
पथरीशनिश्चरे । शनिबार विहान २ बजे, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ कम्युनिष्ट नेता विष्णु हमाल ‘उदय’ को निधन भएको छ । हमालको निधनले समग्र वाम आन्दोलनले एक जुझारु योद्धा गुमाएको छ ।
मोरङ पथरीशनिश्चरे–४ कुशलचोक निवासी हमाल नेकपा माओवादी केन्द्र कोसी प्रदेशका जेष्ठ कम्युनिष्ट मञ्चका सदस्य तथा पार्टीका अग्रज मार्गदर्शक थिए ।
जन्म र प्रारम्भिक जीवन
वि.सं. २००५ सालमा उदयपुरको ओख्ले गाविसमा जन्मिएका हमाल मकरबहादुर हमाल र कर्मकुमारी ठकुरीका सुपुत्र थिए । वि.सं. २०२१ मा वैवाहिक जीवनमा बाँधिएका हमालले पारिवारिक जीवनका साथसाथै राजनीतिक आन्दोलनमा आफूलाई समर्पित गरे । वि.सं. २०३७ मा मोरङको पथरीमा बसाइ सरेका उनी त्यसको एक वर्षपछि कुशलचोकमा स्थायी रूपमा बसोबास गर्न थाले ।
राजनीतिक यात्रा
वि.सं. २०३३ सालमा सिन्धुलीमा रहँदा सुरु भएको राजनीतिक चेतना सर्लाहीको घटनासँग गहिरो भयो । प्रकाशबहादुर न्यायाधीशको भकारी फोर्ने कार्यमा प्रत्यक्ष संलग्नता र त्यसपछि ईकाई कमिटीमार्फत जनसंपर्क विस्तार गर्दै मोरङ फर्किएपछि हमालको राजनीतिक दृष्टिकोण अझ सशक्त बन्न पुग्यो ।
वि.सं. २०५१ सालको मध्यावधि चुनावमा जनमोर्चाको संगठन निर्माण गरेर कुशलचोक मगर टोलमा राजनीतिक गतिविधि तीव्र पारे । यद्यपि चुनावी सफलताको अनुभूति नपाए पनि विचार र प्रतिबद्धतामा कहिल्यै पछाडि फर्किएनन् ।
वि.सं. २०५२ मा माओवादीद्वारा टुँडिखेलमा गरिएको जनयुद्धको घोषणा पश्चात् माओवादी क्रान्तिमा पूर्णकालीन सहभागी बन्न वि.सं. २०५७ मा घरपरिवार त्यागी भूमिगत जीवन रोजे । उत्तर मोरङलाई ‘आकाश एरिया’ घोषणा गरिएको समयमा उनले त्यही क्षेत्रको पार्टी जिम्मेवारी सम्हाले । यस क्रममा उनले कठोर परिस्थिति, रातारातको ओहोरदोहोर, दुश्मनको आँखाबाट बच्नुपरेको त्रासदीपूर्ण जीवन अनुभव गरेका थिए ।
युद्धकालका स्मृतिहरू
टाकुरे स्कुलमा कार्यक्रम भइरहँदा शत्रु आगमन देखेर साथीहरूलाई खबर गर्न गरेको प्रयासमा उनी चमत्कारिक रूपमा बचे । त्यही दिन मदन श्रेष्ठ ‘आकाश’ र सुनसरीकी एक बहिनी साथी घाइते भए, जहाँ आकाशले प्राण गुमाए । यही घटनालाई स्मरण गर्दै उनले भनेका थिए, “त्यो सम्झिदा अहिले पनि म भक्कानिन्छु ।”
स्वास्थ्य र समकालीन चिन्तन
अन्त्यकालमा दमको रोगले पीडित हमाल श्रीमतीको क्यान्सर उपचारको पीडा सँगसँगै भोग्दै जीवनका उत्तरार्ध बिताइरहेका थिए । औषधी खाएको भुलेर पिरोलिन्थे – “खाएँ कि खाइनँ थाहै पाउँदिन ।” तर चेतना र राजनीतिक प्रतिबद्धता भने जीवनको अन्तिम क्षणसम्म ज्यूँदै रह्यो ।
उनले भनेका थिएः “गणतन्त्र त आयो तर गाँस, बास, कपासको ग्यारेन्टी भने अझै हुन सकेन । हाम्रो क्रान्तिको मूल मर्म त्यही हो – त्यो अझै अधूरो छ ।”
अन्त्येष्टि र श्रद्धाञ्जली
पथरीशनिश्चरे–४ कुशलचोक निवासी हमालको अन्त्येष्टि डाँसखोलामा माओवादी पार्टीको झण्डा ओढाएर गरियो । अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर (सविन) ले उनको जीवन र योगदानबारे चर्चा गरे ।
शोकसभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व प्रदेशसभा सदस्य कुलप्रसाद साँवा ‘कुशल’, प्रदेश कमिटी सदस्यहरू, जेष्ठ कम्युनिष्ट मञ्चका अगुवा कमरेडहरू, जनवर्गीय संगठनका प्रतिनिधिहरू, अन्य दलका नेता, समाजसेवी, पूर्व जनप्रतिनिधि र सयौं माओवादी कार्यकर्ता सहभागी थिए ।
विष्णु हमाल ‘उदय’ को जीवन नेपाली क्रान्तिकारी आन्दोलनको सजीव दस्तावेज हो । एक साधारण किसान परिवारबाट सुरु भएको उनको यात्रा, युद्धका मैदानदेखि राजनीतिक प्रशिक्षण केन्द्रसम्म पुगेको छ । “हाम्रो क्रान्ति टुङ्गिनु हुँदैन”– भन्ने भावनासहित उनले सधैं गरिब, श्रमिक र उत्पीडितका पक्षमा आवाज उठाए ।




