पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले सुरु गरेको लाहा खेतीको बिहीबार स्थलगत अनुगमन गरिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव अखलिश गुप्ता, सव डिभिजन वन कार्यालय पथरीका प्रमुख मोहन अर्यालसहितको टोलीले वन क्षेत्रमा पुगेर लाहा खेतीको अवस्थाबारे जानकारी लिएको हो ।
अनुगमनका क्रममा टोलीले सामुदायिक वन समूहका अध्यक्ष पुष्कर शाहीसँग भेटघाट गरी लाहा खेतीको वर्तमान अवस्था, व्यवस्थापन, उत्पादनको सम्भावना तथा आगामी योजनाबारे विस्तृत छलफल गरेको थियो । लाहा खेतीलाई सामुदायिक वनको संरक्षणसँगै उपभोक्ताको आयआर्जन र स्थानीय रोजगारीसँग जोड्न सकिने विषयमा समेत छलफल भएको जनाइएको छ ।
डिभिजन वन कार्यालय मोरङले जिल्लाका पशुपति र महिला जागृति सामुदायिक वन क्षेत्रमा लाहा खेती विस्तारका लागि सहयोग गर्दै आएको छ । लाहाबाट वार्निस, पालिस, रङ तथा विभिन्न किसिमका कोटिङ सामग्री उत्पादन गर्न सकिन्छ । यसको प्रयोग फलफूल तथा औषधिजन्य सामग्रीको कोटिङलगायत विभिन्न औद्योगिक क्षेत्रमा समेत हुने भएकाले वातावरणमैत्री प्राकृतिक उत्पादनका रूपमा यसको महत्व बढ्दै गएको छ ।
लाहा उत्पादनका लागि कुसुम, बयर, खयर, पड्के सिरिस, सेमियालत्ता, पलासलगायतका रूख उपयोगी मानिन्छन् । होस्टप्लान्टमा लाहाको कीरा राखेर निश्चित अवधिपछि लाहा संकलन गरिन्छ । यसका लागि ठूलो मात्रामा खेतीयोग्य जमिन आवश्यक नपर्ने र सामुदायिक वन क्षेत्रमा रहेका उपयुक्त रूखको उपयोग गर्न सकिने भएकाले वन संरक्षण र स्थानीय अर्थतन्त्रलाई सँगसँगै अघि बढाउन सकिने सम्भावना देखिन्छ ।
पशुपति सामुदायिक वनमा सुरु गरिएको लाहा खेतीलाई व्यवस्थित र व्यावसायिक रूपमा विस्तार गर्न सके वन उपभोक्ता समूहका सदस्यका लागि अतिरिक्त आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ । त्यस्तै, मोरङकै महिला जागृति सामुदायिक वन क्षेत्रमा पनि लाहा खेती प्रवद्र्धनको काम अघि बढाइएको छ । दुईवटै सामुदायिक वनमा गरिएको अभ्यास सफल भएमा जिल्लाका अन्य सामुदायिक वनमा समेत यसको विस्तार गर्न सकिने वन क्षेत्रका अधिकारीहरूको अपेक्षा छ ।
लाहाको बजार सम्भावना पनि उत्साहजनक रहेको जानकारहरू बताउँछन् । नेपालमा यसको उत्पादन सीमित रहे पनि भारतसहित दक्षिण एसियाली क्षेत्रमा लाहाबाट उत्पादित कच्चा पदार्थको औद्योगिक उपयोग हुँदै आएको छ । विशेषगरी प्राकृतिक तथा वातावरणमैत्री उत्पादनप्रतिको चासो बढ्दै जाँदा लाहाबाट उत्पादित सामग्रीको बजार विस्तारको सम्भावना रहेको देखिन्छ । भारतको छत्तीसगढमा समेत लाहा खेतीलाई वनमा आधारित आयआर्जनका रूपमा विस्तार गरिएको र किसानले उत्पादनबाट आम्दानी लिन थालेको उदाहरण छ ।
यद्यपि लाहा खेतीलाई व्यावसायिक बनाउन उत्पादनसँगै बजारीकरण, प्राविधिक ज्ञान, गुणस्तरीय लाहाको बीउको उपलब्धता, आश्रयदाता रूखको व्यवस्थापन र मूल्य निर्धारणमा ध्यान दिनुपर्ने आवश्यकता छ । उत्पादित लाहा बिक्रीका लागि स्थानीय व्यापारी तथा उद्योगसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्न सके बिचौलियाका कारण उत्पादकले कम मूल्य पाउने समस्या समेत घटाउन सकिने देखिन्छ ।
सामुदायिक वनले परम्परागत रूपमा वन संरक्षण र काठ–दाउरा व्यवस्थापनमा मात्र सीमित नभई गैरकाष्ठ वन पैदावारमार्फत उपभोक्ताको आर्थिक अवस्था सुधार गर्ने दिशामा पनि काम गर्न थालेका छन् । सामुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनाअनुसार वनको विकास, संरक्षण, उपयोग तथा व्यवस्थापन गर्दै वन पैदावारको बिक्री–वितरण गर्न पाउने कानुनी व्यवस्था छ ।
पशुपति र महिला जागृति सामुदायिक वनमा भइरहेको लाहा खेतीको अभ्यासले वन संरक्षणसँगै गैरकाष्ठ वन पैदावारको व्यावसायिक उपयोगको नयाँ सम्भावना देखाएको छ । स्थानीयस्तरमै उत्पादन, प्रशोधन र बजारीकरणको व्यवस्था गर्न सकिए लाहा खेतीले सामुदायिक वनका उपभोक्ताको आयआर्जन बढाउनुका साथै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुर्याउन सक्ने देखिन्छ ।


