बुद्धिचालमा लोकसागर साम्बा दोस्रो पटक बने पथरीशनिश्चरे नगर च्याम्पियन - Pahilo Online

बुद्धिचालमा लोकसागर साम्बा दोस्रो पटक बने पथरीशनिश्चरे नगर च्याम्पियन

writer

पहिलो अनलाइन

मोरङ । लोकसागर साम्बा ‘सुशिला कन्दङ्वा स्मृति तेस्रो पथरीशनिश्चरे रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८३’ को नगर च्याम्पियन बनेका छन् । पथरीशनिश्चरेमा आयोजित प्रतियोगितामा अपराजित रहँदै ८ खेलबाट ८ अंक जोडेर साम्बा दोस्रो पटक नगर च्याम्पियन बनेका हुन् ।

बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिले पथरीस्थित एभरेष्ट बोर्डिङ स्कुलमा आयोजना गरेको प्रतियोगिताको अन्तिम खेलमा पुकार राईलाई पराजित गर्दै साम्बाले उपाधि जितेका हुन् । उनी गत वर्षको प्रतियोगितामा पनि च्याम्पियन बनेका थिए ।

प्रतियोगितामा ६ अंक प्राप्त गरेका पुकार राई दोस्रो र समान ६ अंक जोडेका अनिश तामाङ तेस्रो भए । प्रतियोगिताका आरबिटर डम्बर बाछना राईका अनुसार महिला तथा १६ वर्षमुनिको विधाका विजेता छनोट गर्न शीर्ष पाँच खेलाडीबीच पुनः चार चरणका १० मिनेटे खेल सञ्चालन गरिएको थियो ।

महिलातर्फ एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत सेम्रिल राई अपराजित रहँदै चार अंकका साथ च्याम्पियन बनिन् । महिला विधामा समिरा राई दोस्रो, कृष्टि राई तेस्रो, हेन्खाम्मा राई चौथो र करुणा राई पाँचौँ भए ।

त्यसैगरी १६ वर्षमुनिको विधामा एभरेष्ट बोर्डिङ स्कुलकै कक्षा १० मा अध्ययनरत सिद्धान्त कन्दङ्वा च्याम्पियन बने । चार खेलबाट ३.५ अंक जोड्दै उनले उपाधि जितेका हुन् । यस विधामा रिदम राई दोस्रो, दिप्सन अधिकारी तेस्रो, अन्जल थापा चौथो र रोहन विक पाँचौँ भए ।

नगर च्याम्पियन साम्बाले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका पुकारले पाँच हजार र तेस्रो भएका अनिशले तीन हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

महिला र १६ वर्षमुनिका दुवै विधाका विजेताले जनही पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । दोस्रोदेखि पाँचौँ स्थानसम्मका खेलाडीलाई क्रमशः चार हजार रुपैयाँदेखि एक हजार रुपैयाँसम्म नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि चण्डीप्रसाद राईले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रविन कन्दङ्वा र दिनेश कन्दङ्वा, फ्रेण्डसीप चेस क्लबका अध्यक्ष अमिर राई तथा पञ्चायत माध्यमिक विद्यालयका खेल शिक्षक नरेश राईलगायतले पुरस्कार वितरण गरेका थिए ।

बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिका उपाध्यक्ष तुलशी भण्डारीको सभापतित्वमा भएको कार्यक्रम सचिव पुकार राईले सञ्चालन गरेका थिए ।

प्रतियोगिताको प्रायोजन पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रविन कन्दङ्वा र दिनेश कन्दङ्वाले गरेका थिए । प्रतियोगिता स्वर्गीय सुशिला कन्दङ्वाको स्मृतिमा आयोजना गरिएको हो । उनी एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक चन्द्रमान कन्दङ्वाकी धर्मपत्नी थिइन् । चन्द्रमान कन्दङ्वा यस क्षेत्रका शैक्षिक अभियन्ता, कम्युनिष्ट विचारक तथा संगठक र साहित्यिक व्यक्तित्वका रूपमा परिचित छन् ।

नगरस्तरीय प्रतियोगिताको उद्घाटन कात्तिक २७ गते शुक्रबार पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्बापोले गरेका थिए । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ६० जना खेलाडीको सहभागिता रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles