दास मानसिकता सुधार गर्न नसकेपछि पार्टी परित्याग गरेको हुँः रुपेश खतिवडा - Pahilo Online

दास मानसिकता सुधार गर्न नसकेपछि पार्टी परित्याग गरेको हुँः रुपेश खतिवडा

writer

पहिलो अनलाइन

रुपेश खतिवडा

नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी त्याग गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको आमनिर्वाचनको सम्मुखमा नेता खतिवडाले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी त्याग गरे । नेकपा एमालेको विद्यार्थी संगठनमा आवद्ध भएर आजभन्दा ३२ वर्षअघिदेखि निरन्तर राजनीतिमा सक्रिय खतिवडा मोरङ एमालेमा बौद्धिक नेताको रुपमा चिनिन्छन् । पार्टीमा संगठन विभाग, स्कुल विभाग र प्रशिक्षण विभागमा रहेर काम गरिसकेका खतिवडाले निष्ठावान, इमान्दार र आलोचनात्मक चेत भएका नेताको रुपमा आफ्नो छवि बनाएका थिए । २०६२÷६३ सालको जनआन्दोलनको समयमा यातना पाएको र घाइते भई राष्ट्रले सम्मान गरेका व्यक्ति पनि हुन् उनी । प्रस्तुत छ, पार्टीका लागि महत्वपूर्ण मानिएको आम निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको जिल्ला सचिव जस्तो जिम्मेवारीमा रहेका नेताले पार्टी छोड्नु पर्ने परिस्थिति र अन्य प्रसंगमा नेता खतिवडासँग गरिएको कुराकानी ः

नेकपा एमाले मोरङको सचिवको जिम्मेवारीमा रहँदारहँदै अचानक पार्टी छोड्नु भयो नि ?

मैले पार्टी छोडेको भन्दापनि पार्टीले मलाई छोडेको हो कि भनेजस्तो मैले अनुभूत गरेको छु । विद्यार्थीकालदेखि नै अनेरास्ववियु हुँदै पार्टी राजनीतिमा संलग्न भएँ । करिव ३२ वर्ष संगठित जीवन बिताएँ । जतिबेला पार्टीमा लागें त्यतिबेला गाउँ समाज विकृति विसंगति र विभेदबाट आक्रान्त थियो । सामन्तवादको दुष्चक्र सबैतिर व्याप्त थियो । त्यसैले जानिबुझी कम्युनिष्ट आन्दोलनको माध्यमबाट मात्र परिवर्तन गर्न सकिन्छ भन्ने निष्कर्शसहित राजनीतिमा सहभागी भएको हुँ । यस अवधिमा अनेरास्ववियुको केन्द्रीय प्रशिक्षक, शैक्षिक विभाग प्रमुख, नेकपाकालमा मोरङको स्कुल विभागको प्रमुख, जनसंगठनको प्रमुख जस्ता थुप्रै जिम्मेवारीहरु निर्वाह गरें । पार्टीमा वैचारिक कार्यकर्ता उत्पादन गर्ने र त्यसको बलबाट कम्युनिष्ट आन्दोलनलाई संगठित गर्दै समाजवादमा जाने हाम्रो लक्ष्य थियो । तर, समय बित्दैजाँदा सुरुमा हामीले बुझेको, पढेको, देखेको कुरा अहिले नेताहरुले गर्ने व्यवहार, पार्टीले गर्ने निर्णय र निर्णय प्रक्रिया ठीक विपरीत हुँदै गयो । अहिले नेता र कार्यकर्ताहरुमा सजिलो बाटो हिड्न खोज्ने प्रवृत्ति छ । माथिबाट जे निर्णय ग¥यो त्यो शीरोपर गरेर हिड्ने, प्रश्न नगर्ने, छलफल नगर्ने, सजिलो बाटो मात्र रुचाउने प्रवृत्ति नेता, कार्यकर्ता र कमिटी प्रणालीमा बढ्दै गयो । पानीलाई ओह्रालोतर्फ लैजान कुनै मिहिनेत गर्नुपर्दैन, उकालोमा लैजान निकै मिहिनेत गर्नुपर्छ । अहिले नेता र कार्यकर्ताहरु त्यही सजिलो बाटो हिड्न थालेका छन् । उकालो हिड्ने प्रयत्न नगर्ने र ओह्रालो यात्रामा रमाउने यथास्थितिवादी प्रवृत्तिले पार्टीलाई लक्ष्यमा डोहो¥याइरहेको छैन । नीति, सिद्धान्त, कार्यक्रम पढ्दा पहिलेको जस्तै छ, तर व्यवहार नितान्त विपरीत छ ।

हामीले हिजो जसलाई बुर्जुवा, प्रतिक्रियावादी र दक्षिणपन्थी भन्थ्यौं अहिले हामी उनीहरुसँगै मिलेर हिडरहेका छौं । हामीले बुर्जुवा र दक्षिणपन्थी भनेका नेताहरु र हाम्रा नेताहरुमा कुनै भिन्नता पाइदैन । यो समस्या एमालेमा मात्र होइन नेपालका सबै कम्युनिष्ट पार्टीहरुमा देखिएको छ । नीति, सिद्धान्त, विधि, प्रणाली र आदर्शमा विश्वास राख्नेहरु अहिले सबैतिर अल्पमतमा परेका छन् । त्यसैले पार्टी छोड्ने, फुट्ने, नयाँ पार्टी खोल्ने र फेरि प्रयत्न गर्ने जस्ता कामहरु भइरहेका छन् । त्यसले कतिपय इमान्दार कार्यकर्ताहरुलाई निराश बनाइरहेको पनि छ । यसको मुख्य कारण व्यवहार र सिद्धान्तकाबीचमा तालमेल नहुुनु हो । पार्टीभित्र लोकतन्त्र स्थापित गर्न नेता र कार्यकर्ताले प्रयत्न गर्न छोडेका छन् । त्यसले आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर बनेको छ । पार्टीको अध्यक्षले जे भन्यो त्यसलाई निर्णय मान्ने, हो मा हो मिलाएर जाने र त्यसबाट अवसर लिने प्रवृत्ति पार्टीमा बढ्दो छ । जसलाई त्यो कुरामा मजा लाग्छ, उनीहरु त्यही बस्छन् । जसलाई त्यसमा मजा लाग्दैन, त्यो गलत हो भन्ने लाग्छ र सुधार गरौं, सामुहिक प्रणालीबाट चलौं, पार्टीलाई नीति, सिद्धान्त र विधिबाट चलाऔं भन्नेहरु बस्न सकिरहेका छैनन् । यस पटक मैले त्यही कुरालाई अगाडि सारेको हुँ । र, सुधार गर्न नसकेपछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेको हुँ ।

तपाईँको यो विद्रोह वा असन्तोष नेतासँग हो कि पार्टीसँग ?

मैले दुवैतिरबाट यसलाई हेरेको छु । पार्टीको नीति, विधि, पद्दति र प्रक्रियाको कुरालाई पनि बेवास्ता गर्ने गरिएको छ । व्यक्तिवादी अराजकता अहिले हावी भएको छ । मैले जे सोच्छु र जे गर्छु त्यो सबैले मान्नु पर्छ भन्ने मान्यता बढेको छ । विधि, प्रक्रिया र पद्दतिबाट होइन व्यक्तिले गर्ने फर्मान सबैले लुरुलुरु मानेर हिड्नु पर्ने अवस्था बनाइएको छ । विधि, पद्दत्ति र प्रक्रियासँग कुनै मतलब नहुने कुरा कसरी स्वीकार्न सकिन्छ ? पार्टीले गर्ने निर्णय कमिटीलाई जानकारी नहुने र कुनै व्यक्तिले मुखले भनेकै भरमा स्वीकार गरेर हिड्ने कुरा कम्युनिष्ट पार्टीमा कसरी सम्भव हुन्छ ? मैले निर्णयलाई विधिसम्मत बनाउँ भनें त्यो सुनिएन । सुधार्ने कुनै प्रयत्न गरिएन । यस पटक नेकपा एमालेले हाम्रो जिल्लामा उम्मेदवार छनौट गर्दा पार्टी प्रणालीलाई पूर्णरुपमा बेवास्ता ग¥यो । कमिटीले जानकारी नपाउँदै तलतल उम्मेदवार बनिसकेका थिए । त्यो कुरा पार्टी अध्यक्षबाहेक उपाध्यक्ष, सचिव र सिंगो कमिटीलाई जानकारी दिइएन । यसरी गलत परिपाटिबाट भएका निर्णयले भोलि सकारात्मक परिणाम आउन सम्भव थिएन र छैन । त्यसैले यस्तो गलत प्रवृत्तिबाट आउने नकारात्मक परिणामको भागिदार बन्नु हुँदैन भनेर मैले नितान्त फरक निर्णय लिएँ ।

एउटा राजनीतिक कार्यकर्ता र सक्रिय राजनीतिज्ञका लागि जस अपजसको विषयले त्यति ठूलो निर्णयमा पुग्ने कुरा कत्ति जायज हुन्छ ?

यो कुरा व्यक्ति व्यक्तिमा भरपर्छ । जो इमान र निष्ठाका साथ पार्टीमा लागेको छ र निश्चित जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ, उसले परिणामको चिन्ता गर्छ । जिम्मेवारीमा रहेका कारण गरेका निर्णयहरुबाट आउने परिणामको भागिदार बन्न तयार हुन्छ । विशेषगरी कमिटीका सिंगो पदाधिकारी त्यसको भागिदार बन्नुपर्छ भनेर सोच्छ । त्यसमा पनि भोलीको परिणामलाई लिएर सचिव जस्तो कार्यकारी भूमिकामा रहेको व्यक्तिलाई पार्टी कमिटीमा जवाफदेही नबनाउने भन्ने कुरै हुँदैन । तर, जसलाई पार्टी पद्दति, विधि र प्रक्रियासँग कुनै मतलब छैन, फर्मानमा चल्छ र आफ्नो लाभ लिने विषयलाई प्राथमिकतामा राख्छ उसलाई यस्ता कुराको कुनै मतलब हुँदैन, एउटा कानले सुन्छ अर्को कानले उडाउँछ ।

तपाईंले पार्टी त्याग गर्दा गलत समय पो रोज्नु भयो कि ? चुनावको समयमा यसले पार्ने असरको बारेमा ध्यान किन दिनुभएन ?

यो विषय सबैले ठीक ढंगले बुझिदिनुपर्छ । पार्टी गलत बाटोबाट चलिरहेको, निर्णय प्रक्रिया ठीक ढंगले नचलिरहेको बेलामा हामीले गरेको निर्णयबाट सही परिणाम आउँदैन भन्ने कुरा मैले झल्झल्ती देखिरहेको थिएँ । अनि विधि विपरीत भएका निर्णय सच्याउँ र विधि सम्मत बनाउन बैठक बसेर एउटा निष्कर्शमा पुगौं भन्ने प्रस्ताव मैले राखें । तर, त्यसमा नेताहरुले कुनै चासो देखाउनुभएन । सिंगो नेतृत्वले मेरो प्रस्तावलाई इग्नोर गरेपछि मैले पदबाट राजीनामा दिएँ । राजीनामा दिएपछिको अवधिमा पनि नेताहरुले मसँग कुनै छलफल गर्नुपर्ने आवश्यकता ठान्नुभएन । जसले गल्ती ग¥यो उसलाई अझ प्रोत्साहन गर्ने गरी नेतृत्वले काम गरेको पाएँ । त्यसबाट मैले के बुझें भने त्यो पार्टीलाई अब मेरो आवश्यकता रहेनछ । हिजो आन्दोलनको बेलामा पार्टीलाई मेरो आवश्यकता थियो, आन्दोलनमा घाइते हुँदा पार्टीले सम्मान पनि ग¥यो । तर, आज पार्टीलाई विचार, सिद्धान्त, निष्ठा र त्यागको आवश्यकता छैन । जोसँग पैसा छ उसले सजिलै पार्टीको जिम्मेवारी पाउने, उसैले चुनावमा टिकट पाउने अवस्था छ । हिजो हामी जसका विरुद्ध लड्यौं र हाम्रो आन्दोलनलाई जसले दबाउने प्रयत्न गरे तिनै गृहमन्त्रीलाई आज सूर्य चिन्हबाट उम्मेदवार बनाइएको छ । हामीले विखण्डनकारी शक्ति भनेको उपेन्द्र यादवहरुसँग एकाएक चुनावमा गठबन्धन गरिएको छ । रातारात यी सबै चिजहरु कसरी भइरहेका छन् ? कसले यो काम गरिरहेको छ ? के यी सबै कुराहरु पार्टीको निर्णय अनुसार छन् वा एक व्यक्तिले मनलाग्दी गरिरहेको छ ? आज आम कार्यकर्ताहरुले यो प्रश्न गरिरहेका छन् । यो जे भइरहेको छ गलत छ भन्ने मेरो ठम्याइ हो ।

यो एमालेमा मात्र होइन नेपालका सबै कम्युनिष्ट पार्टीहरुमा मौलाउदै गएको विकृत्ति हो । यसबाट निष्ठावान आमकम्युनिष्ट कार्यकर्ताहरु निराश भएका छन् । सक्नेले विद्रोह गरेका छन्, पार्टी छोडेका छन्, नसक्नेहरु त्यहीं खुम्चिएर बसेका छन्, तर नेताको गलत कदमको विरोध गर्न सकेका छैन । एक दिन यी समस्याहरु समाधान हुने विश्वास छ । यिनै परिस्थितिहरुबाटै म पनि गुज्रिए, गुज्रिनु प¥यो । ३२ वर्ष संगठित जीवन बिताएको मेरो प्यारो पार्टी त्याग गरें । त्यो पार्टी सुध्रियोस् भनेरै मैले छोडेको हो । किनभने पार्टीमा मौलाउँदै गएको गलत प्रवृत्ति हटाउन मेरो कदमले त्यहाँ भएका युवाहरुलाई प्रेरणा मिलोस् भनेर यस्तो निर्णय लिएको हुँ । मेरो कदमलाई उम्मेदवार नपाएर हो कि भन्ने भ्रम कसैलाई नरहोस् । यसलाई पार्टीका नेताहरुले पनि अध्ययनको विषय बनाउन् भन्ने मेरो आग्रह छ । म पद र अवसरका लागि यी सब काम गरिरहेको थिइन र छैन । ती चिजहरुबाट म पृथक छु । समय आएपछि सबै कुरा प्रष्ट हुँदै जानेछ ।

नेकपा एमालेले दिनहुँ नयाँ कार्यकर्ताहरु पार्टीमा प्रवेश गराइरहेको बेला तपाईंहरुले चाहिँ किन पार्टी छोड्नु परेको हो ?

अहिले नेपालमा पार्टी प्रवेशको कुरा हाँसीमजाकको विषय जस्तो बनेको छ । भन्नलाई विचार सिद्धान्त र नीति मनपराएर पार्टीहरुमा प्रवेश गरेको भन्ने गरिन्छ । तर, एउटै मानिस तीन पटकसम्म पार्टीमा प्रवेश गरेको थुप्रै उदाहरण छन् । मानिसहरुलाई राजनीतिक सुझबुझबाट नभएर कुनै ठेकेदारले आफू नेता बन्न पार्टीमा प्रवेश गराउने प्रचलन धेरै छ । आज एमालेमा एक लाख मानिस पार्टी प्रवेश गराउने भनेर अभियान चलाइएको छ । यसले पार्टीलाई बलियो बनाउँछ भन्ने मलाई कुनै विश्वास छैन । कसैलाई नेता बनाउन, कोही तुरुन्तै अवसर प्राप्त गर्न पार्टीमा प्रवेश गर्ने र गराउने काम भइरहेको छ । उनीहरुलाई पार्टीको नीति, सिद्धान्त र कार्यक्रम आदिबारे केही बुझाइएको छैन । त्यसरी आएका मानिसहरुको कुनै तथ्यांक राखिएको छैन । यो हिसाबले कुनै पार्टी बलियो हुँदैन बरु धराशायी बन्दै जान्छन् ।

पार्टी त्याग गरेको वक्तव्यमा तपाईंले जिल्ला अध्यक्षको नामै उद्धृत गर्नुभयो, आज पनि उहाँको प्रसङ्ग झिक्नुभयो, असहमति जिल्लाका नेताहरुसँग हो वा केन्द्रको नीति र पद्दतिसँग ?

कुनै पनि घटनाका पछाडि धेरै कारणहरु हुन्छन् । पार्टी परित्याग आकस्मिक रुपमा भएको होइन । धेरै लामो सृङ्खलाबाट गुज्रिदै आउँदा संयोगले यो समय परेको हो । यस प्रकारको निर्णय आजको भोलि कसैले पनि गर्दैन । अझ ३२ वर्षदेखि योगदान गरेको मानिसले अचानक यस्तो निर्णय गर्ने कुरा पनि हुँदैन । त्यसैले यो कुनै दिन हुनुनै थियो अहिले भयो भनेर बुझ्नु पर्छ । त्यसैले मैले चुनावको सम्मुखमा नियोजित रुपमा यो निर्णय लिएको होइन । ठीकलाई ठीक र गलतलाई गलत भन्ने मेरो स्वभावले मोरङको राजनीतिमा यस्तो उत्तारचढाव भइरहेकै थियो । यसलाई कसैले अस्थिरताको रुपमा पनि लिने गरेका छन् । मैले चाहिँ दास मानसिकताबाट माथि उठेर आलोचनात्मक चेतनाका साथ सकारात्मक र नकारात्मक रुपमा विषयवस्तुलाई हेर्नु पर्छ भन्ने मान्यतामा आधारित भएर यो निर्णयमा पुगेको हुँ ।

तपाईं पोलिटिकल एक्टर हुनुहुन्छ र ३२ वर्षदेखि संगठित राजनीति गर्नुभयो । अब चुनाव आउँदैछ । यो चुनावमा तपाईंको भूमिका के हुन्छ ?

मैले अघिनै भनें लामो सृङ्खला पार गरेर एमालेको राजनीति गरी यस ठाउँमा आइपुग्दा मैले पार्टी छोड्ने निष्कर्श निकालें । मेरो यो निष्कर्श केवल एमालेको हकमा मात्र होइन समकालीन कम्युनिष्ट पार्टीहरुको सवालमा पनि उस्तै निष्कर्श हो । हिजोसम्म भएमध्येको राम्रो पार्टी भनेर एमालेमा रहें । त्यो पार्टी मैले छोडेको छु । अहिले नै अरु कम्युनिष्ट पार्टी राम्रा छन् भनेर म कल्पना पनि गर्न सक्दिन । सबै उस्तै देखिन्छन् ।
अर्कोकुरा मैले जीवनभर सूर्य चिन्हमा मतदान गरें । यस पटकको चुनावमा के गर्ने भन्ने निष्कर्शमा पुगिसेकेको छैन । मंसिर ४ आउन बाँकी छ । त्यतिबेलासम्म म एउटा निष्कर्शमा पुग्नेछु । अब म गलतलाई प्रश्रय दिन सक्दिन । कुन सही र कुन गलत भन्ने निक्र्यौल गरिसकेको छैन । पाँचदलीय गठबन्धन केवल स्वार्थमा आधारित छ भने एमाले–जसपा गठबन्धन पनि सत्ता स्वार्थमा मात्र केन्द्रीत छ । त्यसैले भएका दलहरुको पक्षमा नभएर असल व्यक्ति छानेर मतदान गर्ने अवस्था हुनसक्छ । तर, एउटा कुरा निश्चित हो कि यस पटकको चुनावमा कुनै दलको अभियानमा, कसैको झण्डा बोकेर हिड्ने छैन ।

अन्त्यमा, तपाईं फेरि नेकपा एमालेमा फर्किने सम्भावना के छ ?

यो मेरो विषयभन्दा पनि कस्तो व्यक्तिको आवश्यकता छ भन्ने कुरा पार्टीको हो । मेरो त्यत्रो ठूलो चाहना छैन । पार्टीमा गइहाल्नुपर्छ, पदमा पुगिहाल्नु पर्छ भन्ने पक्षमा म छैन । जिम्मेवारी नहुँदा केही गर्न सकिदैन भन्ने मलाई लाग्दैन । पद बेगर पनि समाज र देशलाई मैले सेवा गर्न सक्छु भन्ने मेरो निष्कर्श हो । त्यसकारणले मलाई नै पार्टी चाहिन्छ भन्ने कुरा होइन, पार्टीलाई चाहिँ म चाहिन्छ कि चाहिदैन उसले जान्ने कुरा हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2022 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes