शनिश्चरे । लकडाउनभन्दा अघि प्रायः शनिश्चरे चोकतिरै भेटिने खगेन्द्र लिम्बू आजकल खेतबारीमा भेटिन्छन् । उसबेला लिम्बूलाई कसैले खोजी गरे शनिश्चरेको चिया पसल या मिलन चोकतिर छन् भन्दा फरक पर्दैनथ्यो ।
विगत १० महिनादेखि भनें खगेन्द्रको दिनचर्या फेरिएको छ । उनको अधिकांश समय खेतबारीमा विरुवासंग खेल्दै वित्ने गरेको छ । सफल जग्गा व्यवसायीमा परिचय बनाउन सफल मोरङ पथरीशनिश्चरे ८ का खगेन्द्र लिम्बू विगत १० महिनादेखि ड्रागन खेती तिर लागेका छन् । लिम्बूको दिनचर्या फेरिनु र फरक व्यवसायमा हात हाल्नुको कारण भने कोभिड–१९ को लकडाउन र जग्गा कारोबारमा मन्दी आउनु नै ठूलो भूमिका रहेछ ।
जग्गाको कारोबार गर्दै आएका कुशलबजार पश्चिममा करिब अढाई विघा जमिन किनेका थिए । डाँडा र खेतलाई प्लटिङ गरेर बिक्री गर्ने उनको सोच थियो । तर, घरजग्गाको कारोबारमा एक्कासी मन्दी छाएपछि उनको सोच फेरियो ।
प्लटिङ गर्ने उद्देश्यले किनेको त्यही जग्गामा अहिले एक करोड लगानी गरेर मेधावी कृषी फर्म स्थापना गरेका छन् । जहाँ उन्नत जातका ड्रागनका विरुवा रोपिएको छ ।
‘लकडाउनले जग्गा कारोबार पनि त्यति नचलेको बेला मालपोतले कित्ताकाट रोक्नु र बैंकले लगानी रोक्नु नै मेरालागि कृषीमा लाग्ने प्रेरणा भयो’– उनले कृषीमा होमिनुको सहस्य यसरी खोले ‘प्लटिङका लागि भनेर खरिद गरेको जमिन न त कित्ता काट भयो न त बिक्री नै, त्यसै खेर जानुभन्दा शारिरीक श्रम पनि हुने आम्दानी पनि हुने भनेर ड्रागन रोपियो ।’
अढाई विगाहामा ‘साइम रेड सी भेराइटी’ ९ हजार ६ सय ड्रागनका विरुवा हुर्किरहेको छ । त्यहाँ चाडैं अग्र्यानिक खेती शुरु गर्ने तयारी भइरहेको खगेन्द्रको भनाई छ । एग्रो टुरिज्मको अवधारणा पनि विकास गरिने लिम्बू बताउँछन् । ‘खासमा जग्गा प्लटिङ गर्ने उद्देश्य थियो, तर जग्गाको कारोबारमा मन्दी छाएपछि नयाँ योजना बन्यो’– जग्गा व्यावसायीसमेत रहेका लिम्बूले भने–‘चाडै बिषादीरहित अग्र्यानिक खेती शुरु गर्छु, एग्रो टुरिज्मकोरुपमा यहाँ विकास गर्ने योजना छ ।’ ड्रागन फल्न थालेपछि पारखीहरुलाई बोटमै टिपेर खाने र अन्य उत्पादन समेतको स्वाद लिएर मात्र फर्किने व्यवस्थ गर्न लागिएको उनले सुनाए ।
लिम्बूका अनुसार मेधावी कृषी फर्म खेतीमा मात्रै सिमित नराखी भविष्यमा कृषीको अनुसन्धान केन्द्रकोरुपमा विकास गरिनेछ । ड्रागनको कलमी विरुवा उत्पादन भने उनले शुरु गरिसकेका छन् ।
भारतको हैदरावादबाट उनले ‘साइम रेड सी भेराइटी’ को कलमी ड्रागन विरुवा ल्याएको बताए । उक्त जातको ड्रागन अन्य लोकल जातभन्दा छिटो वृद्धि हुने र फल पनि चाँडै दिने उनको दावी छ । ‘लोकल जातको ड्रागनले ३ वर्षमा मात्र फल दिन सुरु गर्छ, तर यो रोपेको १० महिनामै फुल्न सुरु गर्छ’– लिम्बूले भने ।
फर्म पथरीशनिश्चरे ४ को कुशल बजारदेखि करिब ५ सय मिटर पश्चिममा पर्छ । फर्ममा ३ जनाले नियमित रोजगारी पाएका छन् भनें अल्पकालिन रुपमा २० जनासम्मले रोजगारी पाइरहेका छन् । अहिले स्वदेशमा नै कृर्षि क्षेत्रमा लगानी गरेर रोजगारी पनि दिन सकेकोमा गर्व लागेको लिम्बूको भनाई छ ।