रोगी भएर बाँच्न कोही पनि चाहँदैन। तर, स्वस्थ्य रहन धैरै कुराको ख्याल गर्न जरुरी हुन्छ। नियमित व्यायाम, पोषणयुक्त खानालगायत विभिन्न कार्य गर्दा पनि हामी स्वस्थ्य रहेको दाबा गर्न सक्दैनौं। स्वस्थ्य रहन मनमस्तिष्क पनि शरीरसँग सम्बन्धित हुन्छ। जुन आधुनिक चिकित्सा विज्ञानले पनि प्रमाणित गरिसकेको छ। तपाईंको नकारात्मक सोचको कारणले पनि रोग लागिरहेको हुन्छ। तपाईंको शरीरमा कुनै रोग छैन तर तपाईंको मन बिरामी हुन सक्छ। जसले गर्दा तन बिरामी भइरहेको हुन्छ।
स्वास्थ्यका सम्बन्धमा भने आमधारणा फरक छ। मन (माइन्ड) अस्वस्थ्य छ भने त्यसको शरीरसँग कुनै लिनुदिनु छैन। मनले शरीरलाई कुनै प्रकारको असर गर्दैन। मन र शरीर फरक कुरा हुन्। शरीर तन्दुरुस्त छ भने मन आफैं ठीक हुन्छ। शरीर स्वस्थ छ भने सब ठीक छ। यस्तो पनि सोच हुन सक्छ। वास्तविकता के हो भने मनको एउटा सानो विचारले पनि शरीरमा प्रतिक्रिया देखाउँछ। यसैकारण भनिन्छ, मन तन्दुरुस्त छ भने तन पनि तन्दुरुस्त हुन्छ। जस्तै, जब मनमा लोभ (लालच) उत्पन्न हुन्छ, त्यसको असर शरीरमा पर्छ पर्छ।
यसैगरी जब मनमा प्रेम उत्पन्न हुन्छ, त्यसबेला पनि शरीरले प्रतिक्रिया दर्शाउँछ। अर्थात् मन जुन स्थितिमा हुन्छ, मस्तिष्कद्वारा रसायन तत्त्वको स्राब पनि त्यसै अनुरूप हुन्छ। शरीरको कार्य आन्तरिक स्राब ग्रन्थी (इन्डोक्राइन ग्लान्डस) बाट निस्किने रसायन तत्त्व (हर्मोन्स) को स्राबद्वारा निर्धारित हुन्छ। व्यक्ति अग्लो, पुड्को, मोटो, दुब्लो आदि हुनु, उसको व्यवहारमा परिवर्तन हुनुका साथै विभिन्न किसिमका मानसिक एवं शारीरिक रोग लाग्नुमा समेत रसायनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।
आउनुस् हेरौं, भिन्न–भिन्न मनस्थितिसँग जोडिएको अवस्थामा इन्डोक्राइन ग्लान्डबाट निस्कने रसायन र त्यसको शरीर र मनमा पर्ने प्रभावहरूलाई। चलाकीपना– यस स्थितिमा व्यक्तिको मनले भित्रभित्रै आफ्नो लाभ मात्र देख्छ। अरूको फाइदा देख्दैन। यस स्थितिको मनोदशा भएको व्यक्तिमा थायरोक्सिन, इन्सुलिन, एड्रोनोलिन रसायनको स्रावको मात्रामा कमी हुन जान्छ। जसको फलस्वरूप व्यक्तिमा थाइरायड, डायबिटिज, उच्च रक्तचाप, क्यान्सर, एलर्जीजस्ता समस्या देखा पर्न सक्छ। यसैगरी घृणा, इष्र्या, डाहा, बेइमानी, चिन्ताको मनस्थितिमा शरीरमा निष्कासन हुने आन्तरिक रसायनको स्राव बेसोपरोसिन, टेस्टो स्टेरान, एन्ड्रोजन, गाडोट्राफिन, आक्सी टोसिनजस्ता रसायनको स्राव अल्पमात्रामा हुन्छ। यसको प्रभाव नपुंसकता, बाँझोपना, शिघ्र स्खलन, चिडचिडापन, अनिन्द्रा, जिद्दी स्वभावजस्ता स्वास्थ्य समस्या केही दिनपछि नै व्यक्तिमा देखा पर्न थाल्छ।
कन्जुस (लोभी), आलस्य, प्रमोद मनको अवस्था यदि व्यक्ति सधैं रहन्छ भने हाइपोथेलम्स, मेलोनिन सेरोटोनिननामक रसायनमा असन्तुलन भई आन्तरिक ग्रन्थीबाट अल्पस्राव हुन थाल्छ। परिणामस्वरूप कब्जियत, एसिडिटी, अल्सर, डिप्रेसन, हातखुट्टा दुख्नुका साथै शरीरको तौल पनि बढ्न गई मोटोपन देखिन्छ। अक्कडोपन, अहंकार आदि मनोदशा व्यक्तिको रहिरह्यो भने यसको प्रभाव शरीरमा यस प्रकार देखिन्छ, पेराथेमिन, केलोटोलोमिन, थाइरोक्सिन, बेसोप्रोसिन, ग्लुकोकार्टिको स्टेराइड रसायनहरूको आन्तरिक निष्कासन उचित रूपमा हुन पाउँदैन। जसका कारण हड्डी खिइने रोग (अस्टियोपोरोसिस), गठियावात, प्रोस्टेट ग्लान्ड बढ्ने, किड्नीको समस्यासमेत देखिन सक्छ।
निर्मल, सफा र स्वच्छ चित÷मनको स्थिति भएको बेला व्यक्तिको आन्तस्राविक गन्थ्रीबाट स्वाभाविक रूपमा रसायनको स्राव हुन्छ। फलस्वरूप पेराथोमिन, केलेटोलोमिन, थाइरोक्सिनजस्ता रसायनहरू अल्पस्राव हुन्छ। जसले व्यक्तिमा जोस, जाँगर, प्रसन्नता, गहिरो निन्द्रा लाग्ने, परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने, हरअवस्थामा खुसी रहने आदिजस्ता लक्षणहरू देखिन्छ। यसप्रकार अरूको मद्दत गर्ने, सबैसँग प्रेमभाव राख्ने हुन्छ। यस्तो मनस्थितिमा रमाउने व्यक्तिमा एड्रिनोलिन, हाइपोथेलेस सक्रिय हुन्छ भने औड्रोनिल रसायनको स्राव हुन्छ। जसको प्रभाव व्यक्तिमा आत्मविश्वास र जीवन शक्ति भरपूर हुन्छ। उसलाई गहिरो निन्द्रा लाग्ने र चुस्त–दुरुस्त शरीरको अनुभव हुन्छ।
मनको सञ्चालनका लागि ऊर्जा (शक्ति) आवश्यकता पर्छ। यो ऊर्जारूपी शक्ति मनले शरीरका सेल्सहरू तथा मस्तिष्कको ग्रन्थीहरूद्वारा स्रवित रसायनबाट प्राप्त गर्छ। मनलाई यो ऊर्जा प्राप्त हुनमा मस्तिष्क एवं हाइपोथेलेमसद्वारा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। मस्तिष्क एवं हाइपोथेलेमस ग्रन्थीले शरीरको सबै अनैच्छिकर ऐच्छिक क्रियाकलापलाई नियन्त्रणमा राख्छ। यसका साथै शरीर र मनको अवस्थालाई एकआपसमा सामञ्जस्य कायम गरी शरीरलाई सुचारु रूपले सञ्चालनमा मद्दत गर्छ।