लालबाबु ‘घर’ पनि हेर - Pahilo Online

लालबाबु ‘घर’ पनि हेर

लालबाबु पण्डितलाई सामान्य मन्त्रालय दिएर ‘थन्क्याएको’ भन्ने चर्चा पनि भयो । तर, खाने मुखलाई जुँगाले छेक्दैन । पण्डितको दोस्रो इनिङ आशालाग्दो देखिँदैछ ।

writer

एमाले नेता तथा हालका जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितलाई उक्त मन्त्रालय दिइरहँदा धेरैले जिब्रो टोके । शेखर कोइरालालाई पराजित गरेर सांसद भएपछि आफूलाई गृहमन्त्री बनाए गुण्डागर्दी र अपराध अन्त्य गर्छु भनेका पण्डितलाई सामान्य मन्त्रालय दिएर ‘थन्क्याएको’ भन्ने चर्चा पनि भयो । तर, खाने मुखलाई जुँगाले छेक्दैन । यसअघि पनि सामान्य प्रशासनमन्त्री हुँदा चर्चामा आएका पण्डितको दोस्रो इनिङ पनि आशालाग्दो देखिएको छ । उनले काठमाडौंलाई प्रदूषण मुक्त बनाउने वाचा गरिरहेका छन् । त्यसै वाचाअनुसार वातावरणलाई प्रदूषित बनाउने काठमाडौंका केही होटल र उद्योगलाई कारबाहीको प्रक्रियासमेत अगाडि बढाइरहेको समाचार सार्वजनिक भएका छन् । लालबाबु पण्डितले काठमाडौंमा त्यस्तो कदम चालिरहँदा देशभरमा उनको माग हुन स्वभाविक होला ।

धूलो नगरमा लालबाबुलाई निम्तो

अर्जुन आचार्य

नेपालका अपवाद बाहेक कुनै पनि सहर प्रदूषण मुक्त छैनन् । सबै सहरमा धूलो, धुवाँ, जथाभावि हर्न, उद्योगबाट निस्किएको फोहोर, घरबाट निस्किएको फोहोर सडक र गल्लीमा फाल्नाले सर्वसाधरण हैरान छन् । सरकारले बनाइदिएका सार्वजनिक शौचालयहरुमा गएर शौच गर्न पनि गाह्रो छ । आस्थाका केन्द्र सरस्वतीको वास भएका सामुदायिक विद्यालयको सरसफाई कमजोर छ । विकास निर्माणको कामको नाममा सर्वसाधरणलाई दीर्घकालिन ढंगले रोगको संक्रमण हुनेगरी वातावरण प्रदूषित पारिएको छ । धूलो र धुवाँले बिहानको मानिस बेलुका घरमा पुग्दा घाँटी बसेको हुन्छ, स्वर भासिएको हुन्छ, आँखाको डिलमा माटोको ढिस्को र खकारमा रगत मिसिएको हुन्छ । यस्तो अवस्था कामरेड लालबाबुको सहर विराटनगरमा अझै धेरै छ । फोहोर उठाउने ट्याक्टरका बल्ड्याङ बुल्डुङ आवाजले पसल आसपासका मानिस बहिरा हुनसक्ने खतरा छ । सडकमा ठूलो आवाजमा कुद्ने बुलेट नामका मोटरसाइकलको थर्काएले धेरैलाई हृदयघात हुन सक्छ । वातावरण भन्ने विषय स्कुलका कितावमा मात्रै छ । मानिसको दिमागमा छैन । उद्योग भन्नाले सामान उत्पादन गर्ने कारखाना हो उसलाई चलाउनु हुन्न भन्ने यहाँको मान्यता छ । यहाँको मनपरी र वातावरण प्रदूषण देखादेखि भइरहँदा नियमक निकाय मौन छ । अनुगमन र नियन्त्रणको नाममा देखावटी काम हुन्छ । अन्तिममा सेटिङ मिलाएर सहर कुरुप छ, प्रशासन मौन छ । त्यसकारण लालबाबुले पहिलो पटक काठमाडौं केन्द्रीत गरे पनि दोस्रो पटक विराटनगर आउनु पर्छ । उनका मतदाता र उनका गृहनगरका जनताले पनि लालबाबुको सकारात्मक कामको स्वागत गर्न पाउनु पर्छ ।

देखावटी नहोस्, ओली कामरेडले ब्याक नगरुन्

लालबाबुले गरेका नीतिगत सुधारले यसअघि देशलाई फाइदा भएको सबैलाई विदितै छ । यहाँ गुण्डागर्दीलाई राज्यले संरक्षण गर्छ, यहाँ कर छलिमा लागेकालाई अदालतले सफाइ दिने प्रयत्न गर्छ, यहाँ अख्तियारका मान्छे आफैं सेटिङ मिलाएर दोषिलाई छुट दिन्छन् । यस्तो अवस्थाको पर्याय बनेको नेपालको प्रशासन यन्त्रलाई लालबाबुले कति परिवर्तन गर्न सक्लान् सबैको चासोको विषय हो । यद्यपि उनी पहिलो जस्तो मात्रै होइन अहिले बलियो बहुमत पाएको सरकारका एक मन्त्री हुन् । उनले अडान नछोडेको अवस्थामा वास्तवमै नेपालमा केही परिवर्तनको आभास पाउन सकिन्छ । लालबाबु पण्डितले अहिले चालेको कदमलाई स्वागत गर्दै प्रधानमन्त्री केपी ओलीले सहयोग गर्नुपर्छ । मेरो विश्वास छ लालबाबु काठमाडौंमा सफल हुनेछन्, विराटनगरमा अनुगमन गर्नेछन्, वातावरणलाई प्रदूषित बनाउनेलाई कारबाहीको दायरामा ल्याउनेछन् र देशलाई नै वातावरण मैत्री र प्रदूषणमुक्त बनाउनेछन् । यो सपना साकार बनाउन लोकप्रियता हासिल गर्ने उपाया मात्रै नभएर वास्तविक परिवर्तनको अनुभूति गराउने एउटा कार्य हुनेछ । लालबाबुको जयजयकार गर्न जनता आतुर छन् ।

मा प्रकाशित

1 thought on “लालबाबु ‘घर’ पनि हेर

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes