मोदी गलेका हुन् कि ओली झुकेका ? - Pahilo Online

मोदी गलेका हुन् कि ओली झुकेका ?

मोदीप्रतिको सत्कार नै ओलीका लागि महंगो सावित हुँदैछ । मोदी सतकारले ओलीलाई नेपाली जनताबाट आलोच्य बन्दैछन् । ओलीको लोप्रियताको पारो घटाउन मोदी भ्रमणले राम्रो काम गरेको छ ।

writer

तारामणि सापकोटा

भरतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार र शनिबार नेपालको भ्रमण गर्दैछन् । उनको भ्रमण नेपालका सञ्चार माध्यमका लागि प्रमुख बिषय बनेको छ । २ नम्बर प्रदेशले मोदी भ्रमणलाई उत्सवको रुपमा मनाउँदैछ भने अन्य प्रदेशमा मोदी भ्रमण आलोचनाको बिषय बनेको छ ।

नेपालको संविधान २०७२ जारी भएसँगै भारतले नेपालमा नाकाबन्दी लगायो । संसार भरका नेपालीले मोदीको नाकाबन्दीको धज्जी उडाए । नाकाबन्दीबाट मोदी अन्ताराष्ट्रिय रुपमा वेइज्जत भए । अन्ततः नेपाल र नेपाली नेतालाई घुँडा टेकाउन लगाएको नाकाबन्दीबाट मोदी रित्तो हात ब्याक भए । मोदीको नाकाबन्दीको फाइदा एमाले पार्टी र त्यसका अध्यक्ष केपी शर्मा ओलीले राम्रैसँग उठाए । महाकाली शन्धिबाट राष्ट्रघातीको उपमा पाएको एमाले एकाएक राष्ट्रवादी पार्टी बन्यो । केपी ओली राष्ट्रवादी नेता बने । हुन पनि ओलीले प्रधानमन्त्रीको कुर्सीबाट भारतीय प्रधानमन्त्रीलाई पटक–पटक ललकारे । सार्वजनिक रुपमा चूँसम्म नगर्ने नेपाली नेताका ठाउँमा ओलीको खुल्ला चुनौतीलाई नेपाली जनताले बलियो समर्थन गरे । निर्वाचनमा पनि ओलीको राष्ट्रवाद चुनावी प्रचारको सामग्री बन्यो ।

तारामणि सापकोटा

कम्युनिष्टले आलोचना गर्ने महेन्द्रीय राष्ट्रवाद भन्दा ओली राष्ट्रावाद निकै शक्तिशाली र प्रगतिशील भएको बहस भयो । एमालेभित्रको ओली समूहले ओली राष्ट्रवादको व्यापक प्रचार मात्र गरेन ओली प्रखर राष्ट्रवादी राजनेता भएको ठोकुवा गरे । ओली राष्ट्रवादको आलोचना गर्नेको हुर्मत काढे । यस्तो हुर्मतमा नागरिक तहबाट पनि ओलीजनले साथ पाए । यसमा उनीहरु निकै पुलकित हुन्थ्ये । तर, ओली राष्ट्रवाद दुई वर्ष टिक्न सकेन । ओली पहिलो पटक प्रधानमन्त्री भएपछिको भारत भ्रमण शंकाको घेरामा थिएन । त्यस भ्रमणमा झगडा होइन भारतसँग मिलेर अघि बढ्न चाहेको शन्देस प्रवाह भयो । ओलीको यतिसम्मको कदमलाई नागरिक स्तरबाट ठिकै ठानियो । जब निर्वाचनपछि दुईतिहाईको शक्तिशाली प्रधानमन्त्री भए । भारतको दोस्रो भ्रमणले ओली राष्ट्रवादको हावा लिक हुनथाल्यो । मोदीको जनकपुर भ्रमणसम्म आईपुग्दा ओलीको राष्ट्रवाद पम्चर भएको छ । उनको राष्ट्रवाद छताछुल्ल भएको छ ।

मोदी दोस्रो पटक नेपाल आउँदा जनकपुरमा बिशाल आमसभा गर्दै साइकल बाँड्ने तयारीमा थिए । धर्मका नाममा मधेसमा भारतको मनोवैज्ञानिक सत्ता स्थापित गर्न चाहन्थे । तर, तत्कालिन सरकारले आमसभामा रोक लगाएपछि मोदीको जनकपुर मिशन रोकिएको थियो । नाकाबन्दीबाट रित्तो हात भएका मोदी नेपालको मधेस भूभागप्रतिको स्वार्थलाई नयाँ ढंगले उठान गर्दैछन् । मोदी दिल्ली काठमाडौँ सम्बन्ध होइन, दिल्ली जनकपुर मनोवैज्ञानिक सत्ता स्थापित गर्ने खतरनाक अभ्यासमा लागेका छन् । मोदीले आफ्नो स्वागतमा राष्ट्रवादी नेता ओलीलाई जनकपुर आमन्त्रण गर्दैछन् । मोदीलाई नेपाल देशले जनकपुरमा स्वागत गर्ने होइन । जनकपुर उपमहानगरको नाममा २ नम्बर प्रदेशले नागरिक अभिनन्दन गर्दैछ । जनकपुर यात्रा मोदीको मिशन हो । काठमाडौँको नागरिक अभिनन्दन र मुक्तिनाथ यात्रा ओलीका लागि राष्ट्रवादको लाज छोप्ने मेसो मात्र हो ।

दिल्लीको मधेस मिशनको कार्यनीति मात्र फेरिएको हो, मधेस मोहको रणनीति फेरिएको होइन । संविधान घोषण भएपछिको दिल्ली र निर्वाचनपछिको दिल्लीमा रुपमा फरक भएपनि सारमा फरक छैन । भारतीय साशकको ठुलदाई चरित्र बदलिएको छैन । भारतको आलोचना गर्ने नेपाली नेतालाई हप्काउने, थर्काउने, दवाव दिने, त्यति गर्दा नमाने फकाउने र फसाउने । यस्तो फसाउने कि आफ्नो टाङमुनी छिराउने । जनताका बिचमा राष्ट्रवादी छवी भएको नेतालाई सडकमा ल्याइदिने । उसलाई जनताको नजरमा उठनै नसक्ने बनाउने, यो भारतीय शासकको पुरानै शैली हो । भारतको नेपालप्रतिको स्वार्थ मूलतः पानी नै हो । भारत नेपाललाई आफ्नो प्रभावमा राख्न चाहन्छ । अरु देशले नेपालमा आएर केहि गर्नु हुँदैन । गर्नु नै परे उसको पूर्व स्वीकृति लिनुपर्छ । अन्य देशले कुनै बिकास निर्माण गर्न आँट्यो भने त्यो म गर्छु भन्ने र वर्षौसम्म ओगटने तर सिन्को नभाँच्ने । नेपाललाई आफूमा परनिर्भर बनाईरहने । नेपाल भारतबाट मात्र बाँच्नसक्छ भन्ने प्रमाणित गर्न परजीवी फर्मूला लागू गर्ने ।

सन्धी गरेको २२ वर्षसम्म महाकालीको पञ्चेश्वर बहुउदेश्य परियोजनाको डिपिआरसम्म नबनाउने भारतले त्यो प्रोजेक्ट अब कहिल्यै बनाउँदैन । अरुण तेस्रो पनि उसको आवश्यक्ता होइन, चीनलाई अरुणमा आउन नदिनु मात्र हो । भारतको रक्सौल काठमाडौँ रेलमार्गको प्रस्ताव चिनियाँ रेल र फाष्ट ट्रयाक रोक्ने भारतीय रणनीति मात्र हो । जवाहरलाल नेहरुपछि भारतको गतिविधि हेर्दा नेपालमा बिकासको हल्ला गर्ने, सम्झौता गर्ने तर काम नगर्ने, मात्र ओगट्ने काम भएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नाकाबन्दी किन लागाए भन्ने छर्लङ्ग छ । मोदीले नाकाबन्दीको घाउमा मलमपट्टीका अनेक प्याकेज घोषणा गर्लान् । केहि किलोमिटर सडक, हाइड्रोपावर निर्माण, तत्काल केहि मेघावाट विद्युत् दिने घोषण गर्लान । तर, नेपाली जनताले नाकाबन्दीको पीडा बिर्सिहाल्ने अवस्था छैन । उनले सार्वजनिक रुपमा क्षमायाचना नगरेसम्म नेपाली जनताले माफी दिन सक्तैनन् । काठमाडौँको अभिनन्दन मोदीका लागि नाकाबन्दीको पाप पखाल्ने अवसर पनि हुनसक्छ । उनले त्यो मञ्च नेपाली जनतासँग क्षमा माग्ने अवसरका रुपमा प्रयोग गर्न सक्छन् ।

मोदीको नेपाल भ्रमणबाट कति सद्भाव बटुल्छन् त्यो हेर्न बाँकी नै छ । तर, राष्ट्रवादी नेता ओलीको छवी धुमिल बनाउन सफल हुनेछन् । नेपालमै आएर नेपाली जनताका नजरबाट ओलीलाई कमजोर बनाउन मोदी सफल हुँदैछन् । मोदीको नेपाल भ्रमण सफल बनाउन सक्दो प्रयास गर्नुपर्ने हुन्छ । ओलीलाई भारतमा गरेको सत्कारको बदला मोदीलाई फर्काउनै पर्छ । अतिथि बोलाएर धारे हात लगाउन मिलेन, सत्कार र खातिरीमा सरकार मात्र होइन राज्यका सबै संयन्त्र प्रयोग हुने नै भए । तर, मोदीको खातिरदारी नेपाली जनताले तत्कालै भित्रैबाट स्वकिाने अवस्था छैन । मोदीप्रतिको सत्कार नै ओलीका लागि महंगो सावित हुँदैछ । मोदी सतकारले ओलीलाई नेपाली जनताबाट आलोच्य बन्दैछन् । ओलीको लोप्रियताको पारो घटाउन मोदी भ्रमणले राम्रो काम गरेको छ । ओलीको लोकप्रियता कति घट्छ भन्ने कुराले नै मोदी भ्रमण कति सफल असफल भन्ने निर्धारण हुन्छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes