धेरैजसो स्थानीय तहलाई फलामको चिउरा जस्तै बनेर आएको फोहोरमैला व्यवस्थापन धनकुटा नगरपालिकालाई भने बरदान बनेको छ । बाक्लो जनसंख्या, बढ्दो शहरीकरण, नागरिकको चेतनाको कमिका कारण दिन प्रति दिन अस्तव्यस्त बन्दै गएको फोहोरमैला व्यवस्थापन अहिले सबैको टाउको दुखाईको विषय बनिरहेको छ ।
नेपालको प्रदेश नं. १ मा पर्ने धनकुटा जिल्लाको सदरमुकाम तथा नगरपालिका हो धनकुटा । तत्कालिन पूर्वाञ्चल विकाश क्षेत्रको क्षेत्रिय सदरमुकाम रहेको यो नगरपालिका जिल्लाको मुख्य व्यापारिक, शैक्षिक तथा स्वास्थ्य केन्द्रको हवको रुपमा विकाश भइरहेको छ । सुन्दर नगरी धनकुटा शिक्षा र स्वास्थ्यमा मात्र अगाडी नभई हाल राष्ट्रिय समस्याको रुपमा खडा भएको फोहोरमैला व्यवस्थापनमा समेत उत्कृष्ट कार्य गर्दै आइरहेको छ ।
“धनकुटा नगर, स्वच्छ र समुन्नत शहर” भन्ने मुख्य नारा सहित फोहोरमैला व्यवस्थापन कार्य विधि बनाई नगरपालिकाले कार्य गर्दै आइरहेको छ । बढ्दो जनसंख्या र शहरीकरणलाई बेलैमा ध्यान दिएर पालिका अगाडी बढेको छ । धनकुटा नगरपालिकाको वडा नं. ६ सल्लेरीमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा रहेको छ । बि.सं. २०६५ सालबाट सञ्चालनमा आएको डम्पिङ्ग साइडमा १० जनाले रोजगारी समेत पाएका छन् ।
न्युनतम् शुल्क लिएर २५ हजार घर–परिवार तथा होटल व्यवसायीहरुको फोहोर संकलन कार्य भइरहेको वातावरण शाखा प्रमुख उपेन्द्र खनाल बताउनुहुन्छ । अहिले नगरपालिकाले १६ टन फोहोर संकलन हुँदै आएको छ जसलाई पालिकाले प्लाष्टिकजन्य, पानीका बोतल, रेडबुलका बोतल र अन्यलाई मेसिनमा पेलेर बेच्ने गरेको छ ।
अचम्म लाग्ने कुरा त के छ भने अन्य डम्पिङ्ग साइडमा फोहोरको डङ्गुर हुन्छ, दुर्गन्ध त्यति नै तर यहाँ डम्पिङ्ग साइडलाई नै फूलबारी पार्क बनाएर नमुना कार्य गरिएको छ । फोहोरको डङ्गुर माथि सयौँ प्रजातिका फूलहरु ढकमक्क फूलेका छन् । गर्दा जे पनि सम्भव छ भन्ने नमुना हो यो फूलबारी । धनकुटाले फोहोरलाई मोहोरमा परिणत मात्र गरेन वातावरणमा समेत स्वच्छ र सुन्दरता दिएको छ ।
फूलबारी हेर्न आउनेहरुको भिड पनि यहाँ उत्तिकै लाग्ने गरेको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्याइ कुहिने फोहोरलाइ मलको लागि प्रयोग गर्दै आएको छ भने होटल, अस्पतालबाट निस्केका प्लाष्टिक, सिसा, फलाम जस्ता फोहोर छुट्याइ बिक्रि गर्दै आएको छ । नागरिक सचेतना तथा मिडियाको सपोर्टले गर्दा यो सफलता हात परेको नगरप्रमुख चिन्तन तामाङ्ग बताउनु हुन्छ ।
जनप्रतिनिधिले सपना देख्ने र कर्मचारीले त्यसलाई कार्यान्वयन गरे मात्र सफलता हात पर्ने वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो । साथै सरसफाई कर्मीलाई प्रोत्साहन गरेर अघि बढ्नसके काम गर्न सहज हुने उहाँको दावि छ, तर ब्युरोकेसी खराब भएका कारण काम गर्न चुनौती समेत रहेको खनाल बताउनुहुन्छ ।
निकै जड समस्याको रुपमा रहेको फोहोरमैला यदि बेलैमा व्यवस्थापन र उपयुक्त रुपमा कार्यान्वयन गरिएन भने भविष्यमा काठमाडौंमा जस्तो भयावह स्थिति सृजना नहोला भन्न सकिन्न । फोहोमैला व्यवस्थापनको सम्पूर्ण अधिकार स्थानीय तहलाई नै प्राप्त भएको छ । स्थानीय तहले निजी क्षेत्रसँग सहकार्य गरि यसको दिर्घकालिन समाधानको लागि ऐन, नियम र कार्यविधि बनाई अगाडी बढ्न जरुरी छ ।