पथरी । सधैंभरी काठ दाउराबाट मात्र आम्दानी नहुने भन्दै यहाँको एक सामुदायिक वनले दिगो आम्दानीको श्रोत पहिचान गरी फलफुल खेति थालेको छ । मोरङ पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले वनको खालीखाल्सा क्षोत्रमा फलफुल खेति थालेको हो ।
बहुवर्षे उत्पादन दिने फलफुलका बिरुवा सामुदायिक वनमा लगाईएको समूहका अध्यक्ष प्रदिप राईले जानकारी दिए । उनका अनुसार पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थीहरु पुनर्वास भई तेस्रो मुलुक गएपछि खाली रहेको जमिनमा उत्पादन गर्न सकिने फलफुलका बिरुवा लगाउन सुरु गरेको हो । पहिलो चरणमा आँप र लिचिका ८ सय विरुवा लगाइएको छ । खाली रहेको सामुदायिक वनमा परीक्षणको रुपमा पाँच सय उन्नत जातको आँप र तीन सय लिचिको विरुवा रोपिएको उनले बताए ।
वनमा फलफुलका बिरुवा लगाउँदा सामुदायिक वन उपभोक्ता समुहको आम्दानी बढ्ने र बाँदर नियन्त्रणमा समेत सहयोग पुग्ने उनको विश्वास छ । राई भन्छन्, ‘वनको खाली जग्गामा लगाइएको फलफुलले बहुवर्षे उत्पादन दिँदा समूहमा रहेका सबैलाई फाइदा हुन्छ । वन पनि नमाँसिने र फलफुल पनि हुर्किने गरी खाली जमिनमा बिरुवा लगाइएको हो ।’
बाँदरले खान मिल्ने फलफुल वन मै हुँदा घर गाउँमा डुल्ने बाँदर वनमा रोकिने र खेतीपाती जोगिने भएकोले फलफुलका विरुवा रोपिएको समूहका उपाध्यक्ष बालकुमार मगर विकासले बताए । ‘फलफुलकै वन बनाउँदा केही बिग्रिने होइन, भएका रुख नमास्ने र खाली जमिनमा फलफुल लगाउने गरिएको छ,’ उपाध्यक्ष मगरले भने, ‘बाँझो जमिनमा पनि उत्पादनसँग जोडिने खेती गर्न थालिएको छ ।’
भुटानी शरणार्थीले छोडेर गएका खाली क्षेत्रमा हाललाई २ हेक्टरमा विरुवा रोप्न सुरु गरिएपनि क्रमशः फलफुल खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए ।
पशुपालन धेरै हुने सामुदायीक वन समूहका उपभोक्ता किसानहरुलाई घाँस दिएर सहयोग गर्ने गरेको छ । फलफुल उत्पादन हुँदा समूहलाई आर्थिक रुपमा थप सहयोग पुग्ने बताइएको छ ।