पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२, कालापानीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। कालापानी युनाइटेड क्लबको आयोजनामा आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न स्थानका ८ वटा टोलीले सहभागिता जनाउने भएका छन्।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले स्थानीय क्षेत्रमा खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले गोल्डकप आयोजना गर्न लागिएको जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका वडा नं. २ को कार्यालय रहेको छ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुदको प्रवर्द्धन गर्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
‘कालापानी युनाइटेडको आह्वान, खेलकुद विकास हाम्रो अभियान’ भन्ने नारासहित २०८३ सालमा स्थापना भएको कालापानी युनाइटेड क्लबले स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्ने लक्ष्य राखेको छ।
प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न क्लबले खेलप्रेमी, स्थानीयवासी, संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका शुभेच्छुकहरूलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

