हरियाली सामुदायिक वनको खण्ड ६ बारे वडाध्यक्षको अभिव्यक्तिप्रति समूहको आपत्ति - Pahilo Online

हरियाली सामुदायिक वनको खण्ड ६ बारे वडाध्यक्षको अभिव्यक्तिप्रति समूहको आपत्ति

writer

पहिलो अनलाइन

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनामा समेटिएको वन क्षेत्रलाई लिएर वडा नं. १ का वडाध्यक्ष भीमकुमार राईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै समूहले खण्ड नं. ६ मा पर्ने वन क्षेत्र आफूहरूले कानुनी प्रक्रियाअनुसार संरक्षण गर्दै आएको दाबी गरेको हो । समूहका अध्यक्ष काबुलबहादुर मगरले सामुदायिक वनको स्वीकृत कार्ययोजनामै उक्त क्षेत्र समेटिएको अवस्थामा वन समूहले जालसाजी गरी आफ्नो कार्ययोजनामा पारेको भन्ने आरोप गलत भएको बताए ।

अध्यक्ष मगरका अनुसार वन ऐन २०४९ र वन नियमावली २०५१ को व्यवस्थाअनुसार हरियाली सामुदायिक वनले वन संरक्षण, संवद्र्धन, व्यवस्थापन र सदुपयोग गर्दै आएको छ । उनले समूहको दोस्रो परिमार्जित सामुदायिक वन व्यवस्थापन कार्ययोजना २०७९ वैशाख ७ गते स्वीकृत भएको र सोही कार्ययोजनामा खण्ड नं. ६ को वन क्षेत्र समेटिएको बताए ।

कार्ययोजनाअनुसार रत्नचोकदेखि विष्णुचोक जाने बाटो पश्चिम, जुनतारा बोर्डिङ स्कुल उत्तर, यलम्बरचोकबाट पथरी बहुमुखी क्याम्पस हुँदै शनिश्चरे जाने बाटो पूर्व र पथरी पैनी दक्षिणको आवादी क्षेत्रबीचको चारकिल्लामा पर्ने राष्ट्रिय वन क्षेत्रलाई पथरीशनिश्चरे नगरपालिकाको सिफारिसमा हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई संरक्षणका लागि हस्तान्तरण गर्ने व्यवस्था रहेको समूहले जनाएको छ ।

समूहका अनुसार उक्त वन क्षेत्र संरक्षणका लागि स्थानीय तहको सिफारिससहित आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालयमा प्रस्ताव पेश गरिएको थियो । त्यसपछि स्वीकृत कार्ययोजनामा क्षेत्र समावेश गरिएको समूहको भनाइ छ ।

हालै संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसहित नगर प्रमुख र स्थानीयवासीलाई सम्बोधन गर्ने क्रममा वडाध्यक्ष राईले खण्ड नं. ६ को वन क्षेत्र हरियाली सामुदायिक वनले जालसाजी गरेर आफ्नो कार्ययोजनामा समावेश गरेको र नगरपालिकाले रत्न हरित पार्क निर्माणको तयारी गरिरहे पनि सामुदायिक वनका कारण काम अघि बढाउन नसकिएको भन्दै उक्त क्षेत्रलाई पुनः राष्ट्रिय वन कायम गर्न मन्त्रिपरिषद्सँग आग्रह गरेको विषय सार्वजनिक भएपछि समूहले आपत्ति जनाएको हो ।

अध्यक्ष मगरले खण्ड नं. ६ को वन क्षेत्र हरियाली सामुदायिक वनको स्वीकृत कार्ययोजनामै उल्लेख भएकाले यसलाई अवैध भन्नु गलत भएको बताए । उनले वन क्षेत्र संरक्षणका लागि आफूहरू स्थानीय सरकारसँग सहकार्य र साझेदारी गर्न तयार रहेको समेत बताए ।

समूहले वन कुनै निश्चित वडाको स्वामित्वमा नहुने भन्दै डिभिजन वन कार्यालयले कानुनी प्रक्रियाअनुसार संरक्षणका लागि उपयुक्त सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गर्न सक्ने जनाएको छ । साथै, वडा नं. १ का बासिन्दा हरियाली सामुदायिक वनका उपभोक्ता नभएको भन्ने अभिव्यक्तिप्रति पनि समूहले आपत्ति जनाएको छ ।

समूहले आफूहरूले संरक्षण गर्दै आएको वन क्षेत्रलाई नगरको स्वच्छ वातावरण र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय सरकारसँग सहकार्य गर्न चाहेको जनाएको छ । वन समूहका विषयमा भ्रमपूर्ण अभिव्यक्ति नदिन र तथ्य बुझेर मात्र धारणा बनाउन नगरवासी तथा उपभोक्तालाई समूहले आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष मगरसहित उपाध्यक्ष दिलबहादुर तामाङ, सचिव निर्मला चौहान, सहसचिव नारायण अधिकारी, कोषाध्यक्ष कमला लिम्बू, सल्लाहकार रोहित बाँस्तोला र कार्यालय सचिव लिला गुरुङलगायतको उपस्थिति थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles