मैदान तयार, प्रवेशद्वार निर्माण, भीआईपी लाउन्ज, रातिका लागि लाइट र सीसी क्यामेरा जडान, स्टेज सजावटलगायतका धेरै काम भइसकेका छन् ।

गोल्डकप साँझ परेपछि सुरू हुँदैछ । सुरक्षा चुनौतिको समाधान कसरी गर्ने योजना बनाउनुभएको छ ?
रात्रिकालिन प्रतियोगिता गर्दा अवश्य पनि सहज छैन । तर, खेलमैदानदेखि रङ्गशालाको भाग झिलिमिली बनाउनेछौं । राति पनि दिउँसो जस्तै बनाउने गरी अत्याधुनिक प्रकारको लाइटको व्यवस्था गरेका छौं । सुरक्षाको लागि स्थानीय प्रशासनले मजबुत रूपमा सुरक्षा प्रदान गर्नेछ । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोशकमा समेत प्रहरी परिचालन हुनेछ । त्यसको साथै कसैले उश्रृृंखल गतिविधिहरू गर्दछन् भने त्यस्ता व्यक्ति सिसी क्यामेराको निगरानीमा हुनेछन् । खेलाडी र दर्शकको सुरक्षाका लागि सहिद मैदान र वरपरका स्थानमा सीसी क्यामेरा जडान गरिनेछ । जसले गर्दा हरेक दर्शकको हामी निगरानीमा राख्दछौं । गोल्डकप हेर्न आउने दर्शकलाई असुरक्षित भएको अनुभूति हुन दिनेछैनौं ।

खेल हेर्न आउने दर्शकको लागि प्याराफिटको व्यवस्थापन कसरी गर्नुभएको छ ?
दिवा र रात्रिकालीन (डे–नाईट) प्रतियोगिता हुने भएपछि महिला दर्शकलाई छुट्टै प्याराफिटको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजना हुने सहिद रंगशालाको पश्चिमतर्फको प्याराफिट फुटबलप्रेमी महिलालाई छुट्याइएको छ । रातको समयमा पनि प्रतियोगिता आयोजना गरिने भएका कारण फुटबल हेर्न आउने महिलाको सुरक्षालाई विशेष ध्यान दिइएको हो । महिलाका लागि भनेर छुट्याएको प्याराफिटमा पुरूष दर्शक प्रवेश गर्न पाउने छैनन् । तोकिएको प्याराफिटमा महिला मात्रै बस्न पाउने छन् । परिवारसहित खेल हेर्न आउने दर्शकका लागि पनि बस्न अलग्गै स्थानको व्यवस्था गरिएको छ । प्रतियोगितामा सीमित मात्रामा सिजनल टिकटको व्यवस्था छ । एक हजार पाँच सय रूपैयाँ तिरेर यो टिकट लिने दर्शकका लागि प्याराफिटमा छुट्टै व्यवस्था रहनेछ ।

गोल्डकपमा सहभागी हुने टिमहरू निश्चित भइसकेको हो ?
भारतको दुई टिम, भुटान र स्वदेशी ७ गरी दश टिमको सहभागिता रहनेछ । पूर्वघोषित बंगलादेशी टिम भने नआउने भएको छ । नेपालमा बंगलादेशको जहाज दुर्घटना भएपछि बंगलादेशी खेलाडी त्रसित भएको बुझ्यौं । अन्तिम समयमा आएर त्यहाँका खेलाडीले नेपाल प्रवेशका लागि भीषा पनि पाउन सकेनन् । नेपालमा भएको जहाज दुर्घटना, भीषा अभाव लगायत विभिन्न प्राविधिक कारण देखाउँदै बंगलादेश स्पोर्टिङ क्लबले गोल्डकपमा सहभागी हुन नसक्ने जानकारी गराएको छ ।

बंगलादेश नआउने भएपछि भारतकै दुईवटा टिम गोल्डकपमा आउनेछन् । भारतको सिक्किम युनाइटेड क्लब, मोहमडन स्पोर्टिङ क्लब र भुटानको थिम्पु फुटबल क्लब विदेशी टिम हुन् । प्रतियोगितामा नेपालको मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी बल, थ्री स्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, रमपम झापा ११ र आयोजक रिजालको मोरङ ११ गरेर ७ वटा टिम सहभागी हुँदैछन् ।

मोफसलमै पहिलो पटक रात्रिकालीन फुटबल आयोजना हुन लागेको छ । यसको विजेता र उपविजेता कति रकम पाउछन् ?
यस वर्षको प्रतियोगितामा विजेताले १२ लाख ७१ हजार र उपविजेताले ५ लाख ५१ हजार रूपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार रूपैयाँ नगद र शील्ड प्रदान गरिने छ । म्यान अफ दि टुर्नामेन्ट हुने खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ता र टिममध्येका उत्कृष्ट सबैलाई २५÷२५ हजार रूपैयाँ पुरस्कार छ । प्रतियोगितामा सहभागी सबै टिमलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ । आयोजकले प्रतियोगितामा १ करोड ३ लाख रूपैयाँ आम्दानी र एक करोड रूपैयाँ खर्च हुने अनुमान गरेको छ ।

खेल प्रेमी दर्शकहरूलाई के भन्न चाहनुहुन्छ ?
यस पटक फरक शैलीमा विराट गोल्डकप गर्ने तयारी गरेका छौं । अहिलेसम्म साधरण तरिकाले खेलहरू हेर्दै आएका थियौ । यस पटक दर्शकहरूले प्रयाप्त मनोरञ्जनसमेत पाउनेछन् । यस पटक ५ वटा नयाँ कार्यक्रमहरू छन् । उद्घाटनको दिन पूर्व राष्ट्रिय खेलाडी र बाल खेलाडीहरूबीच मनोरञ्जनात्मक खेल खेलाउनेछौं । त्यस्तै दैनिक रूपमा चर्चित टिमको खेलहरू हुनेछन् । खेलप्रेमी दर्शकहरूलाई यो नौलो तरिकाले आयोजना गरेको खेलहरू हेरिदिन अनुरोध गर्दछु ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes